मेलम्ची आयोजना सुरुङको मूलढोका बन्द, कात्तिकसम्म उपत्यकामा पानी नआउने

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण
मेलम्ची आयोजना सुरुङको मूलढोका बन्द, कात्तिकसम्म उपत्यकामा पानी नआउने

फाइल फाेटाे ।

सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलढोका (गेट) बन्द गरिएको छ। आयोजनाको प्राविधिक टोली पुगेर मंगलबार बिहान सुरुङको मुख बन्द गरेर फर्किएको हो।

प्रि–मनसुन सुरु हुन लागेकाले उक्त ढोका कात्तिकसम्मका लागि बन्द गरिएको आयोजनाले जनाएको छ। ढोका बन्द गरेसँगै मंगलबारदेखि काठमाडौंमा पानी आउन पनि बन्द भएको छ। मेलम्चीको बाढीले मुहान तथा सुरुङ क्षेत्रमा क्षति पुर्‍याउने भएकाले पाँच महिनाका लागि ढोका बन्द गरिएको हो। 

सुरुङको ढोका बन्द भएसँगै काठमाडौंको महाँकालस्थित भण्डारण पोखरीमा पानी आउन बन्द भएको आयोजनाले जनाएको छ।

मेलम्चीको पानी बन्द भएपछि ग्राहकको घरमा पानी पठाउने तालिकामा केही हेरफेर हुने भएको छ। मेलम्चीको खानेपानी नआउने भएपछि पुरानै तालिकाअनुसार पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ।

सुझावित समाचार