मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ११ आइतबार o८:३२:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

झनै रहस्यमय बनेका राष्ट्रपति सी

तेस्रो पाँचवर्षे कार्यकाल समाप्त भएपछि पनि चीनका राष्ट्रपति सी जिनपिङले पद छोड्ने कुनै छनक देखिँदैन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार o८:३२:oo

हरेक वर्षको अगस्टमा संसारकै सबैभन्दा शक्तिशाली व्यक्ति सार्वजनिक दृश्यबाट गायब हुन्छन् । राष्ट्रपति सी जिनपिङ सम्भवत: अर्को हप्ता बेइजिङबाट बाहिर निस्कनेछन् र राजधानीबाट तीन घण्टा पूर्वमा रहेको बेइदाइहेको समुद्री तट रिसोर्टमा वरिष्ठ अधिकारीहरूसँग गर्मीयामको आरामका लागि जानेछन् । माओत्सेतुङको समयदेखि नै कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरू भिल्लाहरूमा भेला हुँदै आएका छन् । तैपनि, लामो समयसम्मको अनुपस्थितिले चीनबाहिर नेताको सत्तामा पकडको स्थितिबारे अनुमान लगाउन सकिन्छ ।

यस वर्षको ग्रीष्मकालीन सम्मेलनले पार्टीको शीर्ष पदहरूलाई पुनर्संरचना गर्ने राष्ट्रपति सीको आश्चर्यजनक सफलतालाई प्रतिबिम्बित गर्नेछ, पुराना नेताहरू निष्क्रिय भएका छन् वा किनारामा परेका छन्, बफादारहरूले शासन गरेका छन् । चीनको सर्वोच्च नेताको कुनै मुख्य प्रतिद्वन्द्वी नभएको देखिन्छ, उनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र यसको सबैभन्दा ठुलो सशस्त्र सेनालाई चुनौतीरहित देखिने गरी हाँकेका छन् । विश्व नेताहरूका लागि उनीसँग पहुँच अनिवार्य छ । हालैका दिनमा उनले भारत र रुसका विदेशमन्त्रीलाई स्वागत गरे । त्यस्तै राष्ट्रपति सीले हालसालै अस्ट्रेलियाका प्रधानमन्त्रीसँग पनि वार्ता गरे । यस वर्षको अन्त्यमा सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको भेटघाटको ‘सम्भावना उच्च छ’ ।

चीनको अभिजात वर्गको राजनीति अझै पनि एउटा ‘ब्ल्याक बक्स’जस्तै छ । यदि कुनै नेता कहिल्यै समस्यामा परेमा बिरलै बाहिरी दुनियाँले उनका बारेमा थाहा पाउँछन् । तर, विश्लेषकहरू अब साउती मारिरहेका छन् कि सीको शासनशैली सूक्ष्म तरिकाले परिवर्तन भइरहेको हुन सक्छ । सुरुमा कर्मचारीमा प्रभुत्व जमाउन आयोगहरूको प्रणालीलाई बलियो बनाएका उनी अहिले भने थकित देखिन्छन् । सीद्वारा सञ्चालित केही आयोग (एक प्रकारको समिति) को बैठक बिरलै बसेको छ । उनले विश्वासिला लेफ्टिनेन्टहरूलाई आफ्नो एजेन्डा कार्यान्वयन गर्न अनुमति दिइरहेका छन् । वास्तवमा सी सार्वजनिक रूपमा थोरै देखिन थालेका छन् ।

यदि शैलीमा परिवर्तन भइरहेको छ भने यो सन् २०१२ मा पदभार ग्रहण गरेदेखि नै निर्दयी रूपमा शक्ति केन्द्रीकृत गर्ने व्यक्तिका लागि उल्लेखनीय परिवर्तन हुनेछ । सीको आफ्नै अधिकारसँगै अनुसन्धान निकायअन्तर्गतका अधिकारीको संख्यामा पनि वृद्धि भएको छ, सन् २०२४ को अप्रिलमा सुरु गरिएको कारबाहीको कारण चार लाख ३३ हजारजनामाथि अनुसन्धान भएको छ । सशस्त्र सेनामा हालै भएका शुद्धीकरण र उथलपुथल उल्लेखनीय छन् । एकपटक पाँच सदस्यीय केन्द्रीय सैन्य आयोग (सशस्त्र सेनालाई नियन्त्रण गर्ने पार्टीको निकाय, जसको अध्यक्षता सीले गर्छन्)मा रहेका धेरै जनरलमाथि अनुसन्धान भइरहेका छन् वा दृश्यबाट गायब छन् । सबैभन्दा पछिल्लो उदाहरणमा हि वेइडोङ सन् १९६७ पछि पतन हुने उच्च तहका सैन्य अधिकारी बन्दै छन् ।

सहयोगीहरूको नेतृत्व गर्दा केही समस्या समाधान हुन्छन्, तर यसले नयाँ समस्या पनि सिर्जना गर्न सक्छन् भन्ने कुरामा सी सचेत देखिन्छन् । आफ्ना बफादारहरूमा अनुभवको कमी हुन सक्छ । सीले जुन ३० मा २४ सदस्यीय पोलिटब्युरोलाई सम्बोधनका क्रममा भनेका थिए, ‘आत्म–क्रान्तिको डोरीलाई अझ बलियो बनाउनुपर्छ ।’

मातहतका नेताहरूसँग बलियो सम्बन्ध
पदभार ग्रहण गरेपछि सीले पार्टी आयोगको एक समूहमार्फत शक्तिको उपयोग गरे, जसले उनलाई अन्य निहित स्वार्थलाई पन्छाउन अनुमति दियो । ती आयोगले उनलाई आफ्नो रोजाइमा नभएका अधिकारीलाई (जस्तै– अघिल्ला प्रधानमन्त्री ली केकियाङलाई) पन्छाउन पनि अनुमति दिए । सीले शासनका विभिन्न क्षेत्रहरूको निरीक्षण र घरेलु एजेन्डा कार्यान्वयन गर्नेदेखि आफ्नो मातहतमा एक दर्जन आयोग स्थापना गरेका छन् । तर, सम्बन्धित बैठकमा आफू उपस्थित हुनुको सट्टा सीले लिखित निर्देशन पठाइरहेका छन्, अमेरिकी थिंक ट्यांक एसिया सोसाइटीका निल थोमस भन्छन् ।

यस्ता बैठकको संख्या पनि घट्दै गएको देखिन्छ । आर्थिक सुधारसम्बन्धी सबैभन्दा महत्वपूर्ण आयोगको बैठक उनी इन्चार्ज भएको पहिलो पाँच वर्षमा ३८ पटक बसेको थियो । सन् २०२२ देखि यस अयोगको केवल ६ पटक मात्र बैठक बसेको छ र अगस्ट २०२४ देखि निर्णयलाई सार्वजनिक रूपमा घोषणा गरिएको छैन । यसका विज्ञप्तिहरू पनि छोटा छन्, जसले यसले थोरै निर्णय गरिरहेको संकेत गर्छ । अनुसन्धान फर्म गेभेकल ड्र्यागोनोमिक्सका क्रिस्टोफर बेडोरले सीको नेतृत्वमा रहेका अन्य आयोग पनि अरूजस्तै महत्वहीन भएको टिप्पणी गर्छन् ।

जुनमा भएको पार्टी बैठकमा पोलिटब्युरोले नियमावली बनाएको थियो (यद्यपि नियमावलीलाई प्रकाशित गरिएको थिएन) । नियमावलीले पहिलोपटक पार्टी आयोगहरूको जिम्मेवारी स्पष्ट पारेको थियो । अधिकांश आयोग अझै पनि सीको अध्यक्षतामा छन् । नयाँ नियमावली सीको ‘नियममार्फत शासन गर्ने’ प्रयासको अंश हुन्, ताकि उनी बैठककोठामा नहुँदा पनि उनको एजेन्डा प्रबल होस्, ग्लासगो विश्वविद्यालयका होली स्नेप भन्छन् । यो सबै कुरा सीको नेतृत्वमा रहेको अवस्थामा र शक्तिको पृथकीकरण नभएको कुरा सुनिश्चित गर्ने अभियानको अंश देखिन्छ ।

सीको दृष्टिकोणमा अर्को परिवर्तनशील प्रतिनिधिसँग सम्बन्धित छ । उनले केही महत्वपूर्ण आयोगहरूको व्यवस्थापनको जिम्मा कर्मचारीलाई दिन थालेका छन् । खासमा उनले आफ्ना प्रमुख कर्मचारी काई क्युई, प्रधानमन्त्री ली छियाङ र उपप्रधानमन्त्री डिंग जुएक्सियाङमाथि भरोसा राखेका छन् । प्रत्येकलाई २०२३ को सुरुमा नेतृत्व गर्न पार्टी आयोग दिइएको थियो । र, सीले सन् २०२२ मा तिनीहरूलाई पदोन्नति गर्न परम्परा तोडेका थिए । पोलिटब्युरोको सात सदस्यीय स्थायी समिति उच्च शक्तिको हुन्छन् । शीर्ष नेतासँग उनीहरूको बलियो सम्बन्ध छ, तर एक–अर्कासँग भने कमजोर सम्बन्ध छ ।

पर्यवेक्षकहरूले काईलाई सीको सबैभन्दा विश्वसनीय सल्लाहकारको रूपमा व्यापक रूपमा मान्छन् । उनले पार्टी नेतृत्वको तालिका, सञ्चार र सुरक्षा नियन्त्रण गर्छन् । असामान्य रूपमा एकै समयमा उनी पार्टी केन्द्रको विशाल ब्युरोक्रेसीको दैनिक सञ्चालनको जिम्मेवारीमा छन् । तैपनि, प्राय: बेवास्ता गरिएका लीले शीर्ष नेताको जिम्मेवारी सुस्त रूपमा घटाउने कामबाट सबैभन्दा बढी फाइदा उठाएको देखिन्छ ।

लीले २००४ देखि २००७ सम्म सीको प्रमुख कर्मचारीको रूपमा काम गरेका थिए, जतिवेला उनको प्रान्तीय गभर्नरको रूपमा उदय भएको थियो । लीले त्यसपछि आफ्ना पूर्ववर्तीबाट खोसिएका केही जिम्मेवारी पुन: प्राप्त गरेका छन्, जसमा कतिपयले आर्थिक नीतिमाथि पनि जोड दिन्छन् । ली राष्ट्रपतिका विश्वासपात्र पनि हुन् । उनी जुलाईमा ब्राजिलमा भएको ब्रिक्स शिखर सम्मेलनमा सीको प्रतिनिधित्व गरेर गएका थिए । १२ वर्षमा यो भेलामा चीनका शीर्ष नेताको पहिलो अनुपस्थिति थियो । लीको राज्यको कर्मचारीतन्त्रभित्र पनि उल्लेखनीय प्रभाव छ । नयाँ नियमले उनलाई इच्छाअनुसार कर्मचारीतन्त्रलाई काबुमा राख्न र आफ्नो रोजाइका विषयमा अध्ययन सत्र आयोजना गर्न अनुमति दिन्छ । लीबाहेक डिंग एक मात्र अर्का नेता हुन्, जसमा यस्तो स्वतन्त्रता छ ।

अप्रिलमा भएको एउटा अनौठो घटनाबाट पनि लीलाई फाइदा भएको हुन सक्छ । त्यतिवेला जब पोलिटब्युरोका दुई सदस्यले कुनै स्पष्टीकरणविना नै आफ्नो भूमिका त्यागेको घोषणा गरे । परिणामस्वरूप, लीका एक पुराना सहकर्मीले अब पाँचवर्षे पार्टी महाधिवेशन अगाडि पार्टीका व्यक्तिको निर्णयहरूको निरीक्षण गर्छन् । सन् २०२७ मा हुने महाधिवेशनले सरकारको अर्को कार्यकालको लागि प्रमुख नियुक्तिबारे निर्णय गर्नेछ ।

एकातिर बफादारहरूलाई कार्यभार सुम्पनु अर्कोतर्फ उत्तराधिकारी र सम्भावित प्रतिद्वन्द्वीलाई पहिचान गर्न असफल हुनु बुढेसकालमा शासन गर्न तयार नेताको संकेत हुन सक्छ । सी ७२ वर्ष पुगे । २०२७ मा आफ्नो तेस्रो पाँचवर्षे कार्यकाल समाप्त हुँदा उनको पद छाड्ने कुनै संकेत छैन ।

–इकोनोमिस्टबाट