प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको खराब प्रदर्शन तेस्रो खेलसम्म पुगेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा बागमती लुम्बिनी प्रदेशसँग आठ विकेटले पराजित भयो । हारसँगै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमतीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ । पहिलो खेलमा नेपाल पुलिस क्लब र दोस्रो खेलमा प्रदेश १सँग बागमती स्तब्ध भएको थियो । समूह ‘बी’मा बागमतीले तीन खेलबाट अंक तालिकामा खाता खोल्न सकेको छैन । लुम्बिनी दुई अंकसहित दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा रहेको छ ।
देवको उत्कृष्ट ब्याटिङ
बागमतीले प्रस्तुत गरेको एक सय ५५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३५.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा कप्तान देव खनालले अविजित ७७ रन जाडे । देवले एक सय १९ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका थिए । यसैगरी, प्रज्वल थापा र सन्दीप रजाइलीले समान २९ रन जोडे । बलिङतर्फ बागतमीका प्रतिश जिसी र रिजन ढकालले समान एक विकेट लिए ।
पहिलो विकेटको रूपमा अकाश त्रिपाठीलाई तीन रनमा गुमाएको लुम्बिनीका लागि देव र प्रज्वलले दोस्रो विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । यसअघि, टस जितेर ब्याटिङ रोजेको बागमतीले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५४ रनको सामान्य योगफल तयार पा¥यो । बागमतीका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३३ रन बनाए । यसैगरी, दुर्गेश थापाले ३२ रन, ओपनर आशुतोष धिरैयाले २२ रन र सूर्य तामाङले १७ रन बनाए । बागमतीलाई सस्तैमा समेट्न लुम्बिनीका अनिल खरेलले सर्वाधिक चार विकेट लिए । अनिलले १० ओभरमा तीन मेडनसहित ३० रन खर्चिए । यसैगरी, विशालविक्रम केसी र अभिषेक गौतमले समान दुई विकेट लिएका थिए ।
गण्डकीको लगातार दोस्रो जित
मध्यक्रमका ब्याट्सम्यान अभिषेक बस्नेतको अर्धशतकप्रेरित गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको हो । जितसँगै समूह ‘ए’बाट चार अंक बटुल्दै गण्डकी दोस्रो स्थानमा छ । समान अंक भए पनि नेट रनरेटका आधारमा एपिएफ क्लब शीर्ष स्थानमा छ । गण्डकीले प्रस्तुत गरेको दुई सय नौ रनको लक्ष्य पछ्याएको कर्णाली ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७६ रनमा समेटियो । कर्णालीका हिमान्सु शाहीले अर्धशतकीय इनिङ्स खेले । एक सय १६ बलको सामना गर्दै आठ चौका हिर्काएका हिमान्सुले सर्वाधिक ६९ रन बनाए । गण्डकीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय आठ रन बनाएको थियो ।