सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्री देउवाको आह्वान

शनिबार, २१ जेठ, २०७९
डिजिटल संस्करण
सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्री देउवाको आह्वान

फाइल फाेटाे ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्। १७औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तरपार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका संघसंस्थाद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुत अन्त्यको व्यावहारिक रूपमै कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ।

विसं २०५८ मा छुवाछुत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोगको स्थापना, २०६३ सालमा छुवाछुतमुक्त राष्ट्रको घोषणा र दलित समुदायको संवैधानिक हकको सुनिश्चितताको स्मरण गर्दै उनले दलित समुदायको आन्दोलनले नीति निर्माणमा सरकारलाई बल पुगेको बताए । 

उनले सरकारले छुवाछुतविरुद्ध ऐन–कानुन निर्माण गरी सभ्य समाज निर्माण गर्दै आएको बताउँदै शान्तिपूर्ण आन्दोलनमा लागेका दलित समुदायलाई नथाक्न आग्रह गरे। जातीय भेदभाव र छुवाछुतकै आधारमा दलित समुदायका व्यक्तिको ज्यान जानेसम्मका घटना हुनु दुःखद भएको बताउँदै उनले त्यस्तो परिस्थितिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए। रासस

सुझावित समाचार