‘संविधानले, विधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर हामीले गरेको हो भनेर भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा तपाईंलाई आश्वस्त पार्दछु,’ एक साताअघि कांग्रेस महामन्त्री गगन थापाले विवादित व्यक्ति उम्मेदवार नबनाउने दाबी गर्दै थिए ।

तर, कांग्रैसबाटै धमाधम त्यस्ता विवादित व्यक्ति उम्मेदवार सिफारिस भइरहेका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कांग्रेसबाट गुन्डा नाइकेदेखि जघन्य अपराधमा फसेका व्यक्ति उम्मेदवारका लागि सिफारिस भएका छन् । विज्ञहरू गलत मान्छेले चुनावमा टिकट पाए त्यसको असर राज्य संयन्त्रको कार्यसम्पादनमा पर्ने बताउँछन् ।
- सिफारिस भएका गुन्डा नाइके
- मिलन गुरुङ (चक्रे मिलन), एमाले
- परशुराम बस्नेत, एमाले
- बलराम सापकोटा (बले), कांग्रेस
- राजु गोर्खाली, कांग्रेस
- गणेश लामा, कांग्रेस
- शुक्रराज तामाङ (शुक्रे), कांग्रेस
- दीपक मनाङे, स्वतन्त्र
- जेलमा रहेका/सजाय पाएका
- अफ्ताब आलम, कांग्रेस
- रेशम चौधरी, नागरिक उन्मुक्ति पार्टी
- रामशंकर यादव, एमाले
- भ्रष्टाचार अभियोग लागेका
- विजय गच्छदार, कांग्रेस
- टेकबहादुर गुरुङ, कांग्रेस
गुन्डा नाइके गणेश लामा, बलराम सापकोटा (बले), राजु गोर्खाली र शुक्रराज तामाङ कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् । अघिल्लोपटक पराजित गणेश लामा यसपटक पनि काभ्रे १ को (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस केन्द्रीय सदस्यका रूपमा निर्वाचित लामा विजय गच्छदारनिकट मानिन्छन् । गुन्डागर्दी पृष्ठभूमिका उनी कुनै वेला दीपक मनाङेका प्रतिस्पर्धीका रूपमा समेत चिनिन्थे ।
कांग्रेसबाट सांसद बन्ने दाउमा छन्, अर्का गुन्डा नाइके बलराम सापकोटा (बले) । उनी काभ्रे १ को प्रदेश सभा (क) बाट समानुपातिक कोटामा सांसद सिफारिसमा परेका छन् । एमालेमा रहेका उनी सांसद बनाउने सर्तमै एकाएक कांग्रेस प्रवेश गरेका छन् । कुनै वेला काठमाडौंको क्यासिनोभित्र नेपाली भिœयाउन उनको सक्रिय भूमिका मानिन्छ ।
गुन्डा नाइके राजु गोर्खाली पनि प्रतिनिधिसभाका लागि कांग्रेसबाट उम्मेदवार सिफारिसमा परेका छन् । कांग्रेस सिन्धुपाल्चोक जिल्ला समितिले उनको नाम क्षेत्र नम्बर २ सिफारिस गरेको छ । कुनै वेला काठमाडौंको चाबहिल क्षेत्र उनको गुन्डागर्दीको इलाका मानिन्थ्यो । बालुवा ठेक्कामा कब्जा जमाएका उनी रात्रिकालीन व्यवसायमा संलग्न थिए । राकेश लिम्बूको हत्या अभियोगमा दोषी ठहर भएपछि लामो समय फरार भएका उनी पछि काठमाडौंबाटै पक्राउ परेका थिए । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका उनले पनि यसपटकको चुनावमा टिकट पाउने सम्भावना बढी छ ।
कतिपय ठाउँमा कांग्रेसले ‘स्वतन्त्र’ चुनाव लड्न चाहेका गुन्डा नाइकेसम्म पनि सहकार्य गर्ने सहमति गरेको छ । गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे कांग्रेससँग तालमेल गरेर चुनाव लड्ने तयारीमा छन् । मन्त्री हुँदा पनि गुन्डा नाइकेको छवि मेटिएको छैन ।
उनी ०७४ को निर्वाचनमा मनाङ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । आउँदो प्रदेश सभा निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट कांग्रेसको समर्थनमा चुनाव उठ्ने पक्का भइसकेको छ । ०७४ मा एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका उनले यसपटक प्रतिनिधिसभामा कांग्रेसलाई सघाउने र प्रदेश सभामा आफू लड्ने सहमति गरेका छन् ।
प्रहरीले गुन्डा नाइकेका रूपमा हेर्ने मिलन गुरुङ उर्फ चक्रे मिलन र परशुराम बस्नेत उम्मेदवार सिफारिसमा परेका छन् । चक्रे मिलनलाई एमाले क्षेत्रीय कमिटीले गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको छ । कुनै वेला काठमाडौंको चक्रपथ क्षेत्र उनको ‘इलाका’का रूपमा परिचित थियो । सो क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न भएको, अकुत सम्पत्ति कमाएको आदि आरोपमा उनी पटक–पटक पक्राउ पर्दै छुटेका थिए । गुन्डा नाइकेविरुद्ध प्रहरीले इन्काउन्टर अभियान नै चलाउन थालेपछि निष्क्रिय बनेका उनी पछिल्लो समय गोरखा क्षेत्रमा सक्रिय छन् ।
त्यस्तै, विराटनगरमा गुन्डा नाइकेको परिचय बनाएका बस्नेत पनि प्रदेश सभा निर्वाचनमा सिफारिस भएका छन् । एमालेले मोरङ क्षेत्र नम्बर ६ (ख)बाट उनलाई उम्मेदवार सिफारिस गरेको हो । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको निर्वाचन परिचालन सचिवालयको सदस्यसमेत रहेका उनको नाम सिफारिस सूचीको पहिलो नम्बरमा छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाएका उनी ओलीनिकट मानिन्छन् । ०६९ मा पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
जघन्य अपराधमा मुछिएका पनि सिफारिस
जघन्य अपराधमा मुछिएर हाल थुनामा रहेका मोहम्मद अफ्ताब आलम रौतहट २ बाट कांग्रेसको उम्मेदवार सिफारिस भएका छन् । बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको गम्भीर आरोप खेपिरहेका उनलाई उम्मेदवार सिफारिस गरेपछि विवादसमेत भएको छ । ०६४ को निर्वाचनमा शेख इद्रिसको घरमा बम विस्फोट हुँदा २४ वर्षका त्रिलोकप्रताप सिंह र २२ वर्षका ओसी अख्तरले ज्यान गुमाएका थिए । आलमविरुद्ध उक्त घटना लुकाउन विस्फोटका घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप छ । उनको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।
त्यस्तै, भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री टेकबहादुर गुरुङ पनि कांग्रेसबाट प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस भएका छन् । मनाङ कांग्रेसको जिल्ला कमिटीले गुरुङलाई एकल र सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको हो । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा श्रममन्त्री रहेका वेला उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा परेको थियो । भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार अनियमितता भएको दाबी गर्दै पूर्वश्रममन्त्री र गुरुङसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघमा ०७५ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । यद्यपि मुद्दाको छिनोफानो भएको छैन, तर उनी उम्मेदवार बन्ने पक्का भएको छ ।
त्यस्तै, भ्रष्टाचार मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई पनि कांग्रेसले उम्मेदवार बनाउँदै छ । सुनसरी ३ को क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा उनको मात्रै नाम उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा पास गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । मुद्दाको टुंगो लागेको छैन । तर, सुनसरी कांग्रेसबाट उम्मेदवारको सिफारिस सूचीमा उनको नाम एकल परेको छ ।
त्यस्तै, एमालेले प्रहरी जवानको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका रामशंकर यादव पनि उम्मेदवार बनाउने भएको छ । स्वर्गीय कांग्रेस नेता प्रदीप गिरिको निर्वाचन क्षेत्र मानिएको सिराहा १ बाट उनी एकल उम्मेदवार सिफारिस भएका हुन् । यादव प्रहरी जवान हत्या गरेको अभियोगमा सजायसमेत पाइसकेका व्यक्ति हुन् । प्रहरीले ०६९ मा पक्राउ गरेर जेल चलान गरेको थियो । तर, संविधान दिवसका अवसरमा ०७६ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।
त्यस्तै, ०७२ भदौको टीकापुर हत्याकाण्डमा मुछिएका निलम्बित सांसद रेशम चौधरी पनि बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । उनी हाल डिल्लीबजारस्थित कारागारमा छन् । नागरिक उन्मुक्ति पार्टीले सर्वसम्मत रूपमा उनलाई उम्मेदवार सिफारिस गरेको हो । ०७४ को निर्वाचनमा कैलाली १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका चौधरी यसपटक जेलबाटै नयाँ पार्टी खोलेर चुनावमा होमिँदै छन् ।
के छ कानुनमा ?
प्रतिनिधिसभा ऐन, २०७४ मा विभिन्न १० वटा अवस्थामा उम्मेदवार हुन अयोग्य रहने उल्लेख छ । जसको चौथो बुँदामा ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएको अवस्था’मा उम्मेदवार बन्न नपाइने उल्लेख छ । त्यस्तै, पाँचौँ बुँदामा संगठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन अयोग्य भनिएको छ । त्यस्तै, नवौँ बुँदामा कैदमा बसेकोमा कैद बसेको अवधिभर उम्मेदवार नपाउने प्रावधान छ ।
यस्ता मान्छे आउँदा सरकारी संयन्त्रको कार्यसम्पादनमै असर पर्छ : हेमन्त मल्ल, पूर्वडिआइजी
दलहरूले गुन्डा चरित्रका, आपराधिक पृष्ठभूमिका, मुद्दा खेपिरहेका र जेलमा रहेका व्यक्ति लिएर चुनावमा जान खोज्नु साँच्चै डरलाग्दो हो । यसले मतदातामाझ पक्कै राम्रो सन्देश जाँदैन ।
खासगरी यस्ता व्यक्ति आफू सुरक्षित हुन र शक्ति बढाउन चुनावमा होमिन खोज्छन् । सांसद नहुँदै त उनीहरू आपराधिक गतिविधिमा संलग्न हुन्छन् भने झन् शक्तिमा पुगेपछि तिनको रवाफ के होला ? तिनले गर्ने कामकारबाही कस्तो होला ? दलहरूले गम्भीर भएर सोच्नुपर्ने पक्ष हो यो ।
सुरक्षा निकाय या सरकारी संयन्त्रकै कुरा गर्ने हो भने हिजो जसको गतिविधिविरुद्ध हामी सशक्त उभियौँ, अनुसन्धान गर्यौँ, मुद्दा चलायौँ, आज तिनैलाई सलाम ठोक्नुपर्ने अवस्था आउनु भनेको के हो ? यस्तो अवस्थामा सरकारी संयन्त्रले कुन मनोविज्ञानमा काम गर्ने ? मलाई लाग्छ, यस्ता मान्छे संसद् र सत्तामा आउनु भनेको सरकारी संयन्त्रको कार्यसम्पादनमै असर पुग्नु हो । आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नै दलहरूले उम्मेदवार बनाउनु भनेको एक हिसाबले सुरक्षा निकाय र न्यायिक प्रक्रियामा खटिने कर्मचारीमाथि नै गरेको प्रहार हो ।