सप्तरीका एसपी खड्का अनुसन्धानका लागि हेडक्वाटर तानिए

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव मृत भेटिएको घटनामा अनुसन्धानका लागि सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्का हेडक्वाटर तानिएका छन्।

गत बिहबार दिउँसो सीमावर्ती बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा असइ यादव मृत भेटिएका थिए। 

सो घटनामा अनुसन्धानका लागि एसपी खड्कालाई हेडक्वाटर तानिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए। ‘घटनाबारे सोधपुछका लागि उहाँलाई झिकाइएको छ,’ उनले भने।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान जारी रहेको बताए। ‘अहिले ठ्याक्कै केही भन्न सक्ने अवस्था छैन्, यद्यपि अनुसन्धान जारी छ,’ उनले भने, ‘चाँडै हामी टुंगो लगाउँछौँ भन्ने अपेक्षा गर्दा हुन्छ।’

नेपाल–भारत सीमाभन्दा करिब ३ किलोमिटर दक्षिणमा पर्ने सो ठाउँमा भेटिएको असइको शरीरमा लुगा नभएको अवस्थामा शव भेटिएको थियो भने टाउकोमा पनि चोट देखिए पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थप कुराहरू खुल्न सक्ने प्रहरीले जनाएको छ।
 

सुझावित समाचार