स्थानीय निर्वाचन : उपयुक्त नेतृत्व छनोटको अवसर

श्रम नगरी राष्ट्रवादको नाराले मात्र अन्न उमार्दैन भन्ने उद्घोष गर्दै जनतालाई श्रममा आबद्ध गर्ने कार्यक्रमसहित मतदातासँग भोट माग्न आउने उम्मेदवारलाई जनप्रतिनिधि चयन गर्नुपर्छ

शुक्रबार, १६ बैशाख, २०७९
डिजिटल संस्करण

करिब एक करोड ७९ लाख मतदाताले ७५३ स्थानीय सरकारका लागि ३५ हजार २२१ प्रतिनिधि चुन्ने २०७९ वैशाख ३० को स्थानीय निर्वाचन नजिकिँदै गर्दा यसको चर्चा–परिचर्चा र बहसले आममानिसलाई आकर्षित गर्न थालेको छ । जनताका लागि यो कसैको उक्साहटमा लागेर बहकिने नभई संयम र विवेक प्रयोग गरी उचित निर्णय लिने समय हो । बोलीमा प्रस्टता, व्यवहारमा परिपक्वता, विचारमा अडिग, दूरदर्शी चिन्तन र सन्तुलित विकासका बाटाहरू पहिल्याएर समाज परिवर्तन गर्न सक्ने क्षमता भएको समाजसेवी नेताको छनोट गर्ने निर्वाचन हो यो स्थानीय निर्वाचन । समाज परिवर्तन रातारात हुँदैन, तर क्रमशः चालिने स–साना कदमले पनि दिगो खालको अभियान विकास गर्छ । यसका लागि प्रस्ट भिजन, मिसन, कार्यक्रम र दह्रो आत्मविश्वाससाथ बलियो आधार चाहिन्छ । आधार बलियो हुन जनविश्वास र भरोसा बलियो हुनुपर्छ । स्थानीय नेताका योजना र कार्यक्रम समाजसेवी भावनाले पे्ररित भई भुइँ सतहका समस्यामा केन्द्रित हुनुपर्छ । 

ग्रामीण समाजका डोको र नाम्लो श्रम, सिर्जना, सजीव जीवन तथा गरिबीका प्रतीक हुन् । यिनको विकल्प नदिई गरिबी घट्दैन । गरिबी नघटुन्जेल मानिस भोको नै रहन्छ । भोको मानिसले आत्मविश्वाससाथ आफ्नो अधिकार प्रयोग गर्न सक्दैन । जनताकै पसिनाबाट उमारेको अन्न र जनताकै हातबाट पकाएको रोटी जबसम्म मेरो थालीमा आउँदैन, तबसम्म ‘म मेरो गाउँ, मेरो क्षेत्र र मेरा जनताका लागि निरन्तर लडिरहन्छु’ भन्ने र त्यसैअनुसार व्यवहार गर्ने नेता चाहिन्छ । श्रम नगरी राष्ट्रवादको नाराले मात्र अन्न उमार्दैन भन्ने उद्घोष गर्दै जनतालाई श्रममा आबद्ध गर्ने कार्यक्रमसहित जनतासँग भोट माग्न जानुपर्छ । स्थानीय नेता कुुनै गुट, समूह, गठबन्धनभन्दा पनि जनस्तरमा भिजेको र गाउँको फराकिलो सामाजिक धरातलले गरिरहेको चिन्ता र चाहिरहेको आकांक्षालाई सम्बोधन गरी विश्वासमा लिन सक्ने हुनुपर्छ । खेर फालिएका जमिन बाँझै रहेका खेतबारी र रित्तै भएका घर र गोठलाई हराभरा र भरिभराउ बनाउन सक्ने खुबी भएको नेता र जनतामा आशा उमार्न सक्ने कार्यक्रम भएन भने जनताले दिएको भोटको तात्विक अर्थ रहँदैन । यसमा जनताको खबरदारी सुरुदेखि नै आवश्यक हुन्छ । 

जुनसुकै पार्टीको होस्, गाउँमा भोट माग्न आउने नेतालाई अब जनताले भन्नुपर्छ, तपाईं समाजवाद, साम्यवाद वा अन्य कुनै वादका खोक्रा नाराका आशा र अश्वासन मात्र दिने र भ्रम छर्ने घोषणापत्र बोकेर भोट माग्न नआउनुहोस् । कुटो, कोदालो र भोकसँग जोडिएको कार्यक्रम लिएर आउनुहोस् । चुनाव जितेको एक वर्षभित्र जनताको जीवनसँग जोडिएका समस्या पूरा गर्न सक्ने कार्यक्रम बनाउनुहोस् । निर्वाचित हुनेका सन्तान र निर्वाचित गराउनेका सन्तानले एउटै स्कुलमा पढ्न पाउने र बिरामी पर्दा एउटै अस्पतालको बेडमा उपचार गर्न पाउने व्यवस्थाको ग्यारेन्टी गराउनुहोस् । यी कुरामा विश्वास नजगाउने भए जनताले तिनलाई किन भोट दिने ? शिक्षा र स्वास्थ्यलाई निःशुल्क नबनाई व्यापार बनाएर जनताको ढाड सेक्ने परिपाटी हटाइँदैन भने जनताको भोटको के अर्थ ? आपत्कालीन चुनौतीलाई चिर्न नेताले आप्mनो क्षेत्रका हरेक वडामा एउटा स्वास्थ्य केन्द्र र हरेक गाविसमा एउटा सुविधासम्पन्न अस्पताल र सहरी इलाकामा अस्पतालसहित एउटा अक्सिजन प्लान्टको व्यवस्था गर्न सक्नुपर्छ । पानी, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज वातावरणको योजना बनाई जनताका अगाडि प्रस्तुत गर्नुपर्छ । यी सबै सवालको चित्तबुभ्mदो जवाफ पहिला खोजौँ अनि मात्र भोट हालौँ ।

निर्वाचित हुनेका सन्तान र निर्वाचित गराउनेका सन्तानले एउटै स्कुलमा पढ्न पाउने र बिरामी पर्दा एउटै अस्पतालको बेडमा उपचार गर्न पाउने व्यवस्थाको ग्यारेन्टी गर्ने नेतृत्वलाई अबको निर्वाचनमा जिताउनुपर्छ

आधारभूत आवश्यकता पूरा गर्न मानिसले पानी र जंगलको सामीप्य खोजेको हुन्छ । जंगल अक्सिजनको भण्डार मात्र होइन, खाद्यान्न प्राप्त गर्ने आधार पनि हो । समुद्र नजिक भएका मुुलुक समुद्रलाई खाद्यान्नको मूल स्रोत बनाएर धनी भए । सिंगापुर चाँडै धनी हुनुमा समुद्रमा प्रयोग भएका बन्दरगाह र यसबाट प्राप्त हुने राजस्व मूल कारण हो । ७० वर्षअघि भोकमरी लाग्दा खाद्यान्न पठाएर सहयोग गरेको नेपालले अहिले वार्षिक तीन खर्बबराबरको खाद्यान्न आयात गर्छ । दीर्घकालीन सोच तथा स्रोतको सदुपयोग नहुँदाको परिणति हो यो । यसका लागि दिगो कृषि उत्पादनको नीति तथा कार्यक्रम बनाएर लागू गर्नुपर्छ । आप्mनो भूगोलभित्र पाइने जडीबुटी, फलपूmल र खाद्यान्न उपभोग गर्न जनतालाई अपिल गर्नुपर्छ । भूगोलभित्रका स्रोतको पहिचान, संरक्षण र सदुपयोग गर्नुपर्छ । नेपाल विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरूको निष्कर्ष छ, नेपालको वनजंगलमा पाइने फलमध्ये २५६ प्रकारका फल खानयोग्य छन् । कुल ४४.७४ प्रतिशत जंगलले ढाकेको नेपालको भूबनोटमा अधिकांश जंगलले ग्रामीण क्षेत्रको विकासमा मद्दत गर्छ । यी सबै सम्भावनाको जोहो गरी गाउँको विकासमा रणनीतिक उद्देश्यले समाजसेवी भएर जनतालाई आत्मनिर्भर बनाउन ध्यान दिने नेतृत्वको छनोट यो निर्वाचनको आवश्यकता हो ।

स्थानीय तहमा भएका साधन र स्रोतहरूको सही सदुपयोग गर्ने नीति, कार्यक्रम र सक्षम नेतृत्व भएमा गाउँको विकास तथा समृद्ध नेपाल र सुखी नेपाली टाढाको विषय होइन । यो निर्वाचनमा समाज बिगार्ने हिजोका भ्रष्ट र गलत नेतालाई शिक्षा दिने अवसरका रूपमा आप्mनो अमूल्य मतको सदुपयोग गरौँ । मान्छे चिनेर भोट हालौँ, पार्टी वा दलको नेताभन्दा पनि असल र कर्मशील समाजसेवी मान्छे छानौँ । आप्mनै मत भोलि आफैँलाई भारी नबनोस् ।

सुझावित समाचार