स्काउटको जग्गामा हालिमुहाली गर्ने पूर्वराज्यमन्त्री खड्काको पक्षमा जिल्ला अदालतले दिएको फैसला उच्चले उल्ट्यायो

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

नेपाल स्काउटबाट भाडामा लिएभन्दा धेरै जग्गा कब्जा गरेर व्यावसायिक प्रयोजनमा लगाएका पूर्वराज्यमन्त्री तथा कांग्रेस नेता दीपक खड्काको पक्षमा जिल्ला अदालतबाट भएको फैसला उच्च अदालतले उल्ट्याएको छ । तीन रोपनीको लिज सम्झौता गरेर उनले सत्ता र शक्तिको आडमा १४ वर्षदेखि स्काउटको १२ रोपनी जग्गा कब्जा गरेका छन् ।

स्काउटको पुनरावेदन रिटमा सुनुवाइ गर्दै सोमबार पाटन उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याएको हो । स्काउटका कर्मचारीलाई आर्थिक प्रभावमा पारेर खड्काले दशवर्षे सम्झौतालाई अनधिकृत रूपमा पाँच वर्ष बढाएर १५ वर्ष पुर्याएका थिए । स्काउटले जग्गा खाली गर्न भनेपछि उनले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले १८ असार ०७६ मा खड्काकै पक्षमा फैसला गरेपछि स्काउट उच्च अदालत पुगेको थियो । स्काउटका संयोजक लोकबहादुर भण्डारीले उच्चमा पुनरावेदन रिट दर्ता गरेका थिए ।

कब्जा जमाएको जग्गामा पूर्वमन्त्री खड्काले ब्यांक्वेट, रेस्टुराँ र वर्कसपसहितका व्यवसाय चलाएका छन् । यति मात्र होइन, राजनीतिक प्रभावमा उनले स्काउटकै ४८ वटा सटर भएको व्यावसायिक भवनसमेत १६ वर्षदेखि सस्तोमा लिएर महँगो भाडामा लगाउँदै आएका छन् । नयाँ पत्रिकाले गत १८ फागुनमा ‘सार्वजनिक जग्गामा पूर्वराज्यमन्त्री दीपक खड्काको रजाइँ : तीन रोपनी भाडामा लिएर १२ रोपनी कब्जा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

०७५ मै सम्झौता सकिए पनि खड्काको कम्पनी ‘खड्का ल्यान्ड एन्ड डेभलपमेन्ट’ले जिल्ला अदालतको फैसलाको आडमा स्काउटको जग्गामा हालीमुहाली गरिरहेको थियो । जग्गा र भवनको तीन करोड १७ लाख बक्यौता भाडा माग्दा उनले उल्टै स्काउट कार्यालयमा गत फागुनमा तोडफोड र कर्मचारीमाथि हातपात गरेर सत्ताको रवाफ देखाएका थिए ।

उच्चको फैसलासँगै राजनीतिक शक्तिको दुरुपयोग गरी स्काउटको जग्गा हडप्ने खड्काको योजना विफल भएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए । उच्च अदालतको फैसलापछि अब जग्गा खाली गर्ने प्रक्रिया अघि बढ्ने स्काउटका निर्देशक रामप्रसाद भट्टराईले बताए । ‘अदालतको पूर्ण पाठ आउन बाँकी छ,’ उनले भने, ‘पूर्ण पाठ आएपछि जग्गा खाली गर्ने प्रक्रिया अघि बढ्छ ।’ 

सुझावित समाचार