१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
२o८२ असार ७ शनिबार २o:२o:oo
Read Time : > 1 मिनेट
समाचार

धनगढी उपमहानगरको बजेट दुई अर्ब ५६ करोड

दलित विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा छात्रवृत्ति दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार २o:२o:oo

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा दलित विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । नगर प्रमुख गोपाल हमालले शनिबार उपमहानगरको १३औँ अधिवेशनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दलित विद्यार्थीलाई ११-१२ कक्षा तथा स्नातक तहसम्म विज्ञान, कानुन, शिक्षा र कृषि विषय अध्ययनमा छात्रवृत्ति दिने उल्लेख गरिएको छ ।

त्यसका लागि ‘दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गर्ने घोषणा भएको छ । यसले धेरै दलित बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि हुने नगरप्रमुख हमालले बताए । आगामी वर्ष ‘दलित अभियन्ता जुठे दमाई‌ं छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिने र त्यसअन्तर्गत ८ देखि १० कक्षासम्म अध्ययनरत दलित छात्रालाई प्रतिछात्रा वार्षिक दुई हजार रुपैयाँसम्मको शैक्षिक सामग्री निःशुल्क दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

दलित समुदायका बालिकाको शिक्षामा पहुँच वृद्धिमा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग कार्यक्रम सुरु गर्न लागिएको नगर प्रमुख हमालले बताए। उपमहानगरले सञ्चालन गर्दै आएको सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम, विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, हाम्रो धनगढी, सफा धनगढी, हर घडी नगर प्रहरी, उज्यालो धनगढीलगायतका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

युवालाई व्यवसायसँग जोड्न गरी रात्रिकालीन बजार 
युवालाई पढाइसँगै आयआर्जनमा जोड्न तथा स्टार्टअप व्यवसायमा संलग्न गराई व्यवसायी बनाउन आवश्यक सिप विकास गराउन उपमहानगरले आगामी वर्षबाट सन्ध्याकालीन बजार सञ्चालन गर्ने भएकाले छ ।

महिलाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले चालू वर्षबाट सञ्चालित शनिबारीय महिला उद्यम बजारलाई पनि आगामी वर्ष निरन्तरता दिने नीति तथा कार्यक्रमा उल्लेख छ।

उपप्रमुख कन्दाकलाकुमारी रानाले उपमहानगरको आगामी आर्थिक वर्ष ०८२-८३ का लागि दुई अर्ब ५६ करोड चार लाख ६६ हजार रुपैयाँको आयव्ययको अनुमान सार्वजनिक गरिन् । त्यसमध्ये चालूतर्फ एक अर्ब ३८ करोड २६ लाख र पुँजीगततर्फ एक अर्ब १८ करोड २९ लाखको बजेट विनियोजन गरिएको छ। 

रानाले उपमहानगरले आगामी वर्ष आन्तरिक आयबाट ५४ करोड ७९ लाख ६७ हजार र राजस्व बाँडफाँटबाट ५७ करोड ६० लाख ६२ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणमा संघतर्फ ९९ करोड ९ लाख र प्रदेशतर्फ ११ करोड २२ लाख ४१ हजार बजेटको स्रोतको रूपमा रहने उपमहानगरको बजेट वक्तव्यमा उल्लेख छ । त्यस्तै, सरी आएको मौज्दात ३३ करोड ३२ लाख ९५ हजार हुने उपप्रमुख रानाले बताइन् ।

स्वास्थ्य, शिक्षा, सरसफाइ, पूर्वाधार निर्माण, उद्यम, सीप विकास, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाहको व्यवस्थापन, विपद् व्यवस्थापनलगायत क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको उनले बताइन । नीति तथा कार्यक्रम र बजेट शनिबार नै नगर अधिवेशनले पारित गरेको उपमहानगरले जनाएको छ ।