
बर्दियाको बारबर्दिया नगरपालिकाले किसानलाई पावल टेलर, मिनी टेलर र सिँचाइ मोटर वितरण गरेको छ । पालिकाले कृषिलाई आधुनिकीकरण गरी किसानको आर्थिक अवस्थामा सुधार गर्नका लािग किसानलाई पावर टेलर, मिनी टेलर र सिँचाइ मोटर वितरण गरेको हो ।
पालिकाप्रमुख छविलाल थारुले पालिकाभित्र बसोबास गर्ने अधिकांश मानिसको मुख्य पेशा कृषि भएकोले उनीहरूलाई कृषियन्त्र वितरण गरिएको बताए । उनले भने, ‘किसानले अझै पनिे परम्पराग रुपमा खेती गर्दै आउनु भएको छ । परम्पराग खेतीलाई आधुनिकीकरण गर्न कृषियन्त्र वितरण गरिएको हो । नयाँ पुस्तालाई कृषि पेशामा जोड्न कृषियन्त्र वितरण गरिएको हो ।’
पालिकाले ८७ वटा पावर टेलर, एक सय मिनी टेलर र ३९ वटा सिँचाइ मोटर वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइँले बताए । उनले भने, ‘पावर टेलरको मूल्य एक लाख ४८ हजार ९ सय र मिनी पावर टेलरको मूल्य ६३ हजार ९ सय तोकिएको थियो । जसमध्ये कृषि उपकरण वितरण गर्दा कृषकहरूले ५० प्रतिशत अनुदान दिइएको थियो ।’
पालिकाले ८७ वटा पावर टेलर र एक सय वटा मिनी टेलर एक करोड ९३ लाख ४४ हजार ३ सय रुपैयाँमा खरिद गरेको कृषि शाखा प्रमुख झलक खड्काले बताए । त्यसैगरी सिँचाइ मोटरका ३९ वटा सिँचाइ ९ लाख ९३ हजार ५ सय रुपैयाँमा खरिद गरेको उनले जानकारी दिए । उनले भने, ‘पालिकाले कृषि उपकरणमा अनुदानका लागि एक महिने सूचना जारी गरेको थियो । किसानले दिएको निवेदनका आधारमा कृषकको सक्रियता, कृषकको व्यावसायिकता र कृषि तथा सहकारीमा भएको आबद्धताका आधारमा उपकरण वितरण गरिएको हो ।’