
वैज्ञानिक महावीर पुनले बुधबार दिउँसो फेसबुकमा पोस्ट गरे, ‘ऊर्जामन्त्रीजस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ । त्यस्तो दुष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो । तर, उनीहरूले हटाउने छाँटकाँट देखिएन । बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो ।’
बिन्दास शैलीका महावीर पुनको यो निष्कर्षपूर्ण पोस्टले अहिले नेपाली समाजको आममनोविज्ञानको प्रतिनिधित्व गर्छ । पछिल्लो समय देशभित्र र बाहिरका जनताको आवेगपूर्ण प्रतिक्रिया हामी कसैको नजरबाट बाहिर छैन । सिड्नीको नेपाली कन्सर्ट नारामा टुंगिन्छ, ‘... चोर देश छोड् ।’ फागु पूर्णिमाको सुखद जमघटमा वसन्तपुरमा जम्मा भएको युवा जमात अचानक कुर्लन्छ, ‘... चोर देश छोड् ।’ खेलको समापन हुँदानहुँदै रंगशालामा उही नारा गुन्जिन्छ, ‘... चोर देश छोड् ।’ दुबईको शुद्ध नेपाली भेटघाट कार्यक्रम अन्तिममा त्यही नारामा पुग्छ, ‘... चोर देश छोड् ।’ अब महावीर पुनसम्मलाई लाग्न थाल्यो, जनताको विरोध होइन, विद्रोहले मात्रै लोकतन्त्र जोगिन सक्छ । नेतातन्त्र कुहिसक्यो र त्यसले जनताका बिचमा सबै वैधता गुमाइसक्यो भन्ने थाहा पाउन हाम्रा नेताले अरू के–के देख्नु र सुन्नुपर्छ ?
देशभित्र र बाहिर गुन्जिरहेको मुर्दावाद कुनै पनि दिन एकीकृत भएर यिनीहरूका ढोकामा बज्रिँदै छ । तर, आधुनिक निरोहरू अझै पनि माफियालाई स्टक एक्सचेन्ज र डिजिटल बैंक बेच्न हिँडिरहेकै छन् । बिजुलीको बक्यौता माफ गर्न प्रयास गरिरहेकै छन् । गिरिबन्धु पचाउन लागिरहेकै छन् । प्रधानमन्त्रीविरुद्धका नारा सत्ताको दुरुपयोग अनि राजनीतिक विश्वासघातविरुद्ध जनताका निर्णायक चीत्कार हुन् । यी नाराको सन्देश र संकेत बुझ्न नेतातन्त्रसँग अब समय पनि छैन । सायद जरुरी पनि छैन ।
सत्तासीनहरू तीनकुने र दुर्गा प्रसाईंको पोस्टरमा आफ्ना अपराध लुकाउन चाहन्छन् । तर, अपराधहरू यति विस्तृत र संगीन भइसकेका छन् कि जनता यिनलाई दण्डित गर्न जोसँग पनि हात मिलाउने डरलाग्दो ठाउँमा पुग्दै छन् । कुलमान, रवि, हर्क वा बालेनले आजका दिनमा थोरै भए पनि आशाको प्रतिनिधित्व गर्छन्, त्यसैले ओलीहरूलाई यी सबैसँग समस्या छ । भ्रम नै सही, हाम्रो नयाँ पुस्तालाई देशसँग जोड्न सक्ने आशाका प्रतीकलाई हेप्ने र घेराबन्दी गर्ने हक यिनीहरूलाई कसरी हुन्छ ? यिनीहरूले सिंगो निजामतीतन्त्रको नांगो पार्टीकरण गर्न पाउने, तर बालेनले आफूसँग लय मिल्ने एउटा कार्यकारी पनि नपाउने ?
माफियातन्त्रका अगाडि नेतातन्त्र कति कमजोर र निर्लज्ज भइसकेको छ भने माफियालाई आवश्यकता पर्दा यसले शत्रु होइन, आफ्नै सन्तानको पनि बलि दिन्छ । असगर अलीको ‘एम्बिसन गुरु’का लागि शिक्षामन्त्री विद्या भट्टराईको बलि यो देशमा माफिया नै सर्वोपरि भएको पछिल्लो सानो प्रमाण हो । अतीत जे–जस्तो भए पनि डेडिकेटेड बिजुलीको बक्यौता उठाउनुपर्छ भनिरहेका ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङको अत्यन्त अपमानपूर्ण बर्खास्तगीमा शेरबहादुर देउवाको निःसर्त समर्थनले देखाउँछ, देश नेताले होइन, माफियाले चलाइरहेको छ ।
मुलुकको आर्थिक सत्तामा अब माफियाको प्रभाव मात्र छैन, सम्पूर्ण कब्जा छ । एउटा शक्तिशाली आयोग बन्यो भने देशले थाहा पाउनेछ, एउटै घरानाले कतिवटा जीवन र निर्जीवन बिमा चलाइरहेको छ, कतिवटा बैंक र वित्तीय संस्था कब्जा गरिरहेको छ । रिइन्स्योरेन्स र सेबोनका घटनाक्रम त धेरथोर बाहिरिएका छन् । सत्य के हो भने नेतातन्त्रले आर्थिक रूपमा हामी मात्र होइन, हामीपछिको पुस्तालाई पनि माफियालाई बेचिसकेको छ । अझै यिनैको स्कर्टिङमा हिँड्न, यिनैलाई माला लगाउन र यिनैको प्रतिरक्षा गर्न तत्परहरूले एकपटक सन्तानको भविष्य सम्झने समय आएको छ । गाउँमा नेतातन्त्रको अन्तिम पिल्लर थिए, शिक्षकहरू । तिनको सदस्यताको भाउ कति हो, सरकारले देखाइदियो । शिक्षक मात्र होइन, कसैले पनि अब पार्टी सदस्यता नत्यागी नागरिकका रूपमा आत्मसम्मान प्राप्त गर्न सक्दैन, न आफ्ना सन्तानमाथि न्याय गर्न सक्छ । त्यो सदस्यताको शक्ति नेतातन्त्रले माफियालाई जिम्मा लगाइसकेको छ ।
नेता वा पार्टीसँग आन्दोलनको वैधता हुन्थ्यो भने आफैँले भोट दिन लगाएर जिताएका राजेन्द्र लिङ्देनले केपी ओलीलाई दयापूर्वक भन्न सक्ने थिएनन्, तिमीहरू भाग्छौ भने हामी तिम्रो हेलिकोप्टरलाई बाटो दिन्छौँ
पार्टी र आन्दोलनका नाममा नेतातन्त्रले भिडको भावनात्मक शोषण गर्दागर्दै कार्यकर्ताको विवेक मरिसकेको छ । अब नेता र पार्टीहरूसँग आन्दोलनको वैधता छैन । चार तारा वा हँसिया–हथौडाअंकित झन्डालाई टाट बनाएर नेतातन्त्र माफियासँग लंगुरबुर्जा खेलिरहेको छ । या त्यो झन्डा खोस्न सक्नुपर्छ, या त्यो झन्डा छोड्न सक्नुपर्छ । सन्तानका लागि अब नेपाली नागरिकसँग तेस्रो बाटो छैन । नेता वा पार्टीसँग आन्दोलनको वैधता हुन्थ्यो भने आफैँले भोट दिन लगाएर जिताएका राजेन्द्र लिङ्देनले केपी ओलीलाई दयापूर्वक भन्न सक्ने थिएनन्, तिमीहरू भाग्छौ भने हामी तिम्रो हेलिकोप्टरलाई बाटो दिन्छौँ ।
‘क्लिप्टोक्रेसी’ जगाएर ‘डेमोक्रेसी’ मारेकाहरूसँग न आन्दोलनको वैधता हुन्छ, न नैतिक बल । नत्र यिनीहरूलाई आफैँले जन्माएका दुर्गा प्रसाईंदेखि राजेन्द्र लिङ्देनसम्मले यो तहमा ललकार्न सक्ने थिएनन् । यीसँग फोटो खिचेपछि सेलेब्रिटीको फिल्म चल्दैन, गीत चल्दैन । तर, नेतातन्त्रको फुर्ती भने विश्वविजेता सम्राट्को जस्तो छ । अर्बौं भ्रष्टाचार र दशकौँको अपव्ययपछि पनि काकाकुल काठमाडौंमा मेलम्ची झार्न नसकेकाहरू सिंहदरबारको गेटमा हर्क साम्पाङको गाग्री खोस्छन् । बालुवाटार बोलाउँछन् र यसरी पेस हुन्छन्, मानौँ सम्राट्को जन्मदिनमा हर्क साम्पाङ नामको एउटा निम्छरो प्रजालाई जीवनदान दिइएको छ । जनताका बिचमा उभिने साहस छैन, भाडाका सभा खडा गरेर दर्शन दिन्छन् । यिनीहरूसँग उभिनेको त फजिहत हुन्छ भने यिनीहरूको के होला ? अनुमान गर्दै दिक्क लाग्छ । वितृष्णा र आक्रोशको यो तहलाई कहिलेसम्म निराशाको व्यापार भनेर ढुक्कले सुत्छ नेतातन्त्र ? वर्तमानप्रति यति अविश्वास र भविष्यप्रति यति शंका कसले जन्माएको हो ?
दुईतिहाइको प्रतिरक्षा गर्ने सिपाहीहरू निरन्तर घट्दै गएका छन् । आलोपालोका साक्षी बसेका, ठेक्का लिएका, प्रवक्ता भएकाहरू सत्ताको कालो लाग्ला भनेर टकटकिन थालेका छन् । मर्दै गर्दा उपियाँले पनि छाड्छन् भन्ने उक्ति चरितार्थ हुँदै गएको छ । अर्काथरीलाई नयाँ गठबन्धनको आस छ । माओवादीले भन्न छाडेको छैन, सरकार संकटमा छ । यिनीहरूलाई थाहा छैन, सरकार होइन, लोकतन्त्र संकटमा छ । अब कुनै गठबन्धन बनेर कुनै गठबन्धन फेरिएर केही फरक पर्नेछैन । शून्यमा जतिवटा र जस्तासुकै शून्य थपिए पनि योगफल शून्य नै हुन्छ ।
सरकारलाई लाग्न सक्ने भयो, शक्तिको खेलमा ऊ धेरै माथि र विजेता साबित भयो । करिब १२ लाख मत ल्याएको नयाँ पार्टीका अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्रीलाई लक्षित गरेर ‘तिम्रा हातमा तस्करले दिएको करोडौँको घडी, मेरा हातमा हतकडी’ भनेका थिए, हतकडी नै लगाइयो । कुलमान घिसिङको पक्षमा जनताको ठुलो सहानुभूति थियो, कुलमानलाई बर्खास्त गरेर सहानुभूतिलाई खुला चुनौती दिइयो । ठ्याक्कै नियन्त्रणमा आउन नमानेका, ‘बा’ नभनेका बालेन थिए, तिनलाई पनि कर्मचारी र कार्यकर्ता लगाएर एक्लो पारियो । जनताको भावनाको, सद्भावको, प्रेमको अवहेलनालाई सरकारको जित मान्न मिल्छ भने यी सबै जित नै हुन् । तर, यी बलमिच्याइँबाट जनतामा जागेको आक्रोशले नेतातन्त्र मात्रै नबढारेर लोकतन्त्र नै बढार्ने जोखिम बढेको छ । चिन्ता यो हो, नेतातन्त्रलाई दण्डित गर्ने धुनमा देश अराजकताको उल्टो बाटो पनि जान सक्छ, तिर्खाएको देशले हिलो पनि पिउन सक्छ । तीनकुनेमा त्यसको लक्षण देखिइसकेको छ । समाजमा जुन तहको आक्रोश छ, त्यसले अरू थुप्रै तीनकुने जन्माउन सक्छ ।
सरकारले जित्नुपर्ने अरू केही ठाउँ बाँकी छन् । बिजुलीको बक्यौता माफ गर्नु छ । पिपिएको नयाँ दोकान थप्नु छ । नयाँ स्टक एक्सचेन्ज ल्याउनु छ । बचेखुचेका उद्योग बिक्री गर्नु छ । विद्युत् प्राधिकरणलाई डुबाएर जलविद्युत् परियोजना कौडीको भाउमा बेच्नु छ । गिरिबन्धुको टुंगो लगाउनु छ । रमाइलो के भने यी सबै अपराध जनताको जानकारीमा, दिनको उज्यालोमा भइरहेका छन् । कुलमानलाई निकालेर सत्ताको शक्ति देखाएको दुईतिहाइले भ्रष्टाचारको प्रमाणपूर्ण आरोप लागेको सेबोन अध्यक्षलाई सामान्य स्पष्टीकरणसम्म सोध्न सक्दैन । नेताहरू माफियाको हली भएको बीभत्स दृश्य जनताको अनुमानमा छैन, प्रत्यक्ष प्रसारणमा छ । नेताहरूलाई के लाग्छ, जनता अझै भ्रममै छन् ?
हो, छोराछोरीसँग लुकेर भए पनि कार्यकर्ताले नेताहरूका स्कर्टिङ चलाएकै छन् । नेताका बैठकदेखि भान्सा र बरन्डासम्म सेवाग्राही भरिएकै छन् । वनदेखि अस्पताल र सार्वजनिक शौचालयसम्मका व्यवस्थापन समितिमा कार्यकर्ताले रजगज गरेकै छन् । प्रतिरोध गर्न पर्ने र गर्न सक्ने युवा शक्ति विदेशमा पसिना बगाइरहेको छ । त्यसैले नेता मात्र होइन, अरूलाई पनि लाग्छ, नेतातन्त्र यति सजिलै मर्दैन ।
पञ्चायतको अन्तिमतिर चार हजारभन्दा बढी गाउँ र नगर पञ्चायतका करिब अढाई लाख प्रतिनिधिमध्ये करिब ९० प्रतिशत खुंखार पञ्च थिए । अधिकांश राष्ट्रिय पञ्चायत सदस्य आफ्नै ‘आधार इलाका’ र ठुलो जनाधार भएका मानिन्थे । शेरे धनुषा, शेरे सिन्धुपाल्चोक टाइपका शेरेहरू देशभरि थिए, जसले मतदातामा सीधा प्रभाव राख्छन् भन्ने मानिन्थ्यो । खेलकुद संघदेखि महिला संघसम्मका सबैथरी पञ्चायती संगठनमा जोडेर करिब ३० लाख पञ्च संगठित छन् भन्ने दाबी गरिन्थ्यो ।
०४६ साल चैत २६ गते साँझसम्म ३० लाख पञ्च भएको देशले भोलिपल्ट बिहान चैत २७ गते पञ्चायतको मलामी पनि पाएन । तरुण पुस्ताले अभिभावक पुस्ताको मत परिवर्तन गर्यो र ०४८ सालको आमनिर्वाचनमा पञ्चहरूका सबै पार्टी जोडेर जम्मा चारजना संसद् भवन छिरे । त्यतिखेरको त्यो तरुण पुस्ता आज आफ्ना सन्तानसँग आँखा जुधाउन नसकेर मत परिवर्तन गर्ने ठाउँमा पुगिसकेको छ । लोकतन्त्र ०८४ सम्म जोगियो भने यो देशमा कसैले अनुमान नगरेको मतक्रान्ति हुनेछ । राजनीतिक पार्टीको सीधा गिरोहमा नजोडिएको र श्रम गरेर खाएको लगभग कोही पनि नेतातन्त्रलाई दण्डित गर्ने प्रण लिएर उभिएको छ ।
आज नेतातन्त्रको संस्थागत नियन्त्रणबाहिर कोही छैन । अन्यथा नलागोस्, जनतालाई अदालतले न्याय दिन्छ भन्ने लाग्दैन, न्यायाधीशको राजनीतिक पृष्ठभूमि पहिले खोतलिन्छ । संवैधानिक निकायहरू नेताहरूका खल्तीभन्दा पर छैनन् । गिरिबन्धुको बैना बुझेका दीपक मल्होत्राहरूसँग सिंगै विमानस्थल पचाउने सामर्थ्य छ । किनकि, नेताहरू तिनका खल्तीमा छन् । ‘क्लिप्टोक्रेसी’ र ‘क्याकिस्टोक्रेसी’का निर्देशकहरूले संवैधानिक अंगहरूको आत्मा मारेको धेरै भइसक्यो । पार्टी कार्यालयमा परेड खेलाइएका न्यायाधीशहरू प्रयोग गरेर न्यायपालिकालाई पटक–पटक राजनीतिक हतियारका रूपमा दुरुपयोग गरिएको छ । माया राई र रवि लामिछानेमा सरकार मात्र होइन, न्यायालयको पनि विभेदले लोकतन्त्रको शक्ति सन्तुलनलाई जिस्क्याउँछ । लोकतन्त्र निलिरहेको यो नेतातन्त्र दुर्गा प्रसाईंलाई देखाएर जोगिन सक्दैन, जोगिन हुँदैन । ज्ञानेन्द्रको डर देखाएर लुटतन्त्रको अनुमोदन अब सम्भव छैन । तीनकुनेको हिंसा देखाएर सिंहदरबारको व्यभिचारलाई जायज साबित गर्ने प्रयास कसैले नगरे हुन्छ ।
खासमा प्रतिगमनसँग लड्ने सामर्थ्य यो नेतातन्त्रसँग छँदै छैन । यो ०४६ सालतिरको पञ्चायत हो, जो चारैतिर भत्किरहेको छ । लोकतन्त्रलाई अब लोकले खोस्नुपर्छ । ०४६ सालपछिका मन्त्रिपरिषद्का सबै निर्णयको समीक्षा गर्ने गरी, सबै उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने गरी, राज्यको समग्र पुनर्संरचना गर्ने गरी, सबै संवैधानिक निकाय नेतातन्त्रबाट मुक्त गर्ने गरी, विज्ञहरूबाट संविधानको समीक्षा गर्ने गरी अन्तरिम सरकार गठन गर्न ढिलो भइसक्यो । अब नेताहरूलाई सोेध्ने वेला पनि भयो, कति जनता सडकमा आएपछि तिमीहरू छाड्छौ ? र, सन्दुक रुइत, भगवान् कोइराला, महावीर पुन र कुलमान घिसिङहरूलाई सोध्ने वेला भयो, संक्रमणकालको व्यवस्थापनका लागि तयार छौ त तिमीहरू ?
(क्रमशः)