मोरङको रंगेली नगरपालिकामा मतगणना स्थगित भएको छ । निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेस पक्षले बहिष्कार गरेपछि मतगणना स्थगित भएको हो । वडा नं. ८ मा अध्यक्ष पदका कांग्रेस उम्मेदवारले सिल नगरिएका मतपेटिकहरू भेटिएको भन्दै विवाद गरेपछि शनिबार राति ११ बजेदेखि यस नगरपालिकाको मतगणना स्थगित भएको हो ।
रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि काफ्लेले समस्याबारे प्रशासन र निर्वाचन आयोगलाई राति नै जानकारी गराइसकेको र आयोगको निर्देशनअनुसार स्थगित भएको मतगणना सुरु गरिने जानकारी दिए ।
मतदान अधिकृत काफ्लेका अनुसार कांग्रेसबाट ८ नम्बर वडा अध्यक्ष पदका उम्मेदवारले शनिबार राति वडाबाट सिल नगरिएका मतपेटिकाहरू ल्याएको भन्दै स्टोर गरेर राखिएका मतपेटिका देखाउन माग गरेका थिए ।
कांग्रेसका उम्मेदवार र कार्यर्ताहरूले स्टोर गरेर राखिएका मतेपेटिका हेर्न नदिएको भन्दै मतगणना बहिष्कार गरेका हुन् । कांग्रेस पक्षले निर्वाचनमा धाँधली भएको भन्दै पुन: निर्वाचन गराउन माग गर्दैै निर्वाचन अधिकृतको कार्यालयमा उजुरीसमेत पनि दिएको छ ।
यता निर्वाचन अधिकृत रामहरि काफ्लेले आफूहरूको कुनै त्रुटि नगरेको र सबै दलका प्रतिनिधि सहभागी नभएकाले तत्काललाई मतगणना स्थगित गरेको भन्दै जिल्ला प्रशासन र निर्वाचन आयोगलाई जानकारी गराएका छन् ।