चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचारप्रसारमा हिँडेको गाडीमा तोडफोड भएको छ। इच्छाकामना गाउँपालिका–४ लेवाटारमा बा १४ च ७६८४ नम्बरको गाडीमा तोडफोड भएको हो।
तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको छ। गाडीभित्र मानिस रहेकै समयमा गाडीमाथि चढेर तोडफोड भएकाे राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले जनाएको छ। चुनावी प्रचारमा रहेका गठबन्धनका कार्यकर्ताले स्वतन्त्र पार्टीका कार्यकर्ता सवार उक्त गाडीमा तोडफोड गरेकाे बताइएको छ।
तर, माओवादी केन्द्रले भने उक्त घटनामा संलग्नता नरहेको जनाएका छन्। माओवादी केन्द्र चितवन अध्यक्ष रामचन्द्र अधिकारीले सो घटनामा आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।
स्वतन्त्र पार्टीले चुनावी प्रचारमा प्रयोग भएको उक्त गाडीका विषयमा प्रशासनलाई जानकारी नदिएकाे चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए। ‘दुवै पक्ष चुनावी प्रचारमा रहँदा भनाभन भएर तोडफोड भएको भन्नेछ,’ तामाङले भने, ‘घटनाबारे म बुझ्दै छु।’