होटेललाई प्लास्टिकमुक्त बनाउने अभियान सुरु

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण

होटेल संघ नेपाल (हान)ले नेपालमा सञ्चालित होटेलहरूमा प्लास्टिक सामानमुक्त बनाउने अभियान सुरु गरेको छ । हानले देशभर रहेका होटेलका कोठामा पुनः प्रयोग नहुने प्लास्टिकजन्य सामानको प्रयोग क्रमशः घटाउँदै दीर्घकालमा प्लास्टिकमुक्त बनाउने अभियान सुरु गरेको हो । होटेलका कोठामा दैनिक प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्दा वातावरण संरक्षणमा सहयोग पुग्ने हानको विश्वास छ । 

नेपालको पर्यटन वातावरणमैत्री रहेको सन्देश विश्वमाझ पुर्याई पर्यटन प्रवर्द्धनमा जोड दिन हानले आफ्ना सदस्य होटेलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढवा दिने उद्देश्य लिएको छ । होटेलका कोठामा प्रयोग गरिने पुनः प्रयोगमा नआउने प्लास्टिक वस्तुहरूमा प्लास्टिक झोला, स्ट्र, कफी स्टरर, सोडा र पानीका बोतल, प्याकेजिङ सामान मुख्य हुन्छन् ।

हरेक वर्ष करिब तीन सय मिलियन टन प्लास्टिक उत्पादन हुने गर्छ, जसमध्ये आधा मात्र प्लास्टिक डिस्पोजेबल हुने हानले बताएको छ । विश्वव्यापी रूपमै होटेलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरूलाई न्यूनीकरण गरी हरित आतिथ्यता उद्योगको परिकल्पना गरिएको छ । यसलाई निरन्तरता दिँदै हानले नेपालको वातावरणीय दिगोपनाका लागि होटेलका कोठामा प्रयोग हुने प्लास्टिक वस्तुहरूको विकल्प खोजेको हो । 

होटेलका कोठा बुकिङ गर्ने चर्चित अनलाइन प्लेटफर्म बुकिङ डटकमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाले पर्यावरणमैत्री होटेल रुचाउने गरेको देखिन्छ भने भन्डै ८७ प्रतिशत पर्यटक दिगो यात्राका लागि तयार रहेको देखिन्छन् । होटेललाई वातावारणमैत्री प्रविधि प्रयोग गरेर वातावरण र दिगो विकासमा उल्लेख्य योगदान पुग्ने हानको विश्वास छ ।

सुझावित समाचार