
उदयपुर प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको संयुक्त टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका– १, रानीटारबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक हरिहरनाथ योगीले बताए ।
चौदण्डीगढी– १, रानीटारनिवासी अन्दाजी वर्ष ४१ की रत्नमाया श्रेष्ठको घरबाट ३५ बोरा प्रतिबन्धित लागुऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो । ३५ वटा बोरामा लुकाइछिपाई राखिएको प्रतिबन्धित लागुऔषध गाँजा ११ सय ४३ केजी २७५ ग्राम रहेको प्रहरीको भनाइ छ । घरमा लुकाइछिपाई राखेको उक्त गाँजासहित घरधनी रत्नमाया श्रेष्ठ र सोही स्थान बस्ने अन्दाजी वर्ष ४२ की कमला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
पछिल्लो समय उदयपुरमा लागुऔषध कारोबारी र प्रयोगकर्ताहरू वृद्धि हुँदै गएका छन्। उदयपुर जिल्लालाई लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाइन्टको रूपमा हेरिने गरिएको छ ।