विदेशस्थित नेपाली नियोग पुनरावलोकन गर्ने सरकारको घोषणा

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण

तर, चार वर्षअघिको अध्ययन प्रतिवेदन परराष्ट्र मन्त्रालयको दराजमै थन्कियो

सरकारले आगामी आर्थिक वर्षको बजेटमा विदेशस्थित नेपाली नियोगहरूको संख्या पुनरावलोकन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा नेपाली नियोगहरूको संख्या पुनरावलोकन गर्ने उल्लेख छ । साथै, नेपाली नियोगको भौतिक उपस्थिति नरहेका ठाउँमा भर्चुअल दूतावासको अवधारणाअन्तर्गत सेवा प्रवाह गर्ने भएको छ । तर, नेपाली नियोगहरूको पुनरावलोकनका लागि तयार भएका अध्ययन प्रतिवेदन सरकारले कार्यान्वयन गरेको छैन । परराष्ट्र मन्त्रालयले चार वर्षअघि तयार गरेको अध्ययन प्रतिवेदन अलपत्र अवस्थामा छ । 

‘नेपालको आर्थिक कूटनीतिलाई वैदेशिक लगानी, निर्यात व्यापार, पर्यटन प्रवर्द्धन, विकास सहायता परिचालन, प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा प्रभावकारी र उद्देश्यमूलक ढंगले परिचालन गरिनेछ । बदलिँदो परिवेश र कार्यबोझ विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा विदेशमा रहेका नियोगहरूको संख्या पुनरावलोकन गरिनेछ,’ बजेटको बुँदा नम्बर २५८ मा उल्लेख छ ।

डा.मदनकुमार भट्टराई, पूर्वपरराष्ट्रसचिव
हालसम्म कूटनीतिक नियोगहरूको पुनरावलोकन गर्ने नाममा आफ्ना मानिस भर्ना गर्नेबाहेक केही उपलब्धि हुन सकेको छैन । अहिलेसम्मको प्रवृत्ति योभन्दा फरक छैन । हाम्रा कूटनीतिक नियोगहरूको विस्तृत पुनरावलोकन होस् भन्ने आशा गरौँ ।

अर्थमन्त्री शर्माले नेपाली नियोगको भौतिक उपस्थिति नरहेको स्थानमा भर्चुअल दूतावासको अवधारणाअन्तर्गत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने पनि उल्लेख गरेका छन् । नयाँ संविधान जारी भएपछिका सरकारले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको पुनरावलोकन गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । तर, कार्यान्वयन भएको छैन । 

पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईले हालसम्म कूटनीतिक नियोगहरूको पुनरावलोकन गर्र्ने नाममा आफ्ना मानिस भर्ना गर्नेबाहेक केही उपलब्धि हुन नसकेको टिप्पणी गरे । उनले छिमेकी, ठूला शक्ति, नेपाललाई सहायता दिने तथा नेपालको व्यापार प्रवर्द्धन हुन सक्ने मुलुक तथा विश्वमा ठूलो डायस्पोरा भएका ठाउँमा दूतावास आवश्यक रहेको बताए । 

पूर्वराजदूत एवं प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वपरराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले कूटनीतिक नियोगहरूको पुनरावलोकन गर्ने सरकारी घोषणा स्वागतयोग्य रहेको र कार्यान्वयनमा जानुपर्ने बताए । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले हालसम्म १७६ मुलुकसँग कूटनीतिक सम्बन्ध विस्तार गरेको छ । ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । विदेशमा परराष्ट्रका १३३ कर्मचारी कार्यरत छन् । सहसचिव चार, उपसचिव २८, शाखा अधिकृत ४८ र नासु ५३ जना कार्यरत छन् । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र सात प्रदेशमा १० जना अधिकृत गरी जम्मा १५८ दरबन्दी छ । 

परराष्ट्रबाहिरका ४३ जना कर्मचारी पनि देशबाहिर नियोगहरूमा कार्यरत छन् । यीमध्ये सहसचिवस्तरीय १६, उपसचिव ११, शाखा अधिकृत ११, नासु पाँचजना छन् । सहसचिवमध्ये महावाणिज्यदूत ५, मिनिस्टर इकोनोमिक ५, सैनिक सहचारी ७, प्रहरी अधिकृत १ र राअवि अधिकृत एकजना छन् । विभिन्न मुलुकमा नेपालका ३० दूतावास, संयुक्त राष्ट्रसंघका लागि तीनवटा स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन् । परराष्ट्र मन्त्रालयमा १० महाशाखा, पासपोर्ट विभाग र कन्सुलर सेवा विभाग छन् । विज्ञहरूले परिवर्तित परिस्थितिमा भारत र चीनलाई हेर्ने बेग्लै महाशाखा स्थापना गर्नुपर्ने सुझाव दिँदै आएका थिए । 

डा. दिनेश भट्टराई, पूर्वराजदूत
विदेशस्थित नियोगहरूको पुनरावलोकन गर्नैपर्छ । हामीले अहिलेसम्म विस्तृत अध्ययन र प्राथमिकताका आधारमा दूतावास र नियोग स्थापना गरेका छैनौँ । मुलुकको आर्थिक हैसियत र प्राथमिकताका आधारमा नियोगहरूका विषयमा निर्णय लिनुपर्छ ।

चार वर्षदेखि अलपत्र परेको प्रतिवेदन
केपी ओली नेतृत्वको सरकारले २१ मंसिर ०७५ मा कूटनीतिक नियोगहरूको औचित्य अध्ययन गरी सुझाव दिन परराष्ट्रका पूर्वसहसचिव रुद्र नेपाल नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलले १३ नियोगको प्रभावकारिता अध्ययन गरेर प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा द्विपक्षीय सम्बन्ध, उपलब्धिको समीक्षा गर्ने र भावी दिनमा आर्थिक कूटनीति प्रवर्द्धन गर्न सक्ने सम्भावना, डायस्पोरा, जनशक्ति, नियोगको कार्यचाप, नियोगको पुनर्संरचना, स्थानान्तरण, कर्मचारी थपघटलगायतका बारेमा अध्ययन गरेको थियो । कार्यदलको प्रतिवेदन परराष्ट्र मन्त्रालयले ग्रहण गरेर हाल दराजमा थन्क्याएर राखेको छ । 

कार्यदलले विस्तृत अध्ययन गरेर विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको मूल्यांकनसम्बन्धी प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो । सरकारी कार्यदलले १३ नियोग क्यानडा, कायरो, कुवेत, डेनमार्क, इजरायल, दक्षिण अफ्रिका, ब्राजिल, भियना, बहराइन, ओमान, स्पेन, म्यानमार, न्युयोर्कस्थित महावाणिज्य दूतावासको अध्ययन गरेको थियो । 

कार्यदलले डेनमार्कले ०१७ देखि नेपालमा दूतावास हटाएको र नेपाललाई विकास सहायताको प्राथमिकताबाट पनि अलग गरेका कारण दूतावास आवश्यक नपर्ने सुझाव दिएको छ । कार्यदलले फिनल्यान्ड वा नर्वेमध्ये एउटा मुलुकमा डेनमार्कमा रहेको नेपाली दूतावास स्थानान्तरण गर्न सिफारिस गरेको छ । नेपालमा फिनल्यान्ड र नर्वे दुवै मुलुकले दूतावास राखेका छन् । 

स्पेनस्थित दूतावासमा तत्काल कार्यवाहक राजदूत राखेर भविष्यमा निर्णय लिनुपर्ने पनि कार्यदलको सुझाव छ । स्पेनमा सन् ०१७ मा नेपाली दूतावास स्थापना भएको थियो । राजदूतसहित तीनजना कूटनीतिक कर्मचारीको दरबन्दी छ । दक्षिण अफ्रिकामा राजदूत नराखेर कार्यवाहक राजदूत राख्नुपर्ने कार्यदलको सुझाव छ । 

नेपालीहरूको श्रम गन्तव्य रहेका साउदी अरेबिया, युएई, कतारमा दूतावास कायम राख्नुपर्ने, तर बाँकी खाडी देशमा रहेका दूतावासलाई कार्यवाहकस्तरमा राख्नुपर्ने वा महावाणिज्य दूतावासस्तरमा परिणत गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ । यसैगरी, क्यानडास्थित नेपाली दूतावास पनि भविष्यमा पुनर्विचार गर्नुपर्ने सुझाव छ । 

कार्यदलले टर्कीमा दूतावास स्थापना गर्न सुझाव दिएको छ । टर्की युरोप र एसियाको सेतु एवं युरोपको छैटौँ ठूलो अर्थतन्त्र भएको मुलुक हो । टर्कीसँग नेपालको सोझो हवाई सम्पर्क छ । कार्यदलले इटाली, आसियानको हेडक्वार्टर रहेको इन्डोनेसिया, आसियानको प्रमुख व्यापारिक नाका भएकाले सिंगापुरमा दूतावास स्थापनाका लागि सिफारिस गरेको छ ।

संयुक्त राष्ट्र संघीय एजेन्सी धेरै रहेका कारण केन्यामा दूतावास राख्नुपर्ने पनि सुझाव छ । कार्यदलले सार्कका सदस्य मुलुकहरू भुटान, मालदिभ्स र अफगानिस्तानमा दूतावास स्थापना गर्न सिफारिस गरेको छ । नेपालका सबै महादेश, सबै शक्तिराष्ट्र, विकास साझेदार मुलुक, श्रम गन्तव्य मुलुकमा दूतावास छ । दक्षिण एसियामा अफगानिस्तान, भुटान र मालदिभ्समा छैन । 

भारतका मुम्बई र बिशाखापटनममा महावाणिज्य दूतावास थप्न कार्यदलले सिफारिस गरेको छ । कार्यदलले भारत, चीन, अमेरिका, जर्मनी, अस्ट्रिया र फ्रान्सस्थित दूतावासमा कूटनीतिक कर्मचारीहरू थप्न पनि सिफारिस गरेको छ । रुसको मस्कोमा रहेको नेपाली दूतावास थप प्रभावकारी बनाउन पनि कार्यदलले सिफारिस गरेको थियो । 

सुझावित समाचार