
उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २२ चैतदेखि हिरासतमा छन् । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा एक करोड धरौटीमा रिहा गर्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्चका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले थुनामा पठाउने आदेश गरेपछि उनी हाल जिल्ला कारागार भैरहवामा पूर्पक्षका लागि थुनामा छन् । रवि भैरहवा थुनामा बसेको ५० दिन बितिसकेको छ । यो आदेशविरुद्ध उनकी पत्नी निकिता पौडेलले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । तर, पटक–पटक पेसी सारेर ढिलो गरी शुक्रबार सुनुवाइ सकेको सर्वोच्चले रविलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । अब उनी जिल्ला अदालतबाट मुद्दा नटुंगिएसम्म थुनामै रहनेछन् ।
यसका साथै पछिल्ला ५० दिनमा रविविरुद्ध जाहेरी दिएको भनिएका पीडितले एकपछि अर्काे गर्दै आफ्नो नाम दुरुपयोग गरेर प्रहरीले जाहेरीपत्रमा राखेको भन्दै असन्तुष्टि जनाइरहेका छन् । रास्वपालगायत विपक्षी सांसदले मुद्दामाथि मुद्दा थोपरेर राज्यले प्रतिशोध साँधेको टिप्पणी संसद्मै गरिरहेका छन् । हुन त त्यसअघि २ कात्तिकमा पक्राउ परेर अनुसन्धानका लागि भन्दै लामिछानेलाई ८४ दिन प्रहरी हिरासतमा राखिएको थियो । जिल्ला अदालत पोखराको आदेशले २५ पुसमा धरौटीमा रिहा भएका लामिछाने झन्डै तीन महिनामा फेरि पक्राउ परेर हाल बन्दी जीवन बिताइरहेका छन् । कारागार प्रशासनका अनुसार उनलाई ब्लक नम्बर ४ को हिरासत कक्षमा राखिएको छ ।
बिहानको समयमा गर्छन् व्यायाम
कारागार प्रशासनका अनुसार लामिछाने बिहान सबेरै उठ्छन् । हिरासत कक्षभित्रै करिब एक घण्टा शारीरिक व्यायाम गर्छन् । त्यसपछि खाजा लिन्छन् । खाजामा रोटी, तरकारी, फलफूल खान्छन् । दिउँसो खानामा दालभात नै लिन्छन् । खाजा र खाना कारागारभित्रै बन्ने गर्छ । साँझ पनि एक्सरसाइज गर्छन् । साँझ रोटी र अन्य खानेकुरा खान्छन् ।
अधिकतम समय अध्ययनमा केन्द्रित
कारागार प्रशासनका कर्मचारीका अनुसार सभापति लामिछानेको अधिकतम समय अध्ययनमै बित्ने गरेको छ । ‘एकदम अध्ययन गरिरहनुभएको छ । हेल्दी छु, प्लानिङ गरिरहेको छु भन्नुहुन्छ,’ एक कर्मचारीले भने, ‘बेलुका समयमै सुत्नुहुन्छ ।’ सभापति लामिछानेको सचिवालयका अनुसार संविधान, ऐन, नियम, नियमावली, निर्देशिका, कार्यविधि अध्ययन गरिरहेका छन् । कारागारमा पत्रिकाहरू आउँदैनन् । टेलिभिजन, रेडियो, अनलाइन पोर्टल हेर्ने सुविधा छैन । दस्ताबेजहरू पढ्नमै केन्द्रित भएको सचिवालय बताउँछ । त्यसैले लामिछानेको कक्षमा किताबको चाङ नै छ । लामिछानेले नेपाल इन द लङ १९५०, नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष, दिस ग्रेस नोबेलजस्ता पुस्तक अध्ययन गरिरहेका छन् । अध्ययनका साथै लामिछानेले डायरी पनि मेन्टेन गरेका छन् । यसअघि लामिछानेको डायरी प्रहरीले खोसेर गायब पारेको थियो ।
सचिवालयका एक सदस्य भन्छन्, ‘शुभचिन्तकहरू भेट्ने भनेर इच्छा जाहेर गर्नुहुन्छ । तर, भेटिरहनुभएको छैन । यो समय प्रोडक्टिभ बनाउने भन्ने छ । सभापतिज्यूले मन्त्रालयका ऐन, नियम, नियमावली, कार्यविधि हेरिरहनुभएको छ । सुधार गर्नुपर्ने कुरा पोइन्ट आउट गरिरहनुभएको छ । पुस्तकहरू पढिरहनुभएको छ । पार्टीको विधान पनि फेरि मसिनो गरी हेरिरहनुभएको छ ।
देश विकासको भावी रणनीति चिन्तन गर्ने, ज्ञानको दायरा बढाउन केन्द्रित हुनुहुन्छ ।’ उनका अनुसार भेट्न आउनेले पनि पुस्तक ल्याइदिने गरेका छन् ।
भेट्न आउनेलाई भन्छन्– देशका लागि केही गर्नुपर्छ
लामिछानेलाई भेट्न चाहने शुभचिन्तक थुप्रै छन् । सामान्यतया लामिछाने ३–४ बजेपछि शुभचिन्तक भेट्ने गर्छन् । भेटमा देशका लागि केही गर्नुपर्छ भन्ने गर्छन । ‘ठिक छ । सञ्चै छु । अध्ययन गरिररहेको छु । किताब र राजनीतिसम्बन्धी दस्ताबेज पढिरहेको छु । पार्टी, देश चलाउने योजना बनाइरहेको छु । देश खत्तम भइसक्यो । देशका लागि केही गर्नुपर्छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै कारागारका कर्मचारीले भने । उनका अनुसार अहिले पनि भेट्ने शुभचिन्तक सचिवालयमार्फत आइरहेका छन् । भिआइपी, नेताहरू, अति आवश्यक व्यक्तिहरू भने जतिवेला आएर भेटिरहेका छन् । लामिछाने बसेको ब्लक बाहिर भएकाले अन्य कैदीसँग उनको भेट हुँदैन । कारागार प्रशासनका अनुसार सुरुवाती दिनमा लामिछानेलाई भेट्न देशैभरिबाट शुभेच्छुक आएका थिए । ‘अहिले अलि कम भएको छ । दिनमा दुई–तीनजना आइरहेका छन् । सभापतिको टिमसँग समन्वय गरेर आउनुहुन्छ,’ ती कर्मचारीले भने । उनका अनुसार सभापति लामिछानेको आत्मविश्वास बलियो छ । ‘म ठिक छु । राम्रो गर्नुहोला । चिन्ता नगर्नू । म ठिक छु । बसाइ ठिक छ,’ भनिरहेका छन् ।
जनयात्रा नरोक्न लामिछानेको आग्रह
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार सभापति लामिछानेले आफू पक्राउ पर्दा रोकिएको पार्टीको जनयात्रालाई निरन्तरता दिन भनेका छन् । श्रेष्ठ जनयात्राका संयोजक हुन् । भैरहवा कारागार पुगेका श्रेष्ठलाई लामिछानेले जनयात्रालाई निरन्तरता दिन, राज्यबाट भएका बेथिति र प्रतिशोधपूर्ण व्यवहार जनतालाई बुझाउन, जनताका समस्या सुनेर सडक र सदनमार्फत आवाज उठाउन निर्देशन दिएका थिए । सभापतिको निर्देशनअनुसार जनयात्राको तयारी द्रुत गतिमा भइरहेको र जेठ तेस्रो सातादेखि पुनः प्रारम्भ गरिने श्रेष्ठले बताए ।
‘राज्य लागेको जनताले बुझ्दै छन्’
पछिल्लो समय लामिछानेविरुद्ध जाहेरवाला बनाइएका सहकारीपीडितले थाहै नदिई जाहेरीमा आफ्नो नाम राखेर दुरुपयोग गरेको भन्दै आपत्ति जनाइरहेका छन् । उनीहरूले कसैलाई प्रतिशोध साध्नका लागि आफ्नो नाम दुरुपयोग नगर्न र बचत फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराइरहेका छन् । यस सन्दर्भमा लामिछाने राज्यले आफूमाथि साधेको प्रतिशोध जनताले बल्ल बुझ्न थालेको निष्कर्षमा पुगेका छन् । ‘व्यक्तिका रूपमा मैले दुःख पाएँ । तर, जनताले बिस्तारै बुझिरहेका छन्, राज्य लागेको कुरा बुझ्छन् । बुझ्नलाई समय लाग्छ’ भन्ने गरेका छन् ।
अन्याय भएको भन्दै कारागारमै पुगे मिटरब्याजपीडित
रवि लामिछाने आफैँ राज्यले मुद्दामाथि मुद्दा लगाउँदा कानुनी झमेलामा छन् । उनी राज्यको प्रतिशोधमा परेको भनिरहेका छन् । तर, मिटरब्याजपीडित किसान मजदुर राज्यबाट अन्याय भएको भन्दै न्याय माग्न लामिछानेलाई भेट्न कारागारमै पुगेका छन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नवीनसहितको टोलीले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेको छ । भेटमा टोलीले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो गरेका थिए । गृहमन्त्रीका रूपमा रवि लामिछानेले गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरूको गुनासो थियो ।
जवाफमा लामिछानेले नआत्तिन र एक भएर अघि बढ्न आग्रह गरे । पीडितबिच राजनीति हुन नहुने भन्दै उनले न्यायको लडाइँ एक दिन अवश्य जितिने बताए । ‘धनी र गरिबबिचको लडाइँ लामो चल्छ । जित न्यायको हुन्छ, तर धैर्य गर्नुपर्छ, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ ? सुन्नुपर्छ, सुन्छ । यो नभए अर्कोले सुन्छ । त्यतिन्जेल तपाइँहरूबिच फाटो आउन भएन । एक भएर लड्नुपर्छ । मलाई हेर्नुस् त मेरो स्वार्थ के छ ? जनताकै लागि लड्दा यो दुःख पाएको छु । न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाईंहरूले पाएको दुःख न्याय पाउनुअघिको हो । नआत्तिनुस्,’ उनले भने ।
अन्य दलका नेता, जसले कारागारमै पुगेर भेटे
कारागार प्रशासनको अभिलेखअनुसार विभिन्न दलका नेता लामिछानेलाई भेट्न भैरहवा पुगिरहन्छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत अध्यक्ष सिके राउत, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भेटिसकेका छन् । एमाले सांसद वासुदेव घिमिरे, माओवादी सांसद माधव सापकोटा पनि लामिछानेलाई भेट्न पुगेका छन् । तर, कांग्रेसका कोही पनि भेट्न आएको रेकर्ड छैन । यसअलावा पार्टीका उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सोविता गौतम र हरि ढकाल लामिछानेलाई भेट्न पुगेका छन् ।
भेट्न आएका नेतासँग लामिछानेले राज्यको व्यवहार र सहकारीपीडितले बचत फिर्ता नपाएको अवस्थाप्रति दुःख व्यक्त गर्ने गर्छन् । न्यायालयबाट न्याय पाउने बलियो आत्मविश्वास लामिछानेमा छ । ‘उहाँले ठ्याक्कै भनेको केभन्दा पछिल्लो जुन थुना भयो, जुन प्रक्रियाले प्रहरी प्रस्तुत भयो, एकदम पूर्वाग्रही ढंगले देखिन्छ । अदालतले आदेश गर्न भ्याएको छैन, पुर्जी जारी भएको छैन, प्रहरीले आफैँ पुर्जी जारी गरेर पक्राउ गर्यो, त्यो पनि ओछ्यानसम्म पुगेर । त्यति मात्र होइन, तपाईंको अन्तिम इच्छा के छ ? जस्ता प्रश्न गरियो । उहाँले त्यसमा दुःख व्यक्त गर्नुभयो । पटक–पटक पेसी सरिरहेकोमा पनि गुनासो थियो,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने । एउटा राजनीतिक पार्टीको सभापतिलाई सरकारले पूर्वाग्रही ढंगले व्यवहार गरेको र त्यसविरुद्ध आफूहरूले अरू वेला पनि आवाज उठाइरहेको लिङ्देनको टिप्पणी छ । ‘कतिपय कानुन व्यवसायी, पूर्वन्यायाधीशहरूको धारणा लामिछानेमाथि भइरहेको व्यवहार जायज छैन भनेर सार्वजनिक भइसकेको छ । हाम्रो पनि धारणा त्यही हो,’ उनले भने । बन्दी प्रत्यक्षीकरण रिटमा पेसी सारिनु पनि स्वाभाविक नभएको उनको तर्क छ । ‘यो भनेको त अब तत्काल न्यायका लागि गरिएको गुहार हो । यस्तो विषय धेरै दिनसम्म सार्नु, टार्नु, अनुचित छ,’ उनले भने, ‘अहिले जे प्रक्रियाबाट उहाँमाथिको मुद्दा अगाडि बढ्यो, जिबी राईमाथि पनि अब जुन मुद्दा लाग्नेवाला छ, जिबी राई आउँदा पनि सहकारीपीडितले रकम पाउन सक्ने सम्भावना कम भयो । प्रतिशोध साध्ने मात्रै काम भयो ।’
लामिछानेले पीडितले बचत फिर्ता नपाएको र मुद्दाको प्रक्रिया गिजोलिएकोमा असन्तुष्टि जनाएको उनले सुनाए । ‘पीडितको बचत फिर्ता गर्नेतर्फ सरकारको ध्यान केन्द्रित नभएको, दीर्घकालसम्म बचत फिर्ता हुन नसक्ने बाटोतर्फ मुद्दा गिजोलेर लगियो भन्ने उहाँको चिन्ता थियो,’ उनले भने ।
जनमतका अध्यक्ष सिके राउतले त कारागारको दयनीय अवस्था देखेर लामिछानेलाई काठमाडौं सर्न सुझाव दिएका थिए । ‘मूल रूपमा मलाई भौतिक अवस्था दयनीय लाग्यो । कोठाभित्र बन्द राखेको अवस्था छ । एउटा राजनीतिक बन्दी, २१ सिटको दलको नेतालाई थुनेर राख्नु उचित लागेन,’ उनले भने, ‘त्यहाँ हत्या, कुटपिटजस्ता अपराध गर्ला भनेर राख्ने हो । उहाँलाई एउटा कोठामा राखिएको छ । त्यहाँ एक्लै भइयो । ठिक लागेन । यहाँबाट सरुवा गरेर डिल्लीबजार कारागार आउनुस् राजनीतिक भेटघाट हुन्छ भनेको हुँ ।’ तर, लामिछानेले भैरहवाबाटै कानुनी लडाइँ लड्ने र न्याय पाएर फर्किने बताएको राउतले सुनाए । ‘उहाँले प्रतिशोध भइराखेको छ, राज्य लागेपछि कस्तो हुन्छ, केसम्म हुन्छ देखियो भन्नुभयो । नयाँ शक्तिहरूलाई संकट नै छ । राज्य नियोजित रूपमा लागेको छ । आ–आफ्नो ठाउँबाट लागौँ भन्नुभयो,’ राउतले सुनाए, ‘केही निकास निस्किन्छ कि भनेर सोधेँ, ‘उहाँ कानुनी लडाइबाट निकास आउँछ भन्नेमा विश्वस्त हुनुहुन्छ ।’
माओवादी सांसद माधव सापकोटा उच्च मनोबलका साथ लामिछाने कानुनी लडाइँ लडिरहेको र न्यायको प्रतीक्षा गरिरहेको बताउँछन् । सापकोटाअनुसार कोभिडको वेलामा बिरामीलाई आइसोलेसनमा राखिएको सेन्टरमा लामिछानेलाई राखिएको छ । जहाँ अत्यन्त गर्मी छ । त्यहाँको बसाइप्रति लामिछाने सन्तुष्ट नपाएको उनको अनुभूति छ । ‘उहाँले मलाई फसाइएको हो, निर्दाेष छु । कानुनी उपचार खोजेर लड्छु भन्नुभयो । मैले कानुनी लडाइँमा गएपछि अदालतको विश्वास गर्नुको विकल्प छैन । हामी साथमै छौँ भनेर बिदा भए,’ सापकोटाले सुनाए ।
एमाले सांसद वासुदेव घिमिरेले पनि कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई कारागारमै पुगेर भेटेका छन् । उनले भने, ‘म यही जिल्लाको प्रतिनिधि भएको र उहाँ भैरहवामै थुनामा रहेकाले मानवताको आधारमा कर्तव्य सोचेर भेट्न गएको हुँ । कारागारमा उहाँलाई कसरी राखिएको छ, उहाँसँग गर्ने व्यवहार कस्तो छ इत्यादि बुझ्ने सिलसिलामा गएको थिए ।’ त्यस क्रममा जेलरसँग सामान्य जानकारी लिएको उनले बताए । ‘जेलरले सकेको राम्रो गरिरहेको बताएका थिए । उहाँ (रवि)सँग पनि तपाईलाई गाह्रो साह्रो के छ ?, जेलरले गर्ने व्यहोरा छ ? भनेर जिज्ञासा राखेको थिए । म यहीको जनप्रतिनिधि हुँ, केही भए मलाई भन्दा हुन्छ, पार्टी फरक भए पनि केही छैन भनेको छु । भेटमा उहाँको उच्च आत्मबल पाएँ । अन्यायमा परे, सर्वाेच्च अदालतले न्याय गर्छ भन्ने उहाँको भनाइ थियो । मैले एउटा साथीको हिसाबले भेटेर आएको हो । लामो कुरा केही भएन ।’
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी लामिछाने उच्च मनोबलमा रहेको बताउँछन् । ‘उहाँ उच्च मनोबलमै हुनुहुन्छ । प्रतिशोध गरिएको हो । सहकारीमा म सदस्य होइन, म कम्पनीको एमडी थिए । पारिश्रमिकबापत कम्पनीमा इक्विटी सेयर मात्रै हो । खर्चचाहिँ मेरो हस्ताक्षरबाट भएको छ । तलब गएको छ । सामान खरिद गरिएको छ । तर, पैसा ल्याउने म होइन जिबी राई हो । यो सबै उसैले गरेको हो, ऊ थुनामा परेको छैन । प्रतिशोध हो भन्नुभयो,’ त्रिपाठीले भने, ‘मनोबल गिरेको छैन ।’ सहकारीमा हिनामिना गर्ने ७० प्रतिशत कांग्रेस एमालेकै नेता–कार्यकर्ता देखिएको र तिनीहरूलाई जोगाउन राज्यले लामिछानेलाई मोहरा बनाएको उनको बुझाइ छ । ‘यहाँ के देखियो भन्दा सहकारीमा हिनामिना गर्ने ७० प्रतिशत कांग्रेस एमालेकै रहेछन् । तर, अब तिनीहरूलाई जोगाउन रविको नाम मात्रै फैलाइदिए र उनी एक मात्र घोटाला गर्ने मान्छे हो भनेर भाष्य तयार गरिदिए । यसबाट आफ्नोलाई जोगाउन सजिलो हुन्छ । भित्र यस्तो कुरा छ,’ उनले भने ।
लामिछानेसँग नियमित सम्पर्कमा रहेका रास्वपा उपसभापति डिपी अर्याल सभापतिको मार्गनिर्देशनअनुसार पार्टीका गतिविधि निरन्तर अगाडि बढाइरहेको बताउँछन् । ‘पार्टीको संगठनको विषयमा सभापतिज्यूसँग अपडेट भइरहेको छ । देशभर कार्यक्रम गरिरहेका छौँ, संगठन विस्तार गरिरहेका छौँ,’ उनले भने ।