माटोमा हुने जैविक मात्रा बढाउनुपर्छ भन्ने सन्देशका साथ माटो जोगाऔँ अभियानमा देश दौडाहामा निस्किएका युवाहरू बाग्लुङ आइपुगेका छन् । तीन हजार पाँच सय किलोमिटर दौडेर ७७ जिल्लामै पुग्ने योजनासहित गत ३० जेठमा काठमाडौंबाट सुरु भएको अभियान लिएर युवाहरू बाग्लुङ आएका हुन् ।
संसारभरि नै माटोमा भएको ऊर्वराशक्तिमा ह्रास आएको भन्दै त्यसलाई बचाउन ‘माटो जोगाऔँ’ अभियान लिएर देशव्यापी कार्यक्रम सञ्चालन गरेको मुख्य अभियन्ता नवीन पुनले बताए । उनले अबको ६० वर्षपछि संसारको माटोमा कुनै पनि अन्नको उत्पादन हुन नसक्ने दाबी गर्दै माटोको ऊर्वराशक्ति कायम राख्न अहिलेदेखि नै सबै क्षेत्रबाट माटो जोगाउन आवश्यक पहल गर्नुपर्ने बताए ।
७५ दिनमा ७७ जिल्ला पुग्ने
मुख्य अभियन्ता पुनले करिब ७५ दिनमा ७७ वटै जिल्लामा माटो जोगाऔँ भन्दै दौड सक्ने योजना रहेको बताए । अभियानमा विभिन्न जिल्ला र स्थानीय तहमा सरोकारवालासँग छलफल गर्दै अब स्थानीय तहले माटोलाई कसरी जोगाउने भन्ने नीति अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
अभियानमा सहभागीहरूले हरेक जिल्लाका स्थानीय तह, विद्यालय तथा क्याम्पसहरूमा पनि माटो जोगाऔँ अभियानका बारेमा जानकारी दिँदै आएको बताए ।