त्रियुगा नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार बनेका बस्नेतविरुद्ध उजुरी

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण
त्रियुगा नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार बनेका बस्नेतविरुद्ध उजुरी

बसन्तकुमार बस्नेत

उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका वसन्तकुमार बस्नेतको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ । नेकपा एमालेबाट त्रियुगा नगरपालिकाकाे मेयर पदका उम्मेदवार रहेका भागवत राउतले बस्नेतको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन् । 

बस्नेतले एपेक्स इन्द्रेणी जे.भी. को नामबाट कारोबार गर्दा मूल्य अभिवृद्धिकर भ्याट बक्यौता तिर्न बाँकी रहेको भन्दै राउतले सोमबार मुख्य निर्वाचन कार्यालयमा उजुरी दिएका छन् । बस्नेत निर्माण व्यवासायीसमेत हुन् । 

उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले उजुरीउपर छानबिन गरिने बताए । ‘उजुरी जहिले पनि आउने गर्दछ,’ उनले भने, ‘ कुरा सामान्य प्रकृतिको हाे भन्ने सुनेको छु, यदि गम्भीर प्रकारको रहेछ भने माथि पठाउँछौँ ।’

कांग्रेसबाट मेयरका उम्मेदवार तथा एपेक्स इन्द्रेणी जे.भी. प्रोपाइटर बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्त गर्न बाँकी रहेकाले निजको उम्मेदवारी खारेजी गर्न माग गर्दै उजुरी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उजुरीमा भनिएको छ, ‘स्थानीय निर्वाचन ऐन, २०७३ को दफा १४ (२) बमोजिम गरी १४ (१) अनुसार उम्मेदवारी रद्द गरिपाऊँ ।’ ऐनमा यस्तो छ, ‘१४ को (१) कुनै उम्मेदवार निर्वाचन परिणाम घोषणा नहुँदै दफा १३ बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठी ततसम्बन्धमा आवश्यक छानबिन गरी निर्वाचन अधिकृतले अयोग्य भएको ठहर गरेमा त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द हुनेछ । (२) उपदफा (१) बमोजिम उम्मेदवारी रद्द गर्नुअघि निर्वाचन अधिकृतले सम्बन्धित उम्मेदवारलाई कम्तीमा २४ घण्टाको समय दिई आफ्नो सफाइ पेस गर्ने मौका दिनुपर्नेछ ।’ 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार