१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १० शनिबार १७:१५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवाब्याज भुक्तानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार १७:१५:oo

सरकारले चालू आर्थिक वर्ष ०८१/८२ को १० महिनामा करिब चार खर्बबराबर सार्वजनिक ऋण उठाउँदा तीन खर्ब आठ अर्बहाराहारी साँवाब्याज भुक्तानी गरेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु. २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पछिल्लो १० महिनामा रु. एक खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई कुल ऋण दायित्व रु. २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ। जुन कुल गार्हस्थ्य उत्पादनको ४२.९४ प्रतिशत हुन आउँछ। कुल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत अर्थात् रु. १३ खर्ब ५५ अर्ब ६९ करोड रहेको छ।

आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत अर्थात् रु. १२ खर्ब ६६ अर्ब ७० करोड रहेको छ। वैशाख महिनामा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी गरेकाले अघिल्लो महिनाको तुलनामा कुल सार्वजनिक ऋण दायित्व घट्न गएको कार्यालयले जनाएको छ। गत चैत मसान्तसम्ममा कुल सार्वजनिक ऋण रु. २६ खर्ब ६७ अर्ब २६ करोडबराबर थियो।

सरकारको वार्षिक लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन प्रगति देखिए पनि बाह्य ऋण भने वार्षिक लक्ष्यको तुलनामा कम मात्र उठेको छ। ‘चालू आर्थिक वर्षमा जम्मा रु. पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा रु. तीन खर्ब ९० अर्ब ८३ करोड ऋण प्राप्ति भएको छ। वार्षिक लक्ष्यको तुलनामा कुल ऋण प्राप्ति ७१.४५ प्रतिशत रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जसमध्ये आन्तरिक ऋण प्राप्तिको प्रगति ९१.२५ र बाह्य ऋण प्राप्तिको प्रगति ४१.३३ प्रतिशत रहेको छ। कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋण ७७.०५ र बाह्य ऋण २२.९५ प्रतिशत रहेको छ।’

चालू आर्थिक वर्षका लागि सरकारले रु. तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा हालसम्म रु. तीन खर्ब एक अर्ब १४ करोड उठाएको छ भने रु. २८ अर्ब ८५ करोड आन्तरिक ऋण उठाउन बाँकी छ। त्यसैगरी, यस वर्ष रु. दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म रु. ८९ अर्ब ६८ करोड उठिसकेको छ भने रु. एक खर्ब २७ अर्ब ३१ करोड उठ्न बाँकी छ।

सरकारले यस वर्ष सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीका लागि चार खर्ब दुई अर्ब ८५ करोड बजेट छुट्याएको थियो। जसमध्ये गत वैशाख मसान्तसम्ममा रु. तीन खर्ब आठ अर्ब १४ करोड साँवाब्याज भुक्तानी भएको छ। यो वार्षिक बजेट विनियोजनको आधारमा ७६.४९ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनका आधारमा वैशाख मसान्तसम्ममा कुल ऋण सेवा खर्च पाँच दशमलव ०५ प्रतिशत रहेको कार्यालयले जनाएको छ। रासस