बैंकको रकम हिनामिना गरी नक्कली खाता र ऋणी बनाउने ३३ जनालाई कैद सजाय

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

सञ्चालक समितिलाई सफाइ

दाङको नारायणपुरमा रहेको तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको १८ करोड रकम हिनामिना प्रकरणमा ५६ जना प्रतिबादीबारे उच्च अदालत तुलसीपुरले फैसला गरेको छ । जसमा ३३ जनालाई जरिवाना र कैद फैसला सुनाइएको छ । 

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजाराम सिल्वालको इजलासले नक्कली खाता र ऋणी बनाउन सहयोग गरेको आरोपमा ३३ जनालाई कैद तथा जरिवानाको फैसला सुनाएको हो । 

बैंकको रकम हिनामिना प्रकरणका मुख्य आरोपित तत्कालीन बैंकका नारायणपुर शाखा प्रमुख समीर बुढाथोकीले ३६ वटा नक्कली कर्जा खाता र ऋणी बनाएर अन्य ३३ जनाको खातामा रकमान्तर गरेको अदालतको ठहर छ । 

मुख्य प्रतिवादी बुढाथोकीको हकमा भने तीन वर्षभन्दा बढी सजाय हुने भएकाले छुट्टै सजाय निर्धारण समितिमार्फत पुनः पेसी चढाई  कैदको फैसला हुनेछ । उनको सजायका लागि असार २८ गतेको लागि पेसी तोकिएको छ । 

उनले साविक वेस्टर्न डेभलपमेन्ट बैंकमा २०७४ फागुनदेखि २०७६ जेठसम्म विभिन्न ३६ वटा नक्कली कर्जा खाता खोली १७ करोड ९९ लाख ९० हजार बराबरको कर्जा सिर्जना गरेका थिए । सोही रकम उनले वसन्तबहादुर बस्नेतसहित ४५ जनाको खातामा पठाएका थिए । उनीहरूले उक्त रकम झिकेर प्रयोग गरेको फैसलामा उल्लेख छ। 

कैद तथा जरिवानाको सजाय फैसला भएकामध्ये एक वर्षभन्दा कम फैसला भएका प्रतिवादीहरूले प्रत्येक दिनको तीनसयका दरले रकम दिएर कैद बस्न नपर्ने  फैसला भएकाे छ । जसमा बसन्त बस्नेत : २ वर्ष, मनोज केसी : २ वर्ष, रोशन बस्नेत : एक वर्ष ६ महिना, झगबहादुर डिसी : एक वर्ष ६ महिना फैसला गरिएको छ । त्योबाहेक अन्य २९ जनालाई एक वर्ष र त्योभन्दा कम कैद सजायको फैसला गरिएको छ । 

त्यस्तै, बैंकका सञ्चालक खिमबहादुर डिसी, अनिलकुमार न्यौपाने, सञ्चालक समिति अध्यक्ष ओमभक्त बुढाथोकी, सदस्य अर्जुनकुमार बुढाथोकी, निर्मल देवकोटा, खड्ग बुढाथोकी, बेगमबहादुर भण्डारी र शेषमणि गौतमलाई कसुर नठहर्ने भन्दै सफाइ दिइएको छ । यसैगरी, लेखापरीक्षक प्रेम भुर्तेल, सिर्जना पछाई, राजेन्द्र न्यौपाने, विनोद डाँगीले समेत सफाइ पाएका छन् । 

यसैगरी, अदालतले फरार प्रतिवादीहरू मदन डिसी र यज्ञबहादुर वलीको मुद्दा मुलतवीमा राखिएको छ । उनीहरू अदालतको म्यादभित्र उपस्थित नभएकाले मुलतवीमा राखिएको हो । 

तीन वर्ष पहिले घोराही उपमहानगरपालिका– १० नारायणपुर बजारमा शाखा कार्यालय रहेको बैंकमा रकम हिनामिना भएको थियो र त्यसपछि बैंकको केन्द्रीय समितिले बैंकका कर्मचारी र तत्कालीन अवस्थाका वेस्टर्न डेभलपमेन्ट बैकका सञ्चालक समिति सदस्यविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको थियो ।

उच्च अदालतल तुलसीपुरले बैंकिङ कसुरसम्बन्धी मुद्दा हेर्ने अधिकार पाएपछि पहिलो मुद्दाका रूपमा बैंकको १८ करोड हिनामिनाको मुद्दा दर्ता भएको थियो । पहिलो मुद्दालाई तीन वर्ष लगाएर बैंकले किनारा लगाएको छ । निरन्तरको बहसपछि बिहीबार राति ९ बजे  मात्रै यो फैसला भएको हो । 

कसलाई कति कैद तथा जरिवाना ?

१. बसन्तबहादुर बस्नेत : २ करोड १५ लाख ३६ हजार २५० रुपैयाँ जरिवाना र २ वर्ष कैद।

२  मनोज केसी : १ करोड ४ लाख ११ हजार ७४६ रुपैयाँ जरिवाना २ वर्ष कैद।

३. रोशन बस्नेत : ७१ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद।

४. झगबहादुर डिसी : २० लाख ३१ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद।

५. विनोद खड्का : ५९ लाख ७५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

६. शान्ति केसी : २ लाख रुपैयाँ जरिवाना र १० दिन कैद।

७. मुकेशकुमार गुप्ता : ४ लाख ५०  हजार २५० रुपैयाँ जरिवाना र १५ दिन कैद।

८. सन्जय बगाले : १८ लाख ६२  हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष कैद।

९. विनोदकुमार वली : १५ लाख ३०  हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

१०. विजया शर्मा : १० लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

११. विजयकुमार गुप्ता : ७ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना र १५ दिन कैद।

१२. जीवराज रावत : ९ लाख रुपैयाँ जरिवाना र २० दिन कैद।

१३. अर्जुन बस्नेत : १३ लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

१४. नोमबहादुर बुढाथोकी : ७ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

१५. वीरेन्द्रकुमार गुप्ता : ९ लाख ८७ हजार ५०० रुपैयाँ जरिवाना र २० दिन कैद ।

१६. प्रेमबहादुर बुढाथोकी : ७ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद।

१७. किरण रावत : ६ लाख ९३ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

१८. नोखमतीकुमारी बस्नेत : ६ लाख ३२ हजार ५०० रुपैयाँ जरिवाना र १५ दिन कैद।

१९. डेमकला खड्का : १४ लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

२०. नरबहादुर कार्की : ५ लाख ९५ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

२१. धनेश्वर आचार्य : ५ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय।

२२. द्रोणबहादुर केसी : ५ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद।

२३. रामबहादुर घर्ती : ७ लाख ७५ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

२४. केशवी बुढाथोकी : ५ लाख रुपैयाँ जरिवाना र १२ दिन कैद।

२५. बसन्त बुढाथोकी : ३५ हजार ७७२ रुपैयाँ जरिवाना र ४ दिन कैद।

२६. शरद पोखरेल : ३ लाख रुपैयाँ जरिवाना र १२ दिन कैद।

२७. मतकुमार पौडेल : २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।

२८. नरसिंह विश्वकर्मा : २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।

२९. शालिकराम केसी : २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।

३०. खुवीराम न्यौपाने : २ लाख रुपैयाँ जरिवाना र १० दिन कैद।

३१. रविनकुमार डाँगी : १ लाख ७५ हजार ५०० रुपैयाँ जरिवाना र १० दिन कैद।

३२. हेमन्त पुन मगर : ५० हजार रुपैयाँ जरिवाना र ५ दिन कैद।

३३. बालिका महरा : २५ हजार रुपैयाँ जरिवाना र ४ दिन कैद।

सुझावित समाचार