
- प्रहरीको अनुसन्धानबाट तत्कालीन अध्यागमन अधिकृत विमल पौडेलले दैनिक तीन सयजनालाई सेटिङमा भिजिट भिसामा पठाएको र दैनिक पाँच लाख रुपैयाँ रकम उठाउने गरेको भेटिएको थियो । यद्यपि, काठमाडौं जिल्ला अदालतले उनीविरुद्धको प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो । भिजिट भिसामार्फत मानव तस्करीको गम्भीर आरोप लागेका पौडेललाई रमेश लेखकले गृहमन्त्री बनेपछि सचिवालयमा तानेका छन् ।
- गृहमन्त्री लेखकको सचिवालयमा नै रहेका अर्का अधिकृत गणेशदत्त ओझा पनि भ्रष्टाचार मुद्दा लागेका कर्मचारी हुन् । कैलालीको मोहन्याल गाउँपालिकामा प्रमुख प्रशासकीयका रूपमा नीतिगत निर्णय गरेर गैरकानुनी रूपमा ५४ लाख राजस्व छुट दिएको आरोपमा अख्तियारले उनलाई प्रतिवादी बनाएको थियो । तर, पछि उनले सफाइ पाए ।
भिजिट भिसाका नाममा मानव तस्करीमा जोडिएको अभियोगमा मुद्दा खेपिसकेका अध्यागमन अधिकृत नै अहिले गृहमन्त्री रमेश लेखकको सचिवालयमा छन् । उनको सचिवालयमा रहेका शाखा अधिकृत विमल पौडेलसहित नौ अध्यागमन अधिकृतविरुद्ध सरकारी लिखत किर्ते र संगठित अपराधसम्बन्धी कसुरमा १८ माघ ०८० मा काठमाडौं जिल्ला अदालतमा प्रहरीले मुद्दा दायर गरेको थियो । मुद्दामा सफाइ पाएर पुनः गृहमै फर्किएका उनलाई लेखक गृहमन्त्री बनेपछि सचिवालयमा तानेका थिए । मन्त्रीकै सचिवालयमार्फत अध्यागमनमा भिजिट भिसाको सेटिङ चलेको सूचनाका आधारमा अख्तियारले छानबिन गरिरहेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेपछि थप अनुसन्धानसहित जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा चलाएको थियो । प्रहरीको अनुसन्धानबाट दैनिक तीन सयजनालाई सेटिङमा भिजिट भिसामा पठाइएको र दैनिक पाँच लाख रुपैयाँ रकम उठाउने गरेको भेटिएको थियो । यद्यपि, काठमाडौं जिल्ला अदालतले उनीविरुद्धको प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।
पौडेल विवादित कर्मचारी हुन् । उनी पूर्वगृहसचिव महेश्वर न्यौपानेको सिफारिसमा विमानस्थलस्थित अध्यागमन पुगेका थिए । अध्यागमन जानुअघि न्यौपानेको निजी सचिवसमेत थिए । त्यतिखेर अदालतमा मुद्दा दायर गरेपछि प्रहरीले पौडेलसहितका अध्यागमन अधिकृतहरूको सम्पत्ति छानबिन गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरेको थियो । तर, यसबारे अख्तियारले कुनै कारबाही अघि बढाएन । स्रोतका अनुसार पौडेल अहिले गृह मन्त्रालयमा हर्ताकर्ता छन् ।
गृहमन्त्री लेखकको सचिवालयमा नै रहेका अर्का अधिकृत गणेशदत्त ओझा पनि भ्रष्टाचार मुद्दा लागेका कर्मचारी हुन् । नीतिगत निर्णय गरेर गैरकानुनी रूपमा ५४ लाख राजस्व छुट दिएको आरोपमा अख्तियारले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसहित १४ विरुद्ध मुद्दा दायर गरेको थियो । २ वैशाख ०७९ मा दायर गरेको मुद्दामा ओझा पनि प्रतिवादी थिए । प्रमुख प्रशासकीयका रूपमा भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा अख्तियारले उनलाई प्रतिवादी बनाएको थियो । अख्तियारले मुद्दा चलाउँदा उनी त्यहाँबाट सरुवा भइसकेका थिए । तर, पछि उनले मुद्दामा सफाइ पाए । यसले गृहमन्त्री लेखकले विवादित कर्मचारीलाई च्यापेको देखाउँछ । उनी अहिले गृह मन्त्रालयको हर्ताकर्ता गनिन्छन् ।
भिजिट भिसाको सेटिङ गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले ५ कात्तिक ०७६ मा पनि १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, यसमा पनि अधिकांशले सफाइ पाए ।
अख्तियारले रकमसहित समाउने तयारी गर्दागर्दै उम्किएका थिए विमानस्थल अध्यागमन प्रमुख भट्टराई
दोस्रो व्यक्तिको खाता प्रयोग गरेर तस्करीको अवैध रकम बुझ्थे भट्टराई
अख्तियारले नियन्त्रणमा लिएका त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराई आफूमाथिको जोखिम टार्न सफल भएको खुलेको छ । विमानस्थल अध्यागमनमा कर्मचारीको मिलेमतोमा सेटिङ धन्दा मौलाएको उजुरी अख्तियारमा गत आइतबार परेको थियो । यसपछि अख्तियारले यस विषयमा प्रारम्भिक रूपमा बुझ्न थालेको थियो । यसक्रममा उजुरीसँग सम्बन्धित आवश्यक प्रमाण जुटाउन अख्तियारले टोली नै गठन गरेर खटाएको थियो । सेटिङको केन्द्रमा कार्यालय प्रमुख भट्टराई नै रहेको स्पष्ट भेउ पाएको अख्तियार उनलाई नै पछ्याइरहेको थियो । अख्तियारलाई सूचना थियो– भट्टराईले कोही व्यक्तिमार्फत रकम बुझ्न लागेका छन् ।
रंगेहात पक्राउ गर्न अख्तियारले टोली परिचालन गरेको थियो । तर, एकाएक सूचना ‘लिक’ भयो । अख्तियारले सिधै पक्राउ गर्ने तयारी गरिरहेको सूचना पाएपछि गृह मन्त्रालयले अपर्झट उनको सरुवा गरिदिएको थियो । गृहले एक्कासि भट्टराईको सरुवा गर्नुलाई धेरैले आश्चर्य मानेका थिए । गृहले सरुवा गरिदिएपछि भोलिपल्ट बुधबार अख्तियार टोलीले भट्टराईलाई कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । अहिले उनका सबै कम्प्युटरलगायतका डिभाइस नियन्त्रणमा लिएर सोधपुछपछि हाजिरी जमानीमा छाडिएको छ ।
उता अख्तियारले छानबिन अघि बढाएपछि बिहीबार गृहले केही नायब सुब्बा र कम्प्युटर अपरेटरहरूको सरुवा गरेको छ । स्रोतका अनुसार एमालेनिकट कर्मचारीलाई छानीछानी सरुवा गरिएको छ । सेटिङको समूहमा आबद्ध र कांग्रेसनिकट ट्रेड युनियनका कसैलाई पनि हटाइएको छैन ।
दोस्रो व्यक्तिको खाता प्रयोग गरेर तस्करीको अवैध रकम बुझ्थे भट्टराई
अनुसन्धानमा संलग्न स्रोतका अनुसार भिजिट भिसामार्फत तस्करी गरेबापत प्राप्त रकम भट्टराई आफैँले सिधै भने बुझ्दैनथे । यसका लागि दोस्रो व्यक्तिको खाता उनले प्रयोग गर्ने गरेको भेटिएको छ । ती व्यक्ति निजामती कर्मचारी नभएर बाहिरको भएको स्रोतको दाबी छ । उनलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
चारजना पक्राउ, कम्प्युटर, मोबाइललगायत डिभाइसको ‘फरेन्सिक’ परीक्षण हुँदै
हालसम्म अख्तियारले खगेन्द्र सुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेतलाई पक्राउ गरेको छ । उनीहरू कर्मचारी वृत्तबाहिरका हुन् । सेटिङमा उनीहरूको भूमिका देखिएको दाबी स्रोतको छ । त्यस्तै, अख्तियारले नियन्त्रणमा लिएका कम्प्युटर, मोबाइललगायतका डिभाइस फरेन्सिक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।
अध्यागमन विभाग र गृहको उच्च तहसम्मै पुग्थ्यो तस्करीको अवैध रकम
अख्तियार स्रोतका अनुसार भिजिट भिसामा मानिसहरूलाई बाहिर पठाएबापतको सेटिङमा अध्यागमन कार्यालय, विभागदेखि गृह मन्त्रालयसम्मै संलग्न छ । यसमा विभिन्न तहमा तल्लोदेखि माथिल्लो तहका कर्मचारी तथा मन्त्रीको टिमसम्म रकम पुग्दै आएको छ ।