मतगणनास्थलमा सिसिक्यामेरा अनिवार्य

शुक्रबार, १६ बैशाख, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ मा सात सय ५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रूपमा सिसिक्यामेराको प्रबन्ध गर्न लगाएको छ। मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सिसिक्यामराको प्रबन्ध गर्न आयोगले निर्देशन दिएको हो।

सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्रसमेत गरिसकेको छ। आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनैकुनै पालिकामा उक्त क्यामरा राख्नै पर्ने–नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न हुने बताए।

गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनः मतदानसमेत भएको थियो। यसैगरी यसपटकको निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ। आयोगले रंगीन र श्यामश्वेत दुवै रंगमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली सम्बन्धित पालिकागत आधारमा पठाएको आयोगका प्रवक्ता एवं सहसचिव पौडेलले बताए। रासस

सम्पादकको रोजाइ

सुझावित समाचार