- भ्रमणको वास्तविक सफलता संयुक्त वक्तव्यका शब्दमा होइन, नेपालको सार्वभौमिकता, आर्थिक समृद्धि र नागरिकको जीवनमा देखिने परिवर्तनमा प्रमाणित हुनुपर्छ
दिल्लीमा सम्पन्न संयुक्त पत्रकार सम्मेलन प्रत्यक्ष हेरिरहँदा मनमा एउटा प्रश्न बारम्बार आइरह्यो– नेपालले यसपटक साँच्चै नयाँ उपलब्धिको आधार तयार गरेको हो कि विगतमा जस्तै कार्यान्वयनको प्रतीक्षामा रहने प्रतिबद्धताको अर्को सूची थपिएको हो?
सम्भावना र उपलब्धिको आधार : प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई मैले सुरुदेखि नै विशेष चासोसाथ हेरिरहेको थिएँ । दुई प्रधानमन्त्रीबिच व्यक्त कूटनीतिक सद्भावका शब्दमा भन्दा संयुक्त वक्तव्यमा समेटिएका विषय, नेपालले प्राप्त गरेका सहयोग तथा सहकार्यका क्षेत्र र त्यसले नेपालको आगामी दशकको आर्थिक तथा रणनीतिक दिशामा पार्न सक्ने प्रभावतर्फ मेरो ध्यान केन्द्रित थियो । पत्रकार सम्मेलन सकिँदासम्म मेरो अनुभूति मिश्रित थियो– केही सकारात्मक सम्भावनाले उत्साहित बनायो, तर विगतका अनुभवले धेरै प्रश्न पनि उब्जाए ।
भ्रमणअघि नै मैले सार्वजनिक रूपमा एउटा विचार राखेको थिएँ– नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको सफलता कूटनीतिक औपचारिकता, आतिथ्य वा भेटघाटको संख्याले होइन, नेपालले आफ्नो राष्ट्रिय हितमा के हासिल गर्यो भन्ने आधारमा मापन हुनुपर्छ । नेपालको कूटनीति भूराजनीतिक संवेदनशीलता व्यवस्थापन गर्ने तहबाट अघि बढेर सार्वभौमिकता, पारस्परिक सम्मान र राष्ट्रिय स्वार्थमा आधारित रणनीतिक साझेदारीतर्फ जानुपर्छ । सहायता र अनुदानमा निर्भर सम्बन्धलाई लगानी, उत्पादन, रोजगारी, प्रविधि हस्तान्तरण र आर्थिक रूपान्तरणमा आधारित बनाउनुपर्छ । र, सबैभन्दा महत्वपूर्ण, सम्झौता तथा प्रतिबद्धतालाई समयबद्ध कार्यान्वयन र मापनयोग्य परिणाममा रूपान्तरण गर्नुपर्छ ।
संयुक्त वक्तव्यसँगै सार्वजनिक भएका आठवटा समझदारीपत्रले सहकार्यका महत्वपूर्ण क्षेत्र पहिचान गरेका छन् । तीमध्ये फरेन्सिक विज्ञानमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालयबिच अनुसन्धान तथा शैक्षिक सहकार्य हुने भनिएको छ । प्रहरी तालिमका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र भारतको राष्ट्रिय रक्षा विश्वविद्यालयबिच सहकार्य हुने तय भएको छ । नेपाली निजामती कर्मचारीको क्षमता विकासका लागि प्रशासनिक स्टाफ कलेज र भारतको सुशासन केन्द्रबिच सहकार्य, आयुर्वेद तथा परम्परागत चिकित्सा, दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्य विकास पनि समझदारीपत्रमा समेटिएका छन् ।
यी विषय सतही रूपमा हेर्दा प्राविधिक तथा संस्थागत सहकार्यका सामान्य क्षेत्रजस्ता लाग्न सक्छन् । तर, गहिरिएर हेर्दा राज्यको अनुसन्धान क्षमता, सुरक्षा प्रणाली, सार्वजनिक प्रशासन, स्वास्थ्य सेवा, सञ्चार पहुँच, सहरी व्यवस्थापन र कृषि अर्थतन्त्रसँग जोडिएका महत्वपूर्ण क्षेत्र हुन् । प्रभावकारी कार्यान्वयन भए यी समझदारीले नेपालको संस्थागत क्षमता र नागरिक सेवामा सकारात्मक परिवर्तन ल्याउन सक्छन् ।
यसका अतिरिक्त दार्चुला–धार्चुला जोड्ने मोटरेबल पुल र मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन भएका छन् । जनकपुरधाम र अयोध्यालाई जोड्ने सरयू–कमला एक्सप्रेस रेलसेवाको शुभारम्भ गरिएको छ । वनबासा एकीकृत जाँचचौकी, झापामा हरितफिल्ड पेट्रोलियम भण्डारण केन्द्र र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको शिलान्यास पनि भ्रमणका ठोस उपलब्धिका रूपमा रहेका छन् । यी परियोजना र सहकार्यका क्षेत्रलाई एउटै उपलब्धिका रूपमा मिसाउनु हुँदैन, केही सञ्चालनमा आएका छन्, केही निर्माण अघि बढ्ने चरणमा छन् र केही समझदारी कार्यान्वयनको प्रतीक्षामा छन् । तिनको वास्तविक मूल्य पनि यही फरक अवस्थाका आधारमा मापन गर्नुपर्छ ।
भारतले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४० अर्ब नेपाली रुपैयाँबराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ । बाढीबाट प्रभावित परिवारको पुनर्स्थापना, पूर्वाधार पुनर्निर्माण र भविष्यका विपत् व्यवस्थापन क्षमता सुदृढीकरण यसका घोषित उद्देश्य हुन् । यो महत्वपूर्ण घोषणा हो । तर, यसमध्ये अनुदान कति, सहुलियतपूर्ण ऋण कति, कुन परियोजनामा कति रकम र कुन समयसीमाभित्र उपलब्ध हुनेछ भन्ने विस्तृत विवरण सार्वजनिक हुन आवश्यक छ । ठुलो रकमको घोषणा आफैँमा उपलब्धि होइन, त्यसले कति पूर्वाधार निर्माण गर्छ, कति रोजगारी सिर्जना गर्छ र नागरिकको जीवनमा कस्तो परिवर्तन ल्याउँछ भन्ने कुराले यसको वास्तविक मूल्य निर्धारण गर्छ ।
दोहोरिइरहने उनै आश्वासन : नेपाल–भारत सम्बन्धमा सम्झौता र प्रतिबद्धताको कमी कहिल्यै थिएन । समस्या तिनको कार्यान्वयनमा रहँदै आएको छ । प्रधानमन्त्रीहरूको भ्रमण हुन्छ, संयुक्त वक्तव्य जारी हुन्छ, परियोजना अघि बढाउने सहमति हुन्छ, उच्चस्तरीय संयन्त्र बनाइन्छ, तर केही वर्षपछि अर्को भ्रमणमा पनि उही विषय फेरि उठ्छ । यस्तो चक्रले कूटनीतिक सक्रियता त देखाउँछ, तर राष्ट्रिय उपलब्धि सुनिश्चित गर्दैन ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजना यसको स्पष्ट उदाहरण हो । महाकाली सन्धिपछि तीन दशक पुग्न लाग्दा पनि परियोजनाको विस्तृत परियोजना प्रतिवेदन अन्तिम हुन सकेको छैन । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा सम्बोधन गर्दै एक वर्षभित्र परियोजनाको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सन् २०१७ मा पनि डिपिआर एक महिनाभित्र टुंग्याउने सहमति भएको थियो । तर, पानीको उपयोग, लाभ बाँडफाँट, लगानी र तल्लो तटीय लाभका विषयमा सहमति जुट्न सकेन । राष्ट्रिय महत्वको परियोजना यति लामो समयसम्म अल्झिरहनु सामान्य प्रशासनिक ढिलाइ मात्र होइन, दुई देशबिचको वार्ता र प्रतिबद्धता कार्यान्वयन प्रणालीमाथि नै प्रश्न हो ।
त्यसैगरी, सन् २०१६ मा गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सन् २०१८ मा प्रतिवेदन तयार गरे पनि त्यसलाई दुवै देशका सरकारले औपचारिक रूपमा ग्रहण गर्न सकेका छैनन् । सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, व्यापार तथा पारवहनका असमानता, सीमा व्यवस्थापन र बदलिँदो क्षेत्रीय परिस्थितिअनुसार सम्बन्धलाई समयानुकूल बनाउने विषय अझै अनिर्णीत छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायत सीमा प्रश्न पनि समाधानको प्रतीक्षामा छन् । यस्ता विषय सामान्य कूटनीतिक असहमति होइनन्, नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र दीर्घकालीन रणनीतिक हितसँग प्रत्यक्ष जोडिएका विषय हुन् ।
यसपटक पनि केही महत्वपूर्ण राष्ट्रिय सरोकारले अपेक्षित प्राथमिकता र निर्णायकता पाउन सकेनन् । भैरहवा, पोखरा तथा अन्य अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि आवश्यक थप हवाई प्रवेश मार्गको विषय नेपालले लामो समयदेखि उठाउँदै आएको छ । यस भ्रमणपछि सार्वजनिक भएका विवरणले पनि यसमा निर्णायक समाधान भएको स्पष्ट संकेत गर्दैनन् । अग्निपथ योजनापछि नेपाली नागरिकको भारतीय गोर्खा रेजिमेन्टमा भर्तीसम्बन्धी अन्योल, माथिल्लो अरुण परियोजनाको वित्तीय प्रक्रियामा आवश्यक सहमति, दोधारा–चाँदनी क्षेत्रमा महाकालीको पानी उपलब्ध गराउने विषय तथा सीमावर्ती क्षेत्रमा बाढी र डुबानको समस्या नेपालका लागि उत्तिकै महत्वपूर्ण छन् । यी विषयमा छलफल हुनु सकारात्मक भए पनि छलफल र समाधानबिचको दूरी घट्नु बढी आवश्यक छ ।
लगानी र परिणाममुखी साझेदारी : अब नेपालले भारतसँगको सम्बन्धलाई सहायताकेन्द्रित सोचबाट लगानी, उत्पादन र आर्थिक साझेदारीमा रूपान्तरण गर्न विशेष जोड दिनुपर्छ । जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि, औद्योगिक उत्पादन, पूर्वाधार र हरित अर्थतन्त्रमा भारतीय लगानीका पर्याप्त सम्भावना छन् । ऊर्जा व्यापारमा दीर्घकालीन सहकार्य र आगामी १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने भारतको प्रतिबद्धता महत्वपूर्ण अवसर हो । तर, त्यसका लागि उत्पादन क्षमता, प्रसारण लाइन, बजार पहुँच, मूल्य निर्धारण र व्यापारिक सर्तमा नेपालको हित सुनिश्चित हुनुपर्छ । नेपालले केवल विद्युत् बेच्ने बजार मात्र बन्ने होइन, आफ्नै औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि ऊर्जा उपयोग गर्ने वातावरण पनि बनाउनुपर्छ ।
आर्थिक सहयोगको घोषणासँगै त्यसको उपयोग र कार्यान्वयनको व्यावहारिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ । विगतमा सहुलियतपूर्ण ऋण तथा सहयोगका कतिपय परियोजना प्रक्रियागत जटिलता, खरिदसम्बन्धी सर्त, समन्वयको अभाव र निर्णय प्रक्रियाको ढिलाइका कारण लामो समयसम्म अघि बढ्न सकेका छैनन् । त्यसैले, नयाँ प्याकेजको वास्तविक स्वरूप, रकमको उपलब्धता, परियोजना छनोट, कार्यान्वयनको समयसीमा र नेपालले प्राप्त गर्ने प्रत्यक्ष लाभ स्पष्ट हुनुपर्छ । अन्यथा, ठुलो रकमको घोषणा राजनीतिक तथा कूटनीतिक प्रचारको विषय बन्न सक्छ, तर त्यसको वास्तविक लाभ नागरिकसम्म पुग्न वर्षौं लाग्न सक्छ । यस भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने पक्ष पनि छन् । भारतले नेपालसँग सहकार्यका क्षेत्र विस्तार गर्न देखाएको तत्परता, आर्थिक सहयोगको घोषणा र संस्थागत क्षमता विकासमा व्यक्त प्रतिबद्धतालाई बेवास्ता गर्न मिल्दैन ।
तर, मित्रवत् सम्बन्धको अर्थ प्रश्न नगर्नु होइन । परिपक्व कूटनीतिक सम्बन्धमा विश्वाससँगै पारदर्शिता, पारस्परिक सम्मान र जवाफदेहिता पनि आवश्यक हुन्छ । नेपालले आफ्नो राष्ट्रिय हितका विषय स्पष्ट रूपमा राख्न सक्नुपर्छ र भारतले पनि ती विषयलाई छिमेकीको जायज सरोकारका रूपमा सम्बोधन गर्नुपर्छ । सम्बन्धको गहिराइ मापन गर्ने आधार असहमति लुकाउनु होइन, असहमतिलाई न्यायोचित ढंगले समाधान गर्ने क्षमता हो ।
कार्यान्वयन र राष्ट्रिय प्रतिफल : अबको आवश्यकता नयाँ सम्झौतामा हस्ताक्षर गर्नु मात्र होइन, कार्यान्वयनको विश्वसनीय प्रणाली निर्माण गर्नु हो । प्रत्येक सहमति र परियोजनाका लागि स्पष्ट बजेट, समयसीमा, जिम्मेवार निकाय, प्रगति सूचक र अनुगमन संयन्त्र तोकिनुपर्छ । विगतका अपूरा प्रतिबद्धताको सूची तयार गरी कुन विषय कहाँ अड्किएको छ, किन ढिलाइ भएको छ र समाधानका लागि दुवै पक्षले के गर्नुपर्छ भन्ने विवरण सार्वजनिक गरिनुपर्छ । नयाँ प्रतिबद्धता गर्दा पुराना प्रतिबद्धताको प्रगति पनि सँगसँगै समीक्षा गर्ने अभ्यास बसाल्नुपर्छ ।
यसका लागि नेपाल सरकारले भ्रमणका उपलब्धि र संयुक्त वक्तव्यमा समेटिएका विषयको कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्नु उपयुक्त हुन्छ । कुन सहमति कति समयभित्र अघि बढ्ने, कुन मन्त्रालय वा निकाय जिम्मेवार हुने, आवश्यक बजेट कहाँबाट जुट्ने र नागरिकले त्यसको परिणाम कहिले देख्न पाउने भन्ने कुरा स्पष्ट हुनुपर्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नियमित प्रगति समीक्षा र सार्वजनिक प्रतिवेदनको व्यवस्था गर्न सकिन्छ । कूटनीतिक सफलता सरकारको दाबीमा मात्र सीमित नरही नागरिकले परीक्षण गर्न सक्ने तथ्यमा आधारित हुनुपर्छ ।
प्रधानमन्त्री शाहको भ्रमणले केही नयाँ सम्भावना र सहकार्यको ढोका खोलेको छ । आठवटा समझदारी, आर्थिक सहयोगको घोषणा, उद्घाटन भएका परियोजना र अघि बढाइएका नयाँ आयोजनालाई सकारात्मक रूपमा लिनुपर्छ । तर, ती ढोका नेपालका लागि वास्तविक अवसर बन्ने कि फेरि लामो प्रतीक्षाको अर्को अध्याय बन्ने भन्ने प्रश्न आगामी कार्यान्वयनले निर्धारण गर्नेछ ।
नेपाललाई अब प्रतिबद्धताको अर्को लामो सूची होइन, विगतका प्रतिबद्धता पूरा गर्ने राजनीतिक इच्छाशक्ति, कूटनीतिक दृढता र संस्थागत क्षमता चाहिएको छ । हामीले अब कति सहमति गर्यौँ भन्ने होइन, कति सहमति कार्यान्वयन गर्यौँ, कति सहयोग घोषणा भयो भन्ने होइन, त्यसबाट कति राष्ट्रिय प्रतिफल प्राप्त भयो भन्ने प्रश्नको जवाफ दिन सक्नुपर्छ । अन्त्यमा, प्रधानमन्त्रीको भारत भ्रमणको वास्तविक सफलता संयुक्त वक्तव्यका शब्दमा होइन, नेपालको सार्वभौमिकता, आर्थिक समृद्धि र नागरिकको जीवनमा देखिने परिवर्तनमा प्रमाणित हुनेछ ।
(खड्का उज्यालो नेपाल पार्टीका केन्द्रीय सचिव हुन्)