अब भरतपुरमा पनि भूमिगत तार, प्रचण्डले गरे उद्घाटन

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त कार्यको शिलान्यास गरे।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भरतपुरका मुख्य क्षेत्रहरूमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर र चार सय भोल्टको ७० किलोमिटर लाइनलाई भूमिगत गरिनेछ। साथै २६ किलोमिटर भूमिगत अप्टिकल फाइबर बिछ्याउने र हाल सञ्चालनमा रहेका ट्रान्सफर्मरहरूको क्षमता बढाउने तथा नयाँ थपिनेछ।

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित गरिरहेको छ। यसै कार्यक्रमलाई कास्कीको पोखरा र भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी क्षेत्रमा विस्तार गरिएको हो।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो। आयोजनाको निर्माणका लागि असोज ०७८ मा टाटा प्रोजेक्ट लि. भारतसँग एक करोड ६७ लाख अमेरिकी डलर र ४९ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सुझावित समाचार