चितवन इतिहास बनाउन चुक्यो, सुदूर लगातार तेस्रोपटक फाइनलमा
सुदूरपश्चिम रोयल्स लगातार तेस्रोपटक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर्समा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूर लगातार तेस्रोपटक उपाधि नजिक पुगेको हो।
यसअघि दुवै संस्करण फाइनलमा पुगेपछि सुदूर उपाधिबाट टाढा भएको थियो। सुदूर लगातार फाइनल खेल्ने एक्लो टिमको नयाँ इतिहास बनाउँदा चितवन भने पहिलोपटक इतिहास बनाउँदै फाइनल पुग्ने अवसरबाट टाढा रह्यो। विजेता सुदूरले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
टस जितेर सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३४ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा सुदूरपश्चिमले १९ ओभरमा ७ विकेट गुमाउँदै जित निकाल्यो।
विपतको पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै
विपतको समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ सिस्टम’ (सिबिएस)को परीक्षण गरिने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा शुक्रबार काठमाडौँको बलम्बु क्षेत्रमा उक्त प्रणालीको सीमित प्राविधिक परीक्षण गर्न लागिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।
दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका उपकरणहरूमा मोबाइल नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ। उक्त सन्देश परीक्षणका लागि तोकिएका मोबाइल उपकरणमा मात्र प्राप्त हुने छ।
महँगी उच्चदरमा बढ्यो, असोजमा उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले असोज महिनामा महँगी ह्वात्तै बढेको देखिएको छ। आर्थिक वर्ष ०८३/८४ को तीन महिनाको विवरणअनुसार असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको असोजमा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत थियो।
असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत थियो।
केन्द्रीय बैंकको प्रतिवेदन अनुसार चालू आवको तीन महिनाको औसत मुदास्फीति ६.२२ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति १.६७ प्रतिशत थियो।
एमालेको संकल्प– असंवैधानिक ढंगले अपहरित लोकतन्त्र फिर्ता ल्याउँछाैँ
नेकपा (एमाले)को राष्ट्रिय भेलाले लोकतन्त्र असंवैधानिक ढंगले अपहरण गरिएको भन्दै फिर्ता ल्याउने संकल्प गरेको छ। बिहीबार सम्पन्न दुईदिने भेलाले राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपंक्तिमा उभिएर बलिदान दिन तयार रहने संकल्प गरेको हो।
‘हामी असंवैधानिक ढंगले अपहरित गरिएको लोकतन्त्र फिर्ता गरिछाड्नेछौँ। राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपंक्तिमा उभिएर बलिदान दिन हमेसा तयार रहनेछौँ,’ भेलाबाट पारित संकल्प प्रस्तावमा उल्लेख छ।
पूर्वश्रममन्त्रीद्वयलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
मलेसिया जाने कामदारलाई अतिरिक्त शुल्कका नाममा भएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वश्रममन्त्रीसहित ६ जनालाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला, अदालत काठमाडौंले चार दिनको म्याद दिएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए।
सिआइबीले बुधबार तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई बुधबार पक्राउ गरेको थियो । तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङलाई पनि पक्राउ परिसकेका छन्। तत्कालीन श्रमसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।
मध्यकालीन सम्झौताका स्वीकृत आयोजनाको ५९४ मेगावाट विद्युत् आइएक्समा बिक्री गर्न अनुमति
नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत् आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिक्री गर्न अनुमति प्राप्त गरेको छ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत् आइएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न मंसिर २ गते अनुमति दिएको हो। उक्त अनुमतिअनुसार ५९४ मेगावाट विद्युत् १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ (२ मंसिर०८३– ३१ जेठ०८४)सम्म आइएक्समा बिक्री गर्न सकिनेछ।
स्कुलबसका चालक नै ब्राउनसुगर कारोबारी, काठमाडौंबाट चारजना पक्राउ
विद्यालयको बसका चालक नै लागुऔषध कारोबारी भएको खुलेको छ। ललितपुरको जेम्स स्कुलका चालक काभ्रेको मण्डनदेउपुर घर भएका राज रसाइली लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । लागुऔषध अनुसन्धान ब्युरोले उनीसहित चारजनालाई ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा समीर तामाङ, दिनेश वाइबा र कमलेशकुमार साह छन्। उनीहरूको साथबाट लागुऔषसहित दुई लाख ८० हजार रुपैयाँ नगद पनि प्रहरीले फेला पारेको छ।
अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नबुझाएका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।
तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेमा तथा बक्यौता रकम दाखिला नगरेमा अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ।
प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सेवा प्रदायकलाई नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) बापतको रकम, त्यसमा लाग्ने थप दस्तुर तथा जरिवानासहितको बक्यौता चुक्ता गर्न निर्देशन दिएको हो।
राखेपले गर्याे एन्फामाथिको सम्पूर्ण निलम्बन फुकुवा
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ।
राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो।
आजै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली फुटबल महासंघ (एएफसी) बैठकका अवसरमा एएफसी र फिफाका प्रतिनिधिसँग थाइल्यान्डमा भेट गर्दै छन्।
तस्बिरमा विश्वकै प्रदूषित सहरमध्ये तेस्रो स्थानको काठमाडाैं
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन संस्था आइक्यू एअरका अनुसार बुधबार (नोभेम्बर १८) बिहान ९ देखि १० बजेसम्म काठमाडौं १८१ एक्यू आइसहित विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको थियो।
उक्त समयमा पाकिस्तानको लाहोर ३२७ एक्युआईसहित पहिलो र बंगलादेशको ढाका २२७ एक्युआईसहित दोस्रो स्थानमा थिए। हिउँद सुरु भएसँगै वर्षाको कमी, सवारीसाधनको धुवाँ, सडकको धुलो तथा निर्माण गतिविधिका कारण काठमाडौंको वायु गुणस्तर प्रभावित भएको छ।