दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा अरुणा थापामगर विजयी भएका हुन्। कांग्रेसका नइन्द्र राईलाई ६ सय ४१ मतले पछि पार्दै लोकेन्द्र गाउँपालिका प्रमुखमा विजयी भएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए। लोकेन्द्रले दुई हजार आठ सय तीन र नइन्द्रले दुई हजार एक सय ६२ मत प्राप्त गरेका छन्।
यस्तै, उपप्रमुखमा विजयी मगरले दुई हजार सात सय ३३ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी रमा कटवालले दुई हजार तीन सय १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। माओवादी केन्द्रका गाउँपालिका प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले दुई हजार ९३ मत र उपप्रमुखका उम्मेदवार नैनकुमारी खत्रीले एक हजार सात सय ६ मत प्राप्त गरेका छन्। निर्वाचनमा तेस्रो मत प्राप्त गरेका गोपालचन्द्र सरकारी अधिकृतको जागिर छाडेर गाउँपालिका प्रमुखका उम्मेदवार बनेका थिए।
दिप्रुङ चुइचुम्मामा कांग्रेस, माओवादी केन्द्र र एमाले गठबन्धन नगरी छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेर चुनावमा लडेका थिए। सातवटा वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको चार वडामा एमाले र तीन वडामा कांग्रेस विजयी भएको छ।
वडा नं. १ याम्खामा कांग्रेसका केशवकुमार खत्री, वडा नं. २ डाँडागाउँमा कांग्रेसकै बद्री कटवाल, वडा नं. ३ छोरम्बुमा एमालेका भूपेन्द्र बस्नेत, वडा नं. ४ बतासेमा एमालेका बबेन्द्र राई, वडा नं. ५ सछितापोखरीमा कांग्रेसका डम्बरहादुर खड्का, वडा नं. ६ छितापोखरीमा एमालेका मिलन राई र वडा नं. ७ टेम्मामा एमालेका गन्धमान मगर वडाध्यक्षमा निर्वाचित भएका छन्।