
आर्थिक वर्ष ०८२/८३ को गण्डकी प्रदेशको बजेट निर्माणमा ‘मनोपोली’ गरेको आरोप लागेका आर्थिक मामिला मन्त्रालयका सचिव कारवाहीमा परेका छन् ।
बजेट निर्माणको क्रममा विशेष गरि योजनामा रकम विनियोजन गर्दा ‘मनोपली’ गरेको आरोप लागेका सचिव राजेन्द्रदेव पाण्डे कारवाहीमा परेका हुन् ।
पाण्डेलाई कारवाही स्वरूप आर्थिक मामिला मन्त्रालयको सचिवको जिम्मेवारीबाट हटाएर जगेडामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरि तानिएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको जिम्मेवारी खेसेर जगेडामा राख्ने निर्णय गरेको हो ।
१ असारमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट सार्वजनिक गरेका थिए । बजेट १३ असारमा पारित समेत भै सकेको छ ।
बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कुल बजेटको ३९.५ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब नौ करोड ३३ लाख २४ हजार अर्थात कुल बजेटको ५९.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कुल बजेटको ०.८ प्रतिशत विनियोजन गरिएको छ ।
मुख्यमन्त्रीले सोमबार मन्त्रिपरिषदको बैठकमार्फत सचिवलाई कारवाही गर्दै जगेडामा तानेका हुन् । मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई जगेडामा तान्नेसँगै निमित्त सचिवको जिम्मेवारी १०औँ तहका उपसचिव डिल्लीराज रिजाललाई दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारकार प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङलाई निर्णयका सम्बन्धमा प्रश्न गर्दा उनले २४ घण्टा नपुगेकाले सार्वजनिक गर्न नमिल्ने र यस बारेमा भोलि मंगलबार जानकारी दिने बताए ।
कारवाहीमा परेका सचिव पाण्डे तनहुँ जिल्लास्थित भानु नगरपालिका हुन् । पाण्डेले प्रक्रियाभन्दा बाहिर गएर योजनामा रकम विनियोजन गरेको, सांसदहरूको योजना काटेर अफ्नो पालिकामा बजेट थुपारेको लगायतका आरोप लागेको थियो ।
पाण्डेले आफ्नो पालिकामा चितिखोला महोत्सव, चितिखोला उपत्यका वृतचित्र निर्माण, रक क्लाईम्बिङ, क्यानोइङसम्बन्धी प्रचार प्रसार, बेलीब्रिज निर्माण, पर्यटन गन्तव्यहरूको प्रचार प्रसार, पार्क निर्माण, मोटरबाटो, सिँचाइ, खानेपानी, म्याराथन लगायतका दर्जनौ योजनामा ३५ कारोड हाराहारी विनियोजन गरेको आरोप छ ।
स्रोतका अनुसार बजेट निर्माणको क्रममा सचिव पाण्डेले मन्त्री गुरूङलाई मन्त्रालय छिर्न नदिने, मन्त्री आए आफुहरू काम छाडेर हिँड्ने भन्दै धम्की दिँदै केही घण्टा काम बन्द गरेर मन्त्रालयबाटै समेत बाहिर निस्किएका थिए ।