
नेकपा(एमाले)को संसदीय दलकी सचेतक सुनिता बरालले परराष्ट्र मन्त्रालयको संस्थागत ‘मेमेरी’ र सूचना संयन्त्र कमजोर रहेको भन्दै विदेश सम्बन्धलाई प्रभावकारी बनाउन यसको सुदृढीकरणमा जोड दिएकी छिन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा बरालले आगामी आर्थिक वर्ष ०८२-८३ का लागि विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले छिमेकी मित्र राष्ट्रसहित विभिन्न मुलुकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन संस्थागत मेमोरी राख्ने प्रणालीको विकास जरुरी रहेको बताएकी हुन्।
‘मन्त्री वा सरकार फेरिँदैपिच्छे संस्थागत मेमेरी नष्ट हुने कुराले विदेश सम्बन्धलाई प्रभावित गर्छ,’ उनले भनिन्, ‘इन्टिच्युसनल मेमोरी’ मुलुकका लागि अत्यन्तै जरुरी छ।’
बरालले विदेशी डायस्पोराका नेपालीसँगको सहकार्यलाई परराष्ट्र मन्त्रालयले ध्यान नदिएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत नेपालीका संघसंस्थासँगको सम्बन्ध जीवन्त बनाउनुपर्नेमा जोड दिइन्।
साथै, विदेशमा कार्यरत नेपाली श्रमिकलाई आपतकालीन अवस्थामा उद्धारका लागि ‘र्यापिड एक्सन टिम’ बनाउन जरुरी रहेको उनको भनाइ छ। त्यससम्बन्धी छुट्टै डेस्क स्थापना गर्न सुझाव दिइन्।
आमनागरिकको सिधै पहुँच विदेशस्थित नेपाली नियोगहरूसँग नहुने भएकाले मन्त्रालयमै स्थायी संरचना बनाउनुपर्ने उनको भनाइ थियो। ‘विभिन्न देशमा हरेक नेपाली वर्कर (श्रमिक) हरूलाई आपत\ परेका वेला उद्धार गर्न परराष्ट्र मन्त्रालयमै ‘र्यापिड एक्सन टिम’ बनाउन जरुरी छ,’ बरालले भनिन्, ‘एउटा सामान्य नागरिकका लागि नेपालबाहिरका नियोगहरूमा सिधै सम्पर्क गर्ने कुरा पनि असम्भव छ। 'र्यापिड एक्सन टिम’ बनाउने र त्यसले असहजताको अवस्थामा नेपालीलाई सहजीकरण गरेर उद्धार गर्ने कुरामा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु।’
फरक प्रसंगमा बरालले नेपाल आगामी वर्षबाट नेपाल अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि हाल विभिन्न क्षेत्रमा आइरहेका वैदेशिक सहायता रोकिने भएकाले नेपालमै स्रोतको व्यवस्थापन खोज्न अहिल्यैदेखि काम गर्न सरकारको ध्यानाकर्षण गराइन्। यस्तै, उनले नेपालको विदेश नीति असंलग्नताको सिद्धान्त र ‘सफ्ट पावर डिप्लोमेसी’ को मान्यताका आधारमा अघि बढेकाले ‘कल्चरल’ र ‘टुरिज्म’ कूटनीतिमा जोड दिनुपर्ने उल्लेख गरिन्।
बरालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विश्वबजारको आवश्यकताअनुसारको प्रतिस्पर्धी र दक्ष बनाउन र विदेशमा काम गरेर फर्किएका (रिटर्नी) हरूलाई एकीकृत रूपमा लगानी गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्ने काममा लगाउनुपर्नेमा जोड दिएकी छिन्।