काठमाडौं/ विपतको समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ सिस्टम’ (सिबिएस)को परीक्षण गरिने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा शुक्रबार काठमाडौँको बलम्बु क्षेत्रमा उक्त प्रणालीको सीमित प्राविधिक परीक्षण गर्न लागिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।
दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका उपकरणहरूमा मोबाइल नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ। उक्त सन्देश परीक्षणका लागि तोकिएका मोबाइल उपकरणमा मात्र प्राप्त हुने छ।
यस परीक्षणको मुख्य उद्देश्य विपतका समयमा मोबाइल फोनमार्फत पूर्वसूचना सन्देश प्रवाह गर्ने प्रणालीको प्राविधिक कार्यक्षमता तथा सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गर्नु रहेको छ।
सेल ब्रोडकास्टिङ प्रणाली निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पठाउन सकिने प्रविधि हो। यस प्रणालीमार्फत सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन सक्छ।
सामान्य म्यासेजभन्दा फरक यस प्रविधिले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा समेत छोटो समयमा धेरै मोबाइल उपकरणमा सूचना पुर्याउन सक्छ। साथै, विपतको जोखिम रहेको निश्चित क्षेत्रमा मात्र सन्देश पठाउन सकिने भएकाले आवश्यकताअनुसार लक्षित समुदायलाई सचेत गराउन सकिनेछ।
प्रारम्भिक परीक्षण सफल भएमा उक्त प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै विपतको उच्च जोखिम रहेका क्षेत्रहरूमा कार्यान्वयन गर्ने योजना रहेको छ।