सत्तापक्ष र प्रमुख प्रतिपक्षी शीर्ष नेता अन्तिम कसरतमा

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

एमालेले जिते ओलीले फेरि संसद् भंग गर्छन् : देउवा

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले चुनाव जितेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनः संसद् भंग गर्न सक्ने बताएका छन् । धनगढीमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीले स्थानीय तह पनि भंग गरिदिन सक्ने बताएका हुन् । संसद् जोगाउनका लागि पनि गठबन्धनको जित आवश्यक रहेको उनको भनाइ थियो ।

‘आफ्नो दुईतिहाइ बहुमत आउँदा पनि संसद् भंग गर्ने । अदालतबाट संसद् फिर्ता ल्याएपछि फेरि भंग गर्ने । फेरि अदालतले पुनस्र्थापना गरेको संसद् पनि चल्न नदिने ?’ एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै उनले भने, ‘एमाले पार्टीलाई जिताएर के गर्ने, फेरि संसद् भंग गर्ने ? फेरि त्यही गराउने ? ओलीजीको पार्टी जिताउनु भनेको संसद् भंग गर्नेलाई ल्याउनु हो ।’ ओलीले सरकारमा रहँदा संसद्मा विपक्षी रहेको कांग्रेसको विरोधलाई स्वीकार गर्न नसक्ने देउवाको भनाइ थियो । विपक्षीको आवाज सुन्न नसक्ने, संसद् भंग गरिरहने र आफू विपक्षमा हुँदा संसद् चल्न नदिने ओलीलाई फेरि सरकारमा आउन दिन नहुने उनले जिकिर गरे । 

ओलीले स्थानीय तहसमेत भंग गर्न सक्ने प्रधानमन्त्री देउवाले दाबी गरे । प्रधानमन्त्री हुँदा ओलीले प्रदेश सभासमेत भंग गर्न खोजेको देउवाको आरोप थियो । ‘उनले (ओलीले) त स्थानीय सरकार पनि भंग गर्दिन्छन्,’ देउवाले भने, ‘यो सबैको सरकार हो । गठबन्धनको सरकार हो । त्यसैले यो सरकार बलियो बनाउनका लागि पनि गठबन्धनलाई स्थानीय निकाय जिताउन जरुरी छ ।’ देउवाले आफ्नो पार्टीका बागी उम्मेदवारलाई कुनै हालतमा माफी नदिनेसमेत प्रस्ट पारे । उनले बागी उम्मेदवारलाई विज्ञप्ति निकालेर आधिकारिक उम्मेदवारको पक्षमा लाग्न पनि निर्देशन दिए । बागी उम्मेदवारको झगडा कांग्रेसमा कहिल्यै नहटेको भन्दै उनले यसपटक बागीलाई माफी नदिइने बताए । ‘हामी उम्मेदवार छैनौँ भनेर फिर्ता लिनोस् । म अहिल्यै भन्न चाहन्छु, बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिनेछैन, माफी दिइनेछैन,’ देउवाले भने । 

देउवाले आफू सुदूरपश्चिमको विकासका लागि सधैँ लागिपरेको बताए । विगतमा आफ्नै पालामा २२ वटा पुल बनेपछि सुदूरपश्चिम देशको अन्य भू–भागसँग जोडिएको उनले बताए । चुनावपछि पनि गठबन्धनकै सरकार रहने भएकाले विकासका लागि पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिएर सबभन्दा बढी बजेट पनि सुदूरपश्चिमलाई दिलाउने उनले प्रतिबद्धता जनाए । सभालाई माओवादी अध्यक्ष प्रचण्डले पनि सम्बोधन गरेका थिए । 

देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउनका लागि पाँचदलीय गठबन्धन बनेको बताएका छन् । कञ्चनपुरको बेलौरीमा सोमबार माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशलाई ठूलो दुर्घटनाबाट जोगाउनका लागि वाम–लोकतान्त्रिक गठबन्धन गरिएको जिकिर गरे । 

‘केपी नेतृत्वको सरकारले संविधान हत्या गर्न खोज्यो, मुलुकलाई दुर्घटनातर्फ लग्न खोजेपछि हामी पाँच दल एक ठाउँमा उभिएका हौँ,’ ‘प्रचण्डले भने, ‘संविधानको रक्षा र प्रतिगमनविरुद्धमा गठबन्धन गरेका छौँ ।’ ओलीले संविधान मास्न खोज्दा सडक, सदन र अदालतबाट ओलीको असंवैधानिक कदम परास्त गरिएको प्रचण्डले बताए । ‘ओलीको सरकारले देशलाई दुर्घटनातर्फ लग्न खोज्यो, ‘प्रचण्डले भने, ‘हामीले ओलीलाई बालुवाटारबाट बालकोट मात्र होइन, सातै प्रदेशबाट एमालेलाई बिदाइ गरी गठबन्धन सरकार बनाएका छौँ ।’ प्रचण्डले सोमबार नै कालिकोट, डोटी र बैतडीका सभालाई सम्बोधन गरे । 

देश बनाउने पार्टी एमाले नै हो : ओली

एमाले अध्यक्ष केपी ओलीले देश बनाउने पार्टी एमाले मात्र रहेको दाबी गरेका छन् । एमाले पोखरा महानगरले सोमबार अमरसिंह चौरमा गरेको सभामा ओलीले पाँचदलीय गठबन्धन गन्तव्यहीन रहेको आरोप लगाए । स्थानीय तहको निर्वाचनपछि सत्तागठबन्धन नरहने बताएका ओलीले प्रदेश र संघको आगामी निर्वाचनसम्ममा गठबन्धनका दलको अस्तित्व नै नरहने जिकिर गरे । 

‘एमालेको चुनावचिह्न सूर्यतिर हेर्नुस् त, घामसँगै कति उज्यालो छ, कांग्रेसको चुनावचिह्न रुख ओइलाएर धोत्रो लागेको छ, माओवादी केन्द्र रित्तो भइसकेर बिर्को मात्र बाँकी रहेको छ र एकीकृत समाजवादी टुँडो भाँचिएको कलमको छेस्को जस्तो रहेको छ,’ ओलीले सत्तागठबन्धनका दललाई व्यंग्य गरे । उनले एकीकृत समाजवादीमा लागेका नेता–कार्यकर्तालाई माधव नेपालको भविष्यको टुंगो नभएको भन्दै एमालेमा फर्कन आग्रह गरे । ‘माधव नेपालसँग पछि लागेका नेता–कार्यकर्ता फर्किनुस् । अलमलिएर जति बस्नुहुन्छ, त्यति बेफाइदा हुन्छ,’ ओलीले भने, ‘माओवादीको भाँडोसमेत एमालेमा आइसकेकाले बाँकी रहेकाहरू पनि फर्किनुस् । हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ र अरू दललाई सेतीमा सलल बगाइदिनुपर्छ ।’

उनले एमालेबाट उठेका सबै उम्मेदवारलाई मतदान गर्न आह्वान गरे । ‘पार्टीका उम्मेदवारलाई जिताउने काम तपाईंको हो, पोखराको विकास गर्ने काम एमालेको हो, यो खबर सबैमा पुर्‍याउनुहोला,’ उनले भने । 

गठबन्धनका कारण महिलाले ३३ प्रतिशत अधिकार पाउनबाट वञ्चित हुनुपरेको ओलीको भनाइ थियो । ‘गठबन्धनको नाममा ३३ प्रतिशत महिलालाई उम्मेदवार हुनबाट वञ्चित गरियो । देशमा महिलाको हक स्थापित गर्ने पार्टी एमाले मात्र रहेको अब पुष्टि भयो,’ उनले भने, ‘सुशासन र विकासलाई अगाडि बढाउने पार्टी पनि एमाले मात्रै हो ।’ एमालेले देश र जनतालाई कहिल्यै धोका नदिने भन्दै ओलीले एमालेलाई देशको पहिलो राष्ट्रिय पार्टी बनाउन मतदातासँग पटक–पटक मतको अपिल गरे । 

गठबन्धन अहिलेको अपरिहार्यता हो : थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले गठबन्धन अहिलेको अपरिहार्यता भएको बताएका छन् । कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई उल्टो बाटोमा धकेलेपछि यो गठबन्धन बनेको हो,’ थापाले भने, ओलीले दुई–दुईपटक संसद् विघटन गरेर देशमा अस्थिरता निम्त्याएपछि गठबन्धन जन्मिएको हो ।’ 

उनले कांग्रेस र एमालेबीच विकासको समझमै भिन्नता रहेको बताए । कांग्रेसले आमनागरिकलाई र एमालेले कंक्रिटका संरचनालाई महत्व ठानेको उनको भनाइ छ । ‘एमालेका साथीहरूले कांग्रेसलाई विकास चाहिएको छैन भनिरहनुभएको छ । कांग्रेसको घोषणापत्रको कभर पेजमा बालबालिका, ज्येष्ठ नागरिक र स्वास्थ्य चौकीको चित्र छ । हामी त्यही चित्रमा देखाइएकाहरूको जीवन परिवर्तन गर्न चाहन्छौँ,’ थापाले भने, ‘एमालेको घोषणापत्रको कभर पेजमा भ्युटावर, पानीजहाज र रेलको चित्र छ । उहाँहरू भ्युटावर बनाउनु, पानीजहाज र रेल कुदाउनु मात्र विकास देखिरहनुभएको छ । हामीबीचमा यही भिन्नता छ ।’

सम्पादकको रोजाइ

सुझावित समाचार