
खानेपानी मन्त्रालयको गाडी दुरुपयोग भएको पाइएको छ । विभिन्न मुद्दाका प्रतिवादीले नै मन्त्रालयको गाडी प्रयोग गरिरहेको भेटिएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको मधेश प्रदेश अध्यक्षसमेत रहेका अशोक यादवले मन्त्रालयको गाडी प्रयोग गरिरहेको पाइएको हो ।
यादवविरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयले आपराधिक उपद्रवमा यादवविरुद्ध अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरेको छ । मधेश प्रदेश जिल्ला पूर्वाधार कार्यालयका प्रमुख विजयकुमार यादवको लिखित जाहेरीमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । यादवविरुद्ध अहिले विभिन्न १० मुद्दा छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीविरुद्ध पुराना आठ मुद्दा छन् भने हालै दुईवटा मुद्दा दायर भएका छन् ।
देशै टुक्र्याउने अभिव्यक्तिका कारण उनी पछिल्लो समय झनै विवादित छन् । उनले केही समयअघि नेपालबाट मधेश अलग हुने अभिव्यक्ति दिएका थिए । उनै यादवले खानेपानी मन्त्रालयको गाडी प्रयोग गर्दै आएका हुन् ।
मन्त्रालयको नाममा रहेको बा२झ २५४५ नम्बरको गाडी यादवले प्रयोग गर्दै आएका छन् । यो गाडी अहिले यादवकै मलंगवास्थित घरमा छ । खानेपानीमन्त्री प्रदीप यादव र अशोक दुवै जसपाका हुन् । स्रोतका अनुसार प्रदीप यादव मन्त्री भएपछि अशोकले गाडी प्रयोग गरिरहेका छन् ।
खानेपानी मन्त्रालयले पनि यो गाडी मन्त्रालयकै नाममा रहेको स्वीकार गरेको छ । मन्त्रालयको स्टोर शाखाका अनुसार यो गाडी मन्त्रीको सचिवालयलाई दिइएको हो । ‘मन्त्रीको सचिवालयले प्रयोग गर्ने गरी एक–डेढ महिनाअघि गाडी लगिएको हो,’ स्टोर शाखाका कर्मचारी कमल ढुंगेलले नयाँ पत्रिकासँग भने, ‘गाडी कहाँ/कसरी प्रयोग भएको छ भन्नेबारे जानकारी भएन ।’