१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:२३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तीनकुने घटनामा १०८ विरुद्ध मुद्दा सिफारिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२३:oo

संगठित अपराध, ज्यानसम्बन्धी कसुर, आपराधिक उपद्रव र राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउन सिफारिस, आइतबार अदालतमा मुद्दा दर्ता गरिने

दुई महिनाअघि काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित घटनामा १०८ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी परिसर, काठमाडौंले सिफारिस गरेको छ । प्रहरीका अनुसार उनीहरूमाथि संगठित अपराध, ज्यानसम्बन्धी कसुर, आपराधिक उपद्रव र राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउन सिफारिस भएको छ । 

गत १५ चैतको घटनामा प्रहरीले राप्रपाका नेतासहित १०८ जनाको संलग्नता औँल्याएको छ । ‘१०८ जनालाई मुद्दा चलाउन सिफारिस गरेका छौँ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले भने, ‘जसमा ९० जनालाई अदालतमा उपस्थित गराउँछौँ, १८ जना फरार छन् ।’

उनका अनुसार ४३ जनाविरुद्ध संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय छ । घटनामा संलग्न रहेको भनिएका ९० जनाको प्रहरीले बयान लिएको थियो । तीमध्ये कतिपय हाजिरी जमानीमा छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा तथा व्यवसायी दुर्गा प्रसाईंलाई सो घटनाका योजनाकारका रूपमा प्रहरीले अभियोजन गर्न प्रस्ताव गरेको छ । प्रसाईं थुनामै छन् भने मिश्र र राणा हाजिरी जमानीमा छुटेका छन् । 

पत्रकार सुरेश रजकको हत्यामा संलग्न रहेको भन्दै सातजनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ । रिपोर्टिङमा गएका पत्रकार रजकको तीनकुनेको एक घरमा प्रदर्शनकारीले आगो लगाउँदा जलेर मृत्यु भएको थियो । अर्का एक सर्वसाधारणको भने प्रहरीको गोलीबाट मृत्यु भएको थियो । सो घटनामा गोली लागेका कतिपय घाइते अझै अस्पतालमै छन् । 

प्रदर्शनकारीले स्थानीय घर तथा पसलमा तोडफोड र लुटपाटसमेत गरेका थिए । प्रहरीले पक्राउ गरेर बयान लिएका कतिपयको हकमा भने मुद्दा नचलाउन प्रहरीले राय दिएको छ । 

सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले प्रहरीको प्रतिवेदन प्राप्त भएको र आइतबार अदालतमा मुद्दा दर्ता गरिने बताए । संगठित अपराधसम्बन्धी मुद्दामा प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ । सोही म्याद सकिन लाग्दा अनुसन्धान प्रतिवेदन बुझाइएको हो । उता, व्यवसायी प्रसाईंविरुद्ध बैंक कर्जा दुरुपयोगको आरोपमा उच्च अदालतमा छुट्टै मुद्दा दायर गर्ने तयारी भइरहेको जनाइएको छ ।