
चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का केन्द्रीय सदस्य एवं गान्सु प्रान्तीय पार्टी उपप्रमुख तथा प्रान्तका गभर्नर रिन जेहे नेतृत्वको टोलीसँग बिहीबार भेटवार्ता गरेकी छिन् । गान्सु प्रान्तमा एमाले नेताहरूसहितको प्रतिनिधिमण्डलस्तरीय भेटमा नेपालमा बिआरआई सम्झौता कार्यान्वयन र बुद्धधर्म प्रवद्र्धनबारे छलफल भएको छ ।
शुक्रबार पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपति हान झेङबिच भेटवार्ता हुने कार्यक्रम छ । सभ्यतासम्बन्धी कार्यक्रममा सहभागी हुन गान्सु जाने उपराष्ट्रपति नै पूर्वराष्ट्रपति भण्डारीले यसपटक चीनमा भेट गर्ने उच्च चिनियाँ अधिकारी हुनेछन् । प्रतिनिधिमण्डलमा सहभागी एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबिच शुक्रबार भेटवार्ता हुने तय भएको बताए ।
बेइजिङबाट मंगलबार अपराह्न गान्सु पुगेका उनीहरूले बुधबार र बिहीबार गान्सुको डुनहुवाङमा विभिन्न विकास नमुनाको निरीक्षण गरेका थिए । सोहीअनुसार बिहीबार अपराह्न पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ नेताहरूको भेट भएको हो । थापाका अनुसार भेटमा चिनियाँ नेताले बिआरआई कार्यान्वयन बेइजिङस्थित केन्द्र सरकारबाट भएको र यसमा सिंगो चीन एक रहेको बताएका थिए ।
नेपालसँगको सांस्कृतिक सम्बन्धलाई चीनको गान्सु प्रान्तले निकै महत्व दिएको उनको भनाइ थियो । उनले बिआरआई फ्रेमवर्क एग्रिमेन्टअन्तर्गतका परियोजना कार्यान्वयनमा चीन प्रतिबद्ध रहेको बताएका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले नेपालको व्यापार घाटा कम गर्ने विषयमा पाँच वर्षअघि राष्ट्रपति सी जिनपिङसँग भएको कुराकानीको स्मरण गराएकी थिइन् । भेटमा सांस्कृतिक आदानप्रदान, चिकित्सा शिक्षाको सम्भावना, लुम्बिनीको प्रवद्र्धनलगायत विषयमा पनि छलफल भएको थापाले बताए ।