काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार थापाका यस्ता छन् चारखम्बे कार्यनीति

शुक्रबार, २३ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बनेका बालेन शाहको चर्चा भइरहँदा सोही ठाउँका स्वतन्त्र उम्मेदवार सुशील थापाको भने निकै कम चर्चा छ। सेवा–सुरक्षा, वातावरण, विकास र व्यवसायसहितको चारखम्बे कार्यनीति बोकेर आएका उनी पनि स्थानीय निर्वाचनमा महानगर हाँक्ने मेयर बन्ने दौडमा छन्। काठमाडौंका स्थानीय बासिन्दा रहेका उनीसँग काठमाडौंलाई सपार्ने फरक रणनीति छ।

उनले काठमाडौं महानगरको विकासका लागि चारखम्बे कार्यनीति अघि सारेका छन्। यो उनको चुनावी प्रतिबद्धता पनि हो। महानगरबाट प्रदान गरिने सेवा सुविधा, संस्कृति–सम्पदा, वातावरण, यातायात, सहरी सुविधा, रोजगार, शिक्षा, स्वास्थ्य, महिला, जेष्ठ नागरिक, बालबालिका, युवालगायत सबै क्षेत्रलाई उनले चारखम्बे कार्ययोजनाभित्र समेट्न खोजेका छन्। 

आफू निर्वाचित भए महानगरले यी चारखम्बे कार्यनीतिलाई अवलम्बन गर्ने उनको भनाइ छ। यही ढाँचामा काम गर्दा महानगरका सबै समस्या समाधान हुने उनको बुझाइ छ। ‘मेरो बुझाइमा काठमाडौंलाई व्यवस्थित पार्न त्यस्तो ठूलो योजना चाहिँदैन, मुख्य चारवटा विषयलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने काठमाडौं व्यवस्थित बन्छ,’ उनले भने, ‘मैले आफ्नो चुनावी प्रतिबद्धता-पत्रमा पनि त्यही कुरा उल्लेख गरेको छु।’

महानगरमा स्वतन्त्रतर्फबाट उम्मेदवार बनेका थापा स्विस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्षसमेत हुन्। उनीसँग काठमाडौंको संस्कृति बचाएर काठमाडौंलाई यसभन्दा व्यवस्थित पार्ने योजना छन्। उनले आफू निर्वाचित भए आफैँले मेट्रो सिटी अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेका छन्। ‘काठमाडौंलाई सपार्न त्यस्तो धेरै ठूला परियोजना चाहिँदैनन्, चारखम्बे योजनाअनुसार काम गर्ने हो भने सहर व्यवस्थित बन्छ,’ उनले भने, ‘यहाँको यातायात व्यवस्थित पार्ने, फोहोर व्यवस्थापन गर्ने, महानगरका सेवा सुविधालाई सहज रूपमा प्रवाह गर्ने, शिक्षा र स्वास्थ्यमा विषेश जोड दिने, आय आर्जन र व्यवसायका अवसरहरू बढाउने, संस्कृति संरक्षण गर्ने, पर्यटनलाई उकास्नेजस्ता योजनाले काठमाडौं व्यवस्थित बन्छ।’
यस्ता छन् चारखम्बे कार्यनीति योजना 
सेवा र सुरक्षातर्फ
•    जेष्ठ नागरिकको लागि घरमा स्वास्थ्य सुविधा, हरियाली पार्क र ३२ वटा सार्वजानिक शौचालय निर्माण,
•    विशेषज्ञसहितको अस्पताल ३२ वडामा दिवा सेवा र ल्याबसहितको पोलिक्लिनिक,
•    महिला मात्रका लागि छुट्टै गुलाबी बस र पर्यटक बस सेवा,
•    १५ मिनेटमै पुग्नेगरी १० वटा बारुणयन्त्र/दमकल केन्द्र र ३२ आधुनिक सुविधायुक्त  एम्बुलेन्स,
•    पदमार्गमा रेलिङ र बत्ती, चोकहरूमा क्यामेरासहितको ट्राफिक लाइट,
वातावरणतर्फ 
•    शून्य फोहोर अवधारणाको विश्वस्तरको प्रविधि प्रयोग गर्ने,
•    खाली ठाउँमा घास, बिरुवा र फूल रोपेर धुलो न्यूनीकरण गर्ने,
•    हरेक वडा र टोलमा सार्वजनिक स्थानको पहिचान, खोला नाला वरिपरि १ लाख बिरुवा लगाइने,
•    पर्याप्त पैदलमार्ग, साइकल लेनको स्थापना, अपांगमैत्री बाटो, विद्युतीय सवारीसाधनलाई महत्व दिने,
•    व्यापार र व्यापारीमैत्री करको प्रोत्साहन गर्ने, 
•    प्रशासनिक झन्झट निर्मूल गरी सम्पूर्ण नगर सेवाको डिजिटलाइजेसन गर्ने,
•    नयाँ व्यवसाय प्रबर्धनको निम्ति कानुनी र प्रशासनिकसहितको भवन बनाउने,
संस्कृति–सम्पदा
•    भूकम्पले क्षति पुर्याएका र बेवास्ता भएका मठमन्दिर पाटीपौवाको पुनर्स्थापना गर्ने,
•    सहरी संस्कृति, सम्पदा र नेवारी सभ्यता संरक्षणका लागि एक अधिकार सम्पन्न कमिश्नरको दरबन्दी, 
•    मानव श्रमबाट निर्मित कार्पेट, पस्मिना, हस्तकलाजस्ता मुर्झाएका सामग्री जुर्मुराउने वातावरण बनाउने,
•    मूर्तिहरूको संरक्षण र मन्दिरहरूको पुनर्निर्माण,
•    चोक, बहाल, हिटी, धाराहरूको संरक्षण,
•    यहाँको बागमती सभ्यता, लिच्छवी सभ्यता, मल्लकालीन सभ्यता, बागमती सभ्यताको प्रबर्धन, 
•    भइरहेको पुनर्निर्माणलाई व्यवस्थित र छरितो, पुरातात्विक चिजहरूलाई फेरि व्यवस्थित,
विकास र व्यवसायतर्फ 
•    महानगर प्रायोजित सुविधायुक्त सस्तो तरकारी बजार, किसान मेला, सडक मेला, रोजगार मेला र सार्वजनिक पुस्तकालय सञ्चालन गर्ने,
•    भवन निर्माण, व्यवसाय र स्थानीय बासिन्दाको पार्किङको निम्ति कोड सिस्टमद्वारा वर्गीकरण गर्ने, 
•    ध्वनी प्रदूषण र लथालिंग होर्डिंङबोर्ड र पर्यटकीय सम्पदा वरिपरि अनियन्त्रित विकासको व्यवस्थापन,
•    दशवटा सार्वजनिक स्कुललाई अन्तर्राष्ट्रियस्तरको विद्यार्थी उत्पादन गर्ने नमुना स्कुलको रूपमा विकास गरिनेछ,
•    बागमती सभ्यता, लिच्छवी सभ्यता, मल्लकालीन र नेवारी सभ्यताको मिश्रणले बनेको अत्यन्तै गौरवशाली सुसंस्कृत सभ्यता र यसका धरोहरहरूको संरक्षण, 

सम्पादकको रोजाइ

सुझावित समाचार