१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025
प्रेम गौतम काठमाडाैं
२o८२ असार १५ आइतबार o६:१९:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अब ‘विद्या कमरेड’

Read Time : > 6 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १५ आइतबार o६:१९:oo
  • दुई–दुई कार्यकाल राष्ट्रपति भइसकेकी विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणाले एमालेमा हलचल, अर्को वर्ष हुने ११औँ महाधिवेशनमा अध्यक्ष केपी ओलीको विकल्पका रूपमा अघि बढ्ने तयारी 

दुई कार्यकाल देशको सर्वोच्च पद समालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष हुने एमालेको ११औँ महाधिवेशनमा अध्यक्षको दाबेदार, ०८४ को संघीय निर्वाचनमा सांसद उम्मेदवार र भावी प्रधानमन्त्रीको दौडमा प्रवेश गर्ने ढोका खुला गरेकी छिन् । मदन भण्डारीको ७४औँ जन्मदिनका अवसरमा सार्वजनिक कार्यक्रममार्फत सक्रिय राजनीतिमा फर्केको घोषणा गरेर पूर्वराष्ट्रपतिबाट एमाले नेतृ बनेकी उनले बहुपक्षीय सन्देश प्रवाह गरेकी हुन् । यसअघि उपराष्ट्रपति नन्दबहादुर पुनले माओवादीको सक्रिय राजनीति थालिसकेका छन् ।

मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृहमा शनिबार गरेको कार्यक्रममा भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको र एमाले परिवारको एक सदस्यका रूपमा आफूलाई गर्व लागेकी बताइन् । भण्डारीले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुर्ने दायित्व अझै पूरा नभएको निष्कर्षले सक्रिय राजनीतिमा फर्कनुपरेको दाबी गरेकी छिन् ।

उनले आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेकोसमेत बताइन् । ‘फरक ढंगले राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमा रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको छु । अब नेकपा एमाले परिवारको एक सदस्यका रूपमा पुन: जोडिएको छु, र यसमा गर्व गर्दछु,’ आफ्नो पृष्ठभूमिसहित उनले भनिन् । राष्ट्रपति हुनुपूर्व उनी एमाले उपाध्यक्ष थिइन् । राष्ट्रपतिको जिम्मेवारीपछि उनले पार्टी सदस्यता त्याग गरेकी थिइन् । 

पार्टी जिम्मेवारीमा फर्किएको घोषणाअघि भण्डारीले आफू राष्ट्रपतिबाट बाहिरिएको दुई वर्षको अन्तरालमा आफूले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासबारे जनतासँग अन्तक्र्रिया र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको उनले बताइन् । ‘यस किसिमको छलफलका आधारमा निस्केको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्य अझै पूरा भएको छैन भन्ने भन्ने नै हो,’ उनले भनिन्, ‘त्यसैले यस गहन दायित्वलाई सबैले वहन गर्न अग्रसर हुनैपर्छ ।’ यसबिचमा उनले जेठमा उत्तरी छिमेकी चीनको भ्रमणसमेत गरेकी थिइन्, जहाँ उनी एमाले नेताको हैसियतमा प्रस्तुत भएकी थिइन् । 

विद्यार्थी हुँदादेखि नै तत्कालीन माले हुँदै अहिलेको एमालेमा आबद्ध भएर सामाजिक–आर्थिक रूपान्तरण अभियानमा आबद्ध भएको स्मरण गर्दैै भण्डारीले विगतमा पार्टीको निर्णयअनुसार नै आफू राष्ट्रपतिको उम्मेदवार भएर निर्वाचित भएको बताइन् । जिम्मेवारीमा हुँदा देश र जनताको हितलाई ध्यानमा राखेर काम गरेको भन्दै उनले राष्ट्र र नागरिकको स्वाभिमानमा कुनै पनि आँच आउने काम नगरेको दाबी गरिन् । 

भण्डारीले मदनको अवसानबाट पार्टी, आफू र सिंगो राष्ट्र शोकमा डुबेका वेला पार्टीले काठमाडौंको संसदीय उपनिर्वाचनमा प्रतिस्पर्धी बनाएकै वेलादेखि नै जनताको छोरीका रूपमा सम्पूर्ण जीवन राष्ट्रलाई दिने संकल्प गरेको स्मरणसमेत गरेकी छिन् । ‘वास्तवमा त्यसवेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेकै थिएँ,’ मदनका केही शब्दावली स्मरण गर्दै भण्डारीले भनिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान् हुन् । साथै, उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन । आज तपाईंहरूबिच हुँदा मदनका यी भनाइ मैले पुन: स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’

मदनका उक्त भनाइलाई आदर्श मानेर आफू समर्पित बनिरहने भण्डारीले बताइन् । ‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्वसमेत बनाएका छन् । मलाई जस्तै विगतले अरूलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात् गरेर संयमतापूर्वक अग्रसर हुनुपर्छ,’ उनले भनिन् ।

भण्डारीले पहिलोपटक ११ कात्तिक ०७२ मा राष्ट्रपति निर्वाचित भएपछि पार्टी सदस्यता त्यागेकी थिइन् । उनी दोस्रो कार्यकालका लागि २९ फागुन ०७४ निर्वाचित भएकी थिइन् । उनी शीतलनिवासबाट २९ फागुन ०७९ मा बिदा भएकी थिइन् । 

स्रोतका अनुसार उपाध्यक्षहरू विष्णु पौडेल र रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा सचिवहरू पद्मा अर्याल र लेखराज भट्टबाहेक पदाधिकारीसँग विद्या भण्डारी नियमित सम्पर्कमा छिन् । भण्डारीले केही दिनअघि एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरेकी थिइन् । एमालेको ठुलो पंक्ति विधिबाट नेतृत्व परिवर्तनको पक्षमा रहेको स्थायी समिति सदस्य कर्ण थापाले बताए । ‘एमालेमा ठुलो पंक्ति विधिबाट नेतृत्व परिवर्तनको पक्षमा छ । यो र त्यो भन्नेमा नजाऔँ,’ उनले भने ।

विद्याको पुनरागमनमा उपाध्यक्ष पोखरेलको समर्थन
भण्डारीभन्दा अगाडि सम्बोधन गरेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु नौलो नभएको बताएका थिए । राजनीतिक व्यक्ति नै रहेकाले राजनीतिक फर्किन मिल्ने उनले भनाइ थियो । अध्यक्ष केपी ओलीसहित सबैको सल्लाहमा पार्टीमा भण्डारीको जिम्मेवारी तोकिनुपर्ने उनले बताए ।

‘उहाँ दलको प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । त्यहाँ गएपछि एउटा भूमिका पूरा गर्नुभयो । अब पोलिटिकल मान्छे हो कि होइन भन्ने प्रश्न छन् । पूर्वराष्ट्रपति एउटा पोलिटिकल मान्छे हो । पोलिटिकल मान्छे हो भन्नेमा किन इफ–बट भनेको ? इफ–बटको केही जरुरी छैन,’ पोखरेलले भने, ‘पोलिटिक्स गरेर आएको व्यक्तिमा पोलिटिक्सप्रति रुचि हुन्छ । यो के अनौठो भो ? पोलिटिक्समा रुचि राख्नु उहाँको धर्म हो । अब के गर्ने, कसो गर्ने, त्यो त सल्लाह हुन्छ । अध्यक्षज्यूसँग सल्लाह हुन्छ । हामी सबै बसेर सल्लाह गर्छौँ, र टुंगिन्छ । यसमा तातेको तावामा उफ्रेजस्तो किन गरेको ?’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन नपाए असन्तुष्टिले विस्फोटको रूप लिने चेतावनीसमेत दिए । ‘पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन दिइएन भने विस्फोट हुन्छ । विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ, विग्रह पैदा गर्छ । त्यस्तो अवस्थामा विग्रह–विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ । असन्तुष्टि निश्चित विन्दुमा पुगेपछि विस्फोट हुन्छ,’ जबजको व्याख्या गर्दै पाखेरेलले भने ।

उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि ध्यान दिनुपर्ने औँल्याए । लहडमा नभई धेरै सोच–विचार गरेर पार्टीमा उमेरहदको व्यवस्था गरिएको पनि बताए । ‘त्यसवेला पारित भएका दस्ताबेज जस्ताको तस्तै सुरक्षित छन् । हामीले पार्टीको लोकतान्त्रीकरणबारे कुरा गर्‍यौँ । कार्यकाल र उमेरका कुरा गर्‍यौँ । नियन्त्रण र सन्तुलनका कुरा पनि गर्‍यौँ र थुप्रै कुरा राख्यौँ,’ उपाध्यक्ष पोखरेलले भने, ‘त्यो कुनै झ्वाँकमा राखेको होइन । सुविचारित ढंगले लामो बहस र छलफलबाट निकालिएका निष्कर्ष हो ।’

एमालेले २०–२२ भदौमा विधान महाधिवेशन गर्दै छ, जहाँ नेतृत्वको उमेरहद र कार्यकालको विषय टुंग्याउने तयारी छ । पार्टी अध्यक्ष ओली र उनीनिकट नेताहरू ७० वर्षे उमेरहद र कार्यकाल सीमा तोक्न नहुने पक्षमा छन् । तर, उपाध्यक्ष पोखरेलसहित ओली समूहइतरका नेता भने उमेरहदको पक्षमा छन् । 

सुरुमै बोलेर हिँडे ओली
तीनजना वक्ता रहेको कार्यक्रममा प्रमुख अतिथि भए पनि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली सुरुमै बोलेर हिँडेका थिए । भण्डारीले ओलीलाई आफ्ना कुरा सुनेर जान आग्रह गरेकी थिइन । तर, ओलीले भण्डारीले कुरा सुन्न चाहेनन् । उनले भनेका थिए, ‘सम्माननीय पूर्वराष्ट्रपतीजीले मेरा पनि कुरा सुन्नुस् न भन्दै हुनुहुन्थ्यो । तपाईं राम्रो बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदै छ । आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो । ईश्वर कमरेड बोल्नुहुन्छ, उहाँले नराम्रो कहिल्यै बोल्दै बोल्नुहुन्न । राम्रो बोल्नुहुन्छ । त्यो भएर मलाई थाहा छ के बोल्नुहुन्छ । मैले सुन्न बसिरहनुपर्दैन ।’ 

विदेश जाने पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै ओली हिँडेका थिए । उनले शनिबारको कार्यक्रममा बम पड्कन्छ र एमाले ध्वस्त हुन्छ भन्ने सपना विरोधीले देखेको भन्दै कुनै बमबारुद नपड्किने पनि बताएका थिए । ‘कुनै बमबारुद पड्किनेवाला छैन । आस नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ र एकजुट भएर अघि बढ्छ,’ ओलीले भनेका थिए । 

उनले सुरुमै एमालेको कठिन अवधि समाप्त भएको र कसैले फुटाउन नसक्ने बताएका थिए । ओलीले आगामी निर्वाचनमा एकताबद्ध भएर बहुमत ल्याउने दाबीसमेत गरे । एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छु भन्नेहरूको हालत पनि देखिसकिएको उनले बताए । उनले कम्युनिस्ट पार्टीको विगतदेखिको चर्चा गर्दै जबज व्यवहारमा लागू गरेको पनि दाबी गरे ।

ओलीले मदन भण्डारी दिवस मनाउन देशभरि वृक्षरोपण कार्यक्रम राखिएको पनि दाबी गरे । ‘यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे विभिन्न ठाउँमा भन्छन् । मदन भण्डारी दिवस मनाउन देशभरि कार्यक्रम राखिएको छ । एमालेनिकट रहेका संगठनहरूको कार्यक्रम भाँड्न खोजेर भाँडिन्छ ? कसरी भाँडिन्छ म र विद्या भण्डारीजी आउने कार्यक्रम ?’

अन्य दलको प्रतिक्रिया के छ ? 

राज्यकै अभिभावक भएको व्यक्ति राजनीतिमा छिर्नु राम्रो होइन : मीन विश्वकर्मा, प्रचार विभाग प्रमुख, कांग्रेस
राज्यकै अभिभावक भएर भूमिका निभाइसकेको व्यक्ति फेरि प्रतिस्पर्धात्मक प्रणालीमा छिर्नु राम्रो होइन । कानुनले त छेक्दैन, तर कतिपय कुरा मर्यादाभित्र रहँदा राम्रो हुन्छ । राष्ट्रप्रमुख हुँदा पार्टी सदस्यता त्यागिसकेको हुन्छ । फेरि दलको सदस्यता लिएर प्रतिस्पर्धामा आउँदा आरोप–प्रत्यारोप र टिप्पणीको पात्र बन्नुपर्ने हुन्छ । त्यो राम्रो हुँदैन । त्यसले लोकतान्त्रिक गणतन्त्रलाई नै आलोचित–आरोपित बनाउँछ । प्रथम राष्ट्रपतिजस्तै दोस्रो राष्ट्रपति पनि मर्यादा कायम गरेर बस्दा राम्रो हुन्छ ।

रिटायर्ड भइसकेपछि दलमा आबद्ध हुन पाइन्छ : देव गुरुङ, महासचिव, माओवादी
संविधान र कानुनी व्यवस्थाले कुनै छेकबार गर्दैन । राजनीतिमा आउने–नआउने व्यक्तिमा निहित रहन्छ । हरेक नागरिकलाई आफ्नो आस्था र विचारका आधारमा दल खोल्न पाउने, दलमा आबद्ध हुन पाउने अधिकार छ । राष्ट्रपति कायम रहँदा पार्टीसँग जोडिनुहुन्न भन्ने हो । रिटायर्ड भइसकेपछि एउटा नेपाली नागरिकसरह दलमा आबद्ध हुन पाइन्छ । नागरिकले पाउने अधिकार, पूर्वराष्ट्रपतिलाई पनि हुन्छ । बहुदलीय व्यवस्थामा कुनै नागरिकलाई रोकतोक गर्दैन । फेरि पनि दलमा लाग्ने–नलाग्ने भन्ने व्यक्तिमा निर्भर रहन्छ । 

अब उहाँ प्रश्नको जवाफ दिन तयार हुनुपर्छ : मनीष झा, प्रवक्ता, रास्वपा
अवैधानिक रूपमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दै गर्दा दुई–दुईपटक उहाँले सघाउनुभएको थियो । त्यसपछि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्दा न्यायालयको परामदेशले भनेर लेख्नुभएको थियो । राजनीतिमा आएपछि उहाँले यी प्रश्नहरूको सामना गर्न तयार हुनुपर्छ । अब म नै त्यो प्रश्न गर्न सक्छु । अर्को पक्ष उहाँ व्यक्तिगत चुनौती र जोखिम लिन तयार हुनुभयो । राजनीतिमा स्वागत छ । सुधारिएको एमालेको नेतृत्व गर्नुहोला भन्ने एउटा अपेक्षा पनि छ । पार्टीको नेता भएपछि उहाँले पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सबै सुविधा त्याग्नुपर्छ ।

एमालेभित्रको संकट टार्न उहाँलाई ल्याइएको देखिन्छ : प्रकाश ज्वाला, उपाध्यक्ष, एकीकृत समाजवादी
राष्ट्रको अभिभावक भइसकेको व्यक्ति कुनै पार्टीको नेता–कार्यकर्ता भएर आउनु शोभनीय त होइन । तर, उहाँ एमालेभित्रको संकट समाधानका लागि अगाडि आउन खोजेको देखिन्छ । नेतृत्वको निरंकुशताको अन्त्यका लागि एमाले एउटा पंक्तिबाट विद्यालाई राजनीतिमा तान्ने काम हुँदै छ भन्ने बुझिन्छ । अहिलेको नेतृत्वबाट एमाले अगाडि बढ्न सक्दैन भन्ने अनुभूति एमालेजनमा छ । त्यसको परिणामस्वरूप मदन भण्डारीकी श्रीमती, राष्ट्रपति भइसकेको व्यक्तिलाई एमालेको एक पंक्तिले नेतृत्वमा स्थापित गर्न खोजेको देखिन्छ । 

अब एमालेमा ध्रुवीकरण हुन्छ, नेताहरू खुलेर बोल्छन् : झलक सुवेदी, विश्लेषक

एमालेको आन्तरिक जीवनमा अहिले व्यक्तित्वको हिसाबले केपी ओलीको उचाइसँग प्रतिस्पर्धा गर्ने अन्य नेता थिएनन् । विद्या भण्डारी आएपछि एमालेमा दुईवटा ध्रुव बनेर जाने सम्भावना देखिन्छ । सदस्यता नवीकरण गरेर विद्याले एमालेको नेतृत्व लिन खोज्नुभएको होला । ओलीले पनि अहिले बाहिरिन्छु भन्नुभएको छैन । अर्को कुरा एमालेमा अहिले नेताहरू खुलेर बोल्न सक्ने अवस्था छैन । अब एमालेमा ध्रुवीकरण हुन्छ, नेताहरू खुलेर बोल्न सक्छन् । एमालेभित्र बहस खुला हुन्छ ।

पूर्वराष्ट्रपतिजस्तो सम्मानित पदमा रहेको व्यक्ति राजनीतिमा आउन मिल्छ ?
यो व्यक्तिको कुरा हो । राजनीतिक दलहरूले अहिलेसम्म यसबारे बहस गरेका छैनन् । कानुनी रूपमा पनि केही उल्लेख छैन । त्यसकारण आउने–नआउने भन्ने व्यक्तिको रुचिमा भर पर्ने कुरा हो । 

विद्या भण्डारीको पुनरागमनले एमालेको आन्तरिक जीवनमा के फरक पर्छ ?
एमालेको आन्तरिक जीवनमा अहिले व्यक्तित्वको हिसाबले केपी ओलीको उचाइसँग प्रतिस्पर्धा गर्ने अन्य नेता थिएनन् । विद्या भण्डारी आएपछि एमालेमा दुईवटा ध्रुव बनेर जाने सम्भावना देखिन्छ । सदस्यता नवीकरण गरेर विद्याले एमालेको नेतृत्व लिन खोज्नुभएको होला । ओलीले पनि अहिले बाहिरिन्छु भन्नुभएको छैन । अर्को कुरा एमालेमा अहिले नेताहरू खुलेर बोल्न सक्ने अवस्था छैन । अब एमालेमा ध्रुवीकरण हुन्छ, नेताहरू खुलेर बोल्न सक्छन् । एमालेभित्र बहस खुला हुन्छ ।

आज नै उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन नपाए विस्फोट नै हुने चेतावनी दिए, यसलाई कसरी लिने ?
ओलीले दसौँ महाधिवेशनयता पार्टीमा चुनावलाई नियन्त्रण गर्न खोजेको देखियो । ओलीले आफूले भनेको मात्रै लागू गर्न खोजे भन्ने एमालेकै नेताहरूमा प्रश्न छ । त्यही कारण एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चेतावनी आएको हुन सक्छ ।

भण्डारी सक्रिय हुँदा वामपन्थी दलहरूबिचको सहकार्य कस्तो होला ? 
नेकपा विभाजनका वेलामा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरूको ओलीसँग टक्कर परेको हुनाले विद्या भण्डारी आउँदा त्यति तिक्तता नहोला । वामपन्थी एकताकै विषयमा त ठ्याक्कै भन्न गाह्रो छ ।