१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
Invalid date format o८:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५१:oo

प्रतिनिधिसभाका पूर्वसदस्य गोविन्दप्रसाद शर्मा कँडेलको आइतबार बिहान निधन भएको छ। बागलुङको काठेखेला गाउँपालिका– ५ निवासी कँडेल चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका निम्ति काठमाडाैं जाने तयारी गर्दै गर्दा निधन भएको परिवारले जनाएको छ।  नेपाली कांग्रेसका पूर्वपार्टी सभापतिसमेत रहेका कँडेल ०४८ सालको संसदीय निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित भएर प्रतिनिधिसभा सांसद भएका थिए। 

कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमानदार नेताका रूपमा परिचित छन्। बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल ०३६ देखि ०४६ सालसम्म नेपाली कांग्रेस बागलुङका सभापति भएर पार्टीको नेतृत्व सम्हालेका थिए। कँडेल ०४६ सालको आन्दोलनका क्रममा अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलसँगै जेलजीवन बिताएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जगदीशचन्द्र उपाध्यायले जानकारी दिए। 

वि.सं. १९९५ साल पुस १४ गते जन्मिएका कँडेलले वि.सं. २०१० सालमा जननायक बिपी कोइरालाबाट पार्टी सदस्यता लिएका थिए । त्यसयता उनले लामो समयसम्म नेपाली कांग्रेसको संगठन विस्तार तथा लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए। वि.सं. २०१६ सालमा नेपाली कांग्रेसको साप्ताहिक पत्रिका निकाल्दै गर्दा पक्राउ परेका कँडेल वि.सं. २०१९ सालमा निरंकुश पार्टीविहीन व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा पाल्पामा जेलसमेत परेका थिए।

 कँडेलको शव आइतबार नै जन्मस्थल बिहुँ ल्याइएको छ ।  कँडेलको सोमबार बिहान १० बजे  नेपाली कांग्रेस बागलुङले बागलुङमा निर्माणाधीन अवस्थामा रहेको बिपी स्मृति भवनअगाडिकाे नारायण चौतारीमा अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम राखेको कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । कँडेलको धर्मपत्नी विष्णुदेवी कँडेलको डेढ वर्ष पहिले निधन भएको छ भने उनका दुई  छोरा र एक छोरी रहेका छन् । 

शर्माको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यालय र जिल्ला कार्यालयले शोक वक्तव्य जारी गरेको छ । कांग्रेसले विज्ञप्तिमा कँडेलको योगदानको स्मरण गर्दै लेखेको छ, ‘उहाँको निधनले नेपाली कांग्रेसले एक अग्रज, अनुशासित, निष्ठावान र अनुभवी राजनीतिज्ञ गुमाएको छ।’ शोक वक्तव्यमा नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै कँडेलको निधन पार्टीका लागि अपूरणीय क्षति भएको बताएका छन्।  देउवाको भनाइ उदृत गर्दै वक्तव्यमा उल्लेख छ, ‘नेपाली कांग्रेस बागलुङका पूर्वसभापति, पूर्वसांसद एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेता गोविन्दप्रसाद कँडेलको निधनले मलाई अत्यन्त दुखित बनाएको छ। उहाँको योगदान सदैव स्मरणीय रहनेछ।’