
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकांक्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेक थरी स्वार्थको टक्कर गर्नेहरूले मोर्चाबन्दी गरेर एमालेका विरुद्धमा लागेर झन्डै दुईतिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताए ।
'भविष्यमा पनि अयोग्य हुने गरी प्रतिक्रियावादीहरूले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे। विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने। यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो।' अध्यक्ष ओलीले भने, 'व्यक्तिगत महत्वाकांक्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन । विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ । आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन । त्यसकारण, हामी मिसन २०८४ मा अघि बढेका छौँ। यसमा जो-जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ।'
उनले देशमा संक्रमणकालमा रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यसअनुसार सक्रिय हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झन्डा बोक्न नछोड्न आग्रह गरे । 'म एमालेको झोले हुँ । यतिभन्दा एमालेको विरोधीहरूलाई चित्त बुझ्छ होला। म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ।' अध्यक्ष ओलीले भने, 'जेमा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्नुस् । ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस् । तपाईंहरू बुद्धि बेचेर खाने वर्ग मात्रै होइन, बौद्धिक वर्ग हो। देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरूको विरोध गर्नुस् । सही विचार बोक्नेहरूलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् ।'
एमालेले राष्ट्रिय एकतालाई सर्वोपरि ठान्ने स्पष्ट गर्दै उनले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वी पथका नाममा राजतन्त्र पुनर्स्थापाको कुरा उठाउनु अप्रसांगिक हुने टिप्पणी गरे।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत सहभागी कार्यक्रममा विभिन्न विधाका बुद्धिजीवीलाई सम्मान प्रदान गरिएको थियो।