दैलेख १ मा विरासत जोगाउने दाउमा एमाले, एसलाई कांग्रेसको भर

सोमबार, २१ कार्तिक, २०७९
डिजिटल संस्करण

दैलेख १ को चुनावी चहलपहल रोचक देखिएको छ । ३० वर्षअघि एमालेबाट राजनीति थालेका दुईजनाबीच नै प्रतिस्पर्धा हुने भएको छ, जुन छुट्टाछुट्टै दलमा छन् । एमालेले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई चुनावी मैदानमा उतारेको छ भने गठबन्धनबाट एकीकृत समाजवादीका अम्मर थापा उम्मेदवार छन् । निवर्तमान सांसद शर्मालाई एमालेको विसरात जोगाउन चुनौती छ भने थापा कांग्रेस र माओवादीको सहयात्रामा जित निकाल्न चाहन्छन् ।

लामो समय एमाले दैलख पार्टी सचिव रहेका थापा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष हुन् । कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा थापासहित तत्कालीन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए  । त्यतिखेर उनी कर्णाली प्रदेशको भौतिकमन्त्री पनि बने ।

शर्मा र थापाको प्रतिस्पर्धामा राप्रपा महामन्त्री कुन्तीकुमारी शाही चुनौती बनेकी छिन् ।  यसअघि समानुपातिकबाट संविधानसभा सदस्य बनेकी शाही कर्णाली प्रदेशमा संघमा प्रत्यक्ष निर्वाचनमा होमिएकी दैलेखको पहिलो महिला हुन् । 

०७४ को प्रतिनिधिसभा निर्वाचनमा शर्मा २३ हजार सात सय ७३ मतसहित विजयी हुँदा राप्रपाका दीपककुमार शाहीले १७ हजार दुई सय ५२ मत पाएका थिए । त्यतिखेर यहाँ राप्रपा–कांग्रेसले सहकार्य गरेका थिए  ।

शर्मा आफू सांसद छँदा विद्युतीकरणका लागि पहल गरेको तथा पेट्रोलियम अन्वेषणको काम अन्तिम टुंगोमा पुर्याउने काम गरेकाले जनताले फेरि जिताउने दाबी गर्छन्। नेपालगन्ज–सुर्खेत–दैलेख सदरमुकाम महावु हुँदै जुम्ला–नाग्चेनांग्ला सडकको सुरुवात आफ्नो पालामा भएको र कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यका क्षेत्रमा कानुन निर्माणसँगै प्रभावकारी काम गर्न बाँकी रहेकाले उम्मेदवारी दिएको शर्माले बताए ।

थापा आफू प्रदेशको भौतिकमन्त्री छँदा जिल्लाको विकासको खाका कोरेको दाबी गर्छन् । करोडौँ रकम प्रभावकारी विकासमा लगाएको उनको दाबी छ । दैलेख सदरमुकामदेखि पालिका जोड्ने रणीतिक सडकको विस्तारमा बहुवर्षीय काम गरेको, कोरोना महामारीका वेलामा सात दिनमै कोरोना उपचार अस्पताल निर्माण गरेको उनले बताए ।

शाही एकपटक जनताबाट अनुमोदनका लागि आफू चुनावी प्रतिस्पर्धामा होमिएको बताउँछिन् । दैलेखमा पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माण, कृषिमा आधुनिकीकरण, व्यवस्थित विद्युतीकरणका काम आफ्ना एजेन्डा रहेको उनले बताइन् । निर्वाचनका लागि दैलेखमा दलहरूले चुनावी अभियान तीव्र पारेका छन् ।  

स्थानीय चुनावमा कांग्रेस पहिलो दल, एसलाई कांग्रेसकै भर
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजा हेर्ने हो दैलेख १ मा कांग्रेस पहिलो शक्ति छ ।  दैलेख १ का ६ पालिकाको मतभार हेर्दा कांग्रेसको मत २१ हजार दुई सय ५७ छ  । तर, प्रतिनिधिसभामा उसका उम्मेदवार छैनन्, एकीकृत समाजवादीलाई सहयोग गरेको छ ।

एकीकृत समाजवादीको मत पाँच हजार पाँच सय रहँदा उसैलाई सहयोग गरेको माओवादी केन्द्रको मत ६ हजार छ ।  एकल निर्वाचनमा उत्रिएको एमालेको मत भने १९ हजार आठ सय छ । राप्रपाको मत तीन हजार मात्र छ । कांग्रेसको मतभार धेरै भए पनि टिकट नपाएपछि असन्तुष्टि बढेकाले त्यसको फाइदा लिने दाउमा एमाले र रापप्राका नेताले कसरत गरेका छन् । एकीकृतका थापा भने एमालेको मत तान्ने कसरतमा छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ,   कांग्रेस (बिपी) का भूपालबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा तथा स्वतन्त्र उम्मेदवार निरखबहादुर थापा र गोपाल नेपाली प्रतिस्पर्धामा छन् । 

निरख र भूपाल कुनै समय कांग्रेस राजनीतिमा थिए । तर, यसपटक यो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका थापाले टिकट पाएपछि निरख र भूपाल हौसिएका छन् । कारण, कांग्रेसको मत पाउने आशा उनीहरूमा छ । गोपालले एमालेको मत काट्ने आकलन गरिन्छ । उनी लामो समय एमालेमा थिए । एमाले र गठबन्धनका उम्मेदवारको मत काटिँदा आफूले फाइदा उठाउने कुन्तीको दाबी छ

प्रदेश सभामा पनि रोचक भिडन्त
दैलेख १ प्रदेश सभा (क) र (ख) मा १० जना चुनावी मैदानमा छन् । प्रदेश सभा (क) मा एमालेबाट धर्मराज रेग्मी र गठबन्धनबाट कांग्रेसका पूर्णबहादुर खत्री मुख्य प्रतिस्पर्धी हुन् । नेपाल मजदुर किसान पार्टीका जगतबहादुर ओली, राप्रपाका हृदयराज शाही, स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्री पनि छन् ।

०७४ को प्रदेश सभा निर्वाचनमा यहाँबाट एमालेका धर्मराज रेग्मीले कांग्रेसका पूर्णबहादुर खत्रीलाई हराएका थिए । खत्री माओवादी र एकीकृत समाजवादीको मतको सहायता पनि लिएर पाँच वर्षअघिको बदला लिने होडमा छन् ।

(ख) एमालेका प्रेमबहादुर थापा, गठबन्धनबाट कांग्रेसका कृष्णकुमार विसी, नेपाल मजदुर किसान पार्टीकी लक्ष्मीकुमारी सिंह, राप्रपाका रणबहादुर सिंह प्रतिस्पर्धामा छन् । गठबन्धनविरुद्ध एकीकृत समाजवादीका केन्द्रीय सदस्य टेकबहादुर खानले बागी दिएका छन् ।

See More On

सुझावित समाचार