मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Friday, 01 August, 2025
जेनिफर माथर्स
२o८२ श्रावण १६ शुक्रबार o९:५७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सत्ता सम्हालेपछिकै ठुलो चुनौती सामना गर्दै जेलेन्स्की

Read Time : > 2 मिनेट
जेनिफर माथर्स
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार o९:५७:oo

युक्रेनको भ्रष्टाचारविरोधी संस्थाको स्वतन्त्रतालाई खतरामा पार्ने एउटा नयाँ कानुनविरुद्ध किभ र अन्य युक्रेनी सहरमा तीव्र विरोध प्रदर्शन भईरहेका छन् । यसै वर्षको जुलाई २२ मा संसद्ले सो नयाँ कानुन हतारमा पारित गरेको थियो । त्यसै दिन युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले कानुनमा हस्ताक्षरसमेत गरे । यस कानुनले युक्रेनको राष्ट्रिय भ्रष्टाचारविरोधी ब्युरो र यसको विशेष भ्रष्टाचारविरोधी अभियोजकको कार्यालयलाई अभियोजक जनरलको प्रत्यक्ष नियन्त्रणमा राख्ने नयाँ व्यवस्था गरेको छ ।

अभियोजक जनरल राष्ट्रपति जेलेन्स्कीले नियुक्त गरेका शीर्ष अधिकारीमध्ये एक हुन् । भ्रष्टाचारविरोधी निकायमा रुसी घुसपैठलाई अन्य गर्न यो कदम आवश्यक भएको तर्क जेलेन्स्कीले गरेका छन् । यद्यपि, आलोचकले भने कानुनमार्फत राष्ट्रपतिले उनको भित्री वृत्तका सदस्यद्वारा भ्रष्टाचारमा जारी कथित अनुसन्धानलाई खारेजीका लागि शक्ति दिनु रहेको आरोप लगाएका छन् । यसमा उनका नजिकका सहयोगी र पूर्वउपप्रधानमन्त्री ओलेक्सी चेर्निसोभ पनि छन् ।

विपक्षी दलका नेता र नागरिक समाजका अगुवाले युद्धकालीन अवस्थाको फाइदा उठाएर राष्ट्रपतिले आलोचकको मुख थुन्न र शक्ति सुदृढ गर्न नयाँ कानुन ल्याएको बताएका छन् । विरोध प्रदर्शनमा हजारौँ सर्वसाधारण सहभागी छन् । यसमा रुसी हमलाविरुद्ध आवाज उठाइरहेका दिग्गज व्यक्तित्वहरू पनि छन्, जसमध्ये केहीले हातखुट्टा गुमाउनेदेखि अन्य युद्धमा गम्भीर चोटको सामना गरेका छन् ।

भ्रष्टाचारविरोधी निकायको स्वतन्त्रतालाई रोक्ने प्रयासविरुद्धको आक्रोश देखाउन सरकार र युक्रेनी समाजबिचको अनौपचारिक एकतामा दरार आएको छ । जारी विरोध सन् २०१९ मा राष्ट्रपति निर्वाचित भएदेखि जेलेन्स्कीले सामना गरेको अहिलेसम्मकै गम्भीर घरेलु राजनीतिक चुनौती हुन सक्छ । औपचारिक रूपमा जेलेन्स्कीको राजनीतिक स्थिति सुरक्षित छ । उनको ‘सर्भेन्ट अफ द पिपुल’ पार्टीको संसद्मा बहुमत छ । त्यस्तै, जेलेन्स्की र उनको पार्टीले निर्वाचनमा चाँडै मतदाताको सामना गर्नुपर्ने अवस्था पनि छैन । किनकि, युद्धको अवधिभर जारी रहने ‘मार्सल ल’मा चुनाव गर्न रोक छ ।

जेलेन्स्की युक्रेनमा अलोकप्रिय छैनन् । ‘किभ इन्टरनेसनल इन्स्टिच्युट अफ सोसियोलोजी’ले जुनमा गरेको एक सर्वेक्षणअनुसार जेलेन्स्कीको व्यक्तिगत लोकप्रियता ६५ प्रतिशत थियो । यो रुसको २०२२ को आक्रमणपछिको पहिलो केही महिनामा ९० प्रतिशतको उच्च समर्थनमा केही गिरावट हो । तर, उनीप्रतिको समर्थन सन् २०२४ को डिसेम्बरको ५२ प्रतिशतबाट उल्लेखनीय बढि हो । यद्यपि, जेलेन्स्कीले नयाँ कानुन उल्ट्याउने वाचा गरेर सडक प्रदर्शनबारे छिटो प्रतिक्रिया दिए । उनले एजेन्सीहरूको स्वतन्त्रता पुनस्र्थापित गर्न संसद्मा नयाँ विधेयक पेस गर्ने बताएका छन् । उनको प्रतिक्रियाको गतिले भ्रष्टाचार मुद्दामा आलोचनाप्रति राष्ट्रपति र वास्तवमा धेरैजसो युक्रेनी राजनीतिज्ञको संवेदनशीलता प्रकट गर्छ ।

भ्रष्टाचार, सधैँ ठुलो मुद्दा
भ्रष्टाचार युक्रेनी समाजमा गहिरो रूपमा प्रतिध्वनित हुने मुद्दा हो । भिक्टर यानुकोभिचको राष्ट्रपतित्वकालमा व्यक्त गरिएका भ्रष्टाचारविरोधी आक्रोशले सन् २०१३ र २०१४ को विरोध प्रदर्शनलाई उक्सायो, जुन इयूसँगको वार्ता तोड्ने र रुससँग नजिकको राजनीतिक र आर्थिक सम्बन्ध बनाउने उनको निर्णयको प्रतिक्रियामा सुरु भएको थियो । त्यसपछि भएको ‘गरिबीको क्रान्ति’ले यानुकोभिचको नेतृत्व र उनको नीतिलाई दृढतापूर्वक अस्वीकार गर्दै उनलाई सत्ताबाट हटाउन सहयोगी भयो ।

सन् २०१४ को क्रान्ति युक्रेनको नागरिक समाजको शक्ति र आफ्ना निर्वाचित अधिकारीलाई जवाफदेही बनाउने दृढ संकल्पको एक सानदार प्रदर्शन थियो । भ्रष्टाचारलाई सम्बोधन गर्न असफल हुने विषय युक्रेनका अन्तर्राष्ट्रिय समर्थकका लागि ठुलो चिन्ताको विषय हो । यो विशेषगरी, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता प्रमुख ऋणदाताका लागि हो । युक्रेनी अर्थतन्त्रलाई सञ्चालनमा राख्न ठुलो ऋण वितरण गर्ने यसको तत्परता किभले स्थापित गरेको सुशासनमा निर्भर छ ।

युरोपेली नेताले नयाँ कानुनबारे चिन्ता व्यक्त गरेका छन् र भ्रष्टाचारसँग जुध्ने सन्दर्भमा जेलेन्स्की पछाडि हट्न सक्ने सम्भावना रहेको बताएका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले जेलेन्स्कीलाई फोन गरेर आफ्नो गम्भीर चिन्ता व्यक्त गरेकी छिन् । भ्रष्टाचारविरोधी निकायको स्वतन्त्रतालाई कमजोर बनाएकोमा उनले जेलेन्स्कीसँग स्पष्टीकरण मागिन् । फ्रान्सेली र जर्मन नेताहरूले पनि यस विषयमा जेलेन्स्कीसँग छलफल गर्ने इच्छा व्यक्त गरेका छन् ।

यसैबिच रुसले युक्रेनमा भइरहेको विरोध प्रदर्शनको फाइदा उठाउने प्रयास गरेको छ । युक्रेनको रक्षा मन्त्रालयको गुप्तचर निकायका अनुसार मस्कोले पहिले नै प्रदर्शनकारीका तस्बिरको व्यापक प्रचारप्रसार गरेको छ, जसमा उनीहरूले रुस समर्थक ब्यानर बोकेको देखाइएको छ । युक्रेनीहरू युद्धको तत्काल अन्त्यको माग गर्दै सडकमा आउँएको फोटो भनेर झुटो दाबी गरिरहेको मन्त्रालयको दाबी छ ।

अहिलेसम्म, यी विरोध प्रदर्शन एउटा विवादास्पद कानुनलाई उल्ट्याउने मागबाट सरकार परिवर्तनको आह्वानमा परिणत हुने कुनै संकेत छैन । केही प्रदर्शनकारीले मिडियालाई आफ्नो टिप्पणीमा स्पष्ट रूपमा जेलेन्स्कीको समर्थन गर्ने तर यस कानुन फिर्ता गर्न उनलाई आह्वान गरिरहेका छन् । यस्तोमा जेलेन्स्कीले आफ्ना घरेलु र अन्तर्राष्ट्रिय समर्थकलाई पक्षमा राख्न छिटो कदम चाल्नु आवश्यक छ । युक्रेनको लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्धता र इयू/नेटोजस्ता पश्चिमी संस्थामा सामेल हुनका लागि यसको उपयुक्तता प्रदर्शन गर्न धेरै प्रयास गरिएको छ । भ्रष्टाचारविरोधी कुनै पनि संकेतले त्यो सन्देशलाई कमजोर पार्न सक्छ ।

युक्रेनीहरू युद्धको समर्थन र सशस्त्र बलको अनुमोदनमा उल्लेखनीय रूपमा एकताबद्ध छन् । तर, परिचालन प्रक्रिया आफैँमा भ्रष्टाचारले दूषित छ । शक्तिशाली र धनी युक्रेनी परिवारका सदस्य सैन्य सेवाबाट बच्न र विदेशमा आरामदायी जीवन बिताउन सक्षम छन् भन्ने कुरा व्यापक रूपमा थाहा हुँदाहुँदै पनि सामान्य नागरिक थप सैनिकका लागि राज्यको आह्वानलाई प्रतिक्रिया दिन हिचकिचाउँछन् । जेलेन्स्की भ्रष्टाचारप्रतिको असन्तुष्टिलाई चाडै सम्बोधन गर्नुपर्छ । आज यसले सत्तामा आफ्नो पकडलाई खतरामा नपारे पनि, भ्रष्ट अभ्यासहरू र उनीहरूले सिर्जना गर्ने असमानताप्रति समाजको क्रोधले युद्ध प्रयासलाई पहिले नै क्षति पुर्‍याइरहेको छ । युक्रेनका राजनीतिक नेताले लोकतन्त्रप्रतिको उनीहरूको प्रतिबद्धता उनीहरूले नेतृत्व गर्ने समाजको जत्तिकै बलियो छ भनेर प्रदर्शन गर्न आवश्यक छ ।

द कन्भर्सेसनबाट