अन्धविश्वासविरुद्धको आत्मसंघर्ष

शनिबार, १२ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • मानव इतिहासको अन्तिम सन्देश भनेको के मानव चेतना अन्धआस्था, भिड र शक्तिको अगाडि कहिल्यै आत्मसमर्पण गर्नेछ ? कदापि गर्नेछैन ।

हिन्दु कर्मकाण्डी परिवारमा जन्मिएको हुँ । अहिले उमेरको आठौँ दशकको जीवनयात्रामा छु । ५६ वर्षदेखि कुनै पनि संगठित धर्ममा मेरो कुनै आस्था, विश्वास वा अनुयायीभाव रहेको छैन । पिटर उपनामका सन्दर्भमा गुरु हिलारियन पिटरदासको स्मृति मात्र हो भन्ने कुरा यहाँ फेरि दोहोर्याउनुपर्ने भयो ।

समयसँगै अध्ययन र जिज्ञासा बढ्दै गएपछि कार्य, कारण र परिणाम जोडेर हेर्ने, पढ्ने र विश्वस्त हुने विश्वदृष्टिकोण नै मेरो विश्वासको जग बने । विशेषगरी, श्रीलंकाली दार्शनिक डा. अब्राहम टी. कोवुरका कृतिहरू र आचार्य रजनीशका विचारहरू पढ्दै गएपछि पुराना स्थापित विश्वासहरू क्रमशः भत्किन थाले । त्सपछिको भौतिकवादतर्फको आकर्षणले मलाई कम्युनिस्ट आन्दोलनमा सहभागी गरायो । मेरा राजनीतिक विश्वास, संलग्नता, साहित्य, इतिहास र अन्य विधागत लेखनका आधार तिनै बने ।

विश्व इतिहास र विज्ञानका आधारभूत सिद्धान्तहरू, विशेषगरी डार्विनको विकासवादले जीवन र जगत्प्रतिका मेरा मान्यताहरूलाई अझ धारिलो बनाउँदै लग्यो । विज्ञान, तथ्य, तर्क र ‘क्रिटिकल थिंकिङ’मा विश्वास गर्ने मान्छे बन्दै गएपछि स्वभावैले अन्धविश्वास र भिडमतको विरोध गर्ने प्रवृत्ति झाँगियो । परिणामतः अन्धआस्था राख्नेहरूबाट आक्रामक विरोध भोग्नु स्वाभाविकै हुन्थ्यो । यसभित्र ‘ट्रेडमार्किय’ कम्युनिस्टहरू र विज्ञानका विद्यार्थी भएर पनि विज्ञानविरोधी हर्कत गर्नेहरूले समेत अछुतो काढ्न थाले ।

तब म यस भेगको दर्शनको विकासक्रम अध्ययनतर्फ केन्द्रित भएँ । यस भूगोलमै विकसित दर्शनको प्राचीन भौतिकवादी धारा लोकायत/चार्वाक रहेछ । आचार्य बृहस्पति र अजित केसकम्बली जस्ता दार्शनिकहरू रहेछन् । बुद्ध त यसपछि पो आए । उनले ‘काला त मा सुत्त’मा ‘कुनै कुरा परम्परा वा धर्मग्रन्थमा लेखेकै भरमा नमान्नु, आफ्नै तर्क र परीक्षाको कसौटीमा जाँचेर मात्र स्वीकार्नू’ भनेझैँ तर्कको यो परम्परा प्राचीन रहेछ । यसले प्रत्यक्ष प्रमाण, भौतिक जगत् र तर्कलाई प्राथमिकता दिँदोरहेछ । तथ्य र तर्कको मिलानमा मानवशास्त्र, भाषाशास्त्र, समाजशास्त्र र प्रविधिमा डिएनए परीक्षण अनि कार्बन डेटिङले मिथक र इतिहासको अन्तर स्पष्ट पारिदिएपछि अध्ययन अझ गहिरो हुनुपर्छ भन्ने लाग्यो । तब जनइतिहासप्रतिको चाख अझै बढ्दै गयो ।

मेरो अध्ययन कुनै औपचारिक डिग्री पाउन नभई जिज्ञासाको हुटहुटी शान्त पार्नका लागि हुन्थ्यो । मेरो मनले मभित्र ‘किन र कसरी’ को उत्तर खोजिरहन्थ्यो । कारणबेगर कार्य हुँदैन, परिणाम त पछि देखिने हुन् । नियत कसको कस्तो छ भन्ने कुरा पनि परिणाममै निर्भर हुँदोरहेछ । प्रविधिको विकास र सहज पहुँचसँगै आफ्ना स्थापित विश्वासहरूमा पनि थप प्रश्न गर्दै तथ्य खोज्न सकिने भयो । भाषाको बाधा पनि रहेन । मूल टेक्स्टको अनुवाद प्रयोग गर्न सकिने भएपछि अन्यन्त्रका ज्ञान बुझ्नमा पनि सकस परेन । तब दर्शन, साहित्य र इतिहास छुट्याउन सक्ने हैसियत विकसित भयो । आध्यात्मिक साहित्यले बनाएका पुराना भ्रमहरू भत्किँदै गए । यसबाट मस्तिष्कलाई आराम दिने अन्धविश्वासीहरू र धर्मलाई धन्दा बनाउने राजनीतिक व्यवसायीहरूबाट मेरो तीव्र आलोचना र विरोध हुनु कुनै आश्चर्यको विषय रहेन ।

अन्धविश्वासविरोधी, तर्कसंगत र वैज्ञानिक दृष्टिकोण राख्ने व्यक्तिहरूले आफ्नै समाजका कट्टर समूहबाट धम्की, सामाजिक बहिष्कार र हिंसासमेत भोगेका थुप्रै ऐतिहासिक उदाहरण संसारभरि पाइन्छन् । तर, सबका सब प्रतिकार गरिरहनु समय र बुद्धिको अपव्यय मात्र हो । 

फारसीमा एउटा प्रसिद्ध भनाइ छ:

‘बा बदान बद बास ओ बा निकान निकी,
जवाब–ए अबलाहान खामोशी अस्त ।’

(खराबहरूसँग सजग दूरी राख,असलहरूसँग भलाइ गर; तर मूर्खहरूका लागि सबैभन्दा उत्तम उत्तर मौनता नै हो।)

मेरो उपनामलाई लिएर अनेक आग्रह र पूर्वाग्रह राख्नेहरूका गाली भनेका उनीहरूको ज्ञानको भूगोलको ‘लालपुर्जा’ देखाएका मात्र हुन् । नाम त भिडबाट छुट्याउने एउटा संकेत शब्दभन्दा अरू के नै हुन्छ र ? लेखक, साहित्यकार र राजनीतिज्ञहरूले अर्को नाम वा उपनाम (तखल्लुस) राख्नु परिस्थितिको उपज हुन्छ । कर्मले परिचय स्थापित गरेपछि भने नाम प्रतीकमा फेरिन्छन् ।

भारतका प्रख्यात हिन्दू लेखक तथा शायरहरूमा उर्दू तखल्लुस लिनेहरू धेरै छन् । फिराक गोरखपुरी उर्दूका प्रख्यात शायर थिए । उनलाई प्रोफेसर रघुपति सहाय भनेर चिन्ने कमै छन् । यसैगरी, बृजनारायण ‘चक्रबस्त’, दया शंकर कौल ‘नसीम’, रतननाथ धर ‘सरशार’, किशन बिहारी ‘नूर’, अरश मलसियानी, तिलोक चन्द महरूम, जगन्नाथ आजाद, आनन्द नारायण मुल्ला, टेक चन्द ‘बहार’, आनन्द राम मुख्लिस, बिन्द्रबन ‘राकिम’, खुशवक्त राय ‘शादान’, ज्वाला प्रसाद ‘आजर’ र रघुवीर दयाल ‘आसिम’ जस्ता थुप्रै हिन्दू लेखकका तखल्लुस फारसी–उर्दू शैलीका थिए ।

नाम र पहिरनबाट धर्म र जात छुट्याउनै सकिँदैन । नेपालगन्जको उर्दू शायरीमा प्रकाश राजापुरीको कानुनी नाम मिठ्नलाल गुप्ता भएको कुरा अदबी समाजसम्मले खुट्याउन सक्दैनथ्यो । त्यस्तै, मुस्लिम भएर हिन्दु भजन गाउने वा पण्डितजत्तिकै विद्वत्ता राख्ने उदाहरणहरू पनि प्रशस्त छन्: उस्ताद बडे गुलाम अली खान (‘हरि ओम तत्सत्’लगायत भजन), उस्ताद बिस्मिल्लाह खान (मन्दिर र शुभ अवसरका सहनाई वादक), मोहम्मद रफी (‘मन तरपत हरि दर्शन को’, ‘भज मन राम चरन सुखदाई’ जस्ता कालजयी भजनका गायक), शायर सकिल बदायुनी, संगीतकार नौसाद, उस्ताद अमिर खान र महाभारत–रामायणका कथा गाउने तथा गफरुद्दिन मेवाती जोगी । पण्डित गुलाम दस्तगीर विराजदार संस्कृतका प्रकाण्ड विद्वान् थिए । अलिगढ मुस्लिम विश्वविद्यालयका डा. खालिद बिन युसुफ र मोहम्मद खान दुर्रानी संस्कृतका प्राध्यापक हुन् ।

म्याक्स मुलरले वेदको अनुवाद गरेपछि मात्रै पश्चिमी दुनियाँले वेदको गम्भीर अध्ययन सुरु गर्यो । गौतम बुद्धको इतिहास लर्ड कनिंघमले उत्खनन गरेपछि बुद्ध दर्शनको प्रामाणिकता र अशोक स्तम्भको सत्यता पुनः पुष्टि भयो । तिब्बतमा सुरक्षित बौद्ध दर्शनका दुर्लभ ग्रन्थहरू राहुल सांकृत्यायन (केदारनाथ पाण्डे) ले भारत ल्याएर पुनः प्रकाशित गरे । ज्ञान, भाषा, साहित्य, कला र विद्वत्ता कुनै धर्म, भूगोल र जातिविशेषमा मात्र कैद हुँदैन भन्ने यस्ता दृष्टान्त अनेकौँ छन् ।

जब म धर्म, संस्कृति र भिड मानसिकताबारे बहसमा उत्रिन्छु, लेख्छु र बोल्छु, तब ममाथि मुख्यतया दुई कोणबाट आक्रमण हुन्छन्:

१. संस्कार–संस्कृतिविरोधी भएको आरोप ।

२. ‘तिमी आफ्नै धर्म र परम्परामा मात्र आक्रमण गर्छौ, हिम्मत भए अन्य धर्म (इसाई, मुस्लिम वा यहुदी) को पनि विरोध गरेर देखाऊ !’

यसमा हिम्मत कायरताको विषय नै थिएन । यो त बहसमा लजिकल फेलोसी मात्रै हुन्थ्यो । बुझ्थेँ । यसको यथोचित जवाफ दिन आवश्यक हुन्छ । एउटा चेतनासम्पन्न भौतिकवादीका लागि संसारका सबै अन्धविश्वासी, आवेगले भरिएका अन्धराष्ट्रवादी वा अन्धधार्मिकहरू एउटै कोटीमा पर्छन् । अन्धताको रोगले ग्रसितहरूले नै रैथाने र बाहिरिया, भाषा, पहिरन र रङको भेदमार्फत सीमान्तकृत तथा अल्पमत समूहप्रति घृणाको भाष्य तयार गर्छन् । यो नेपालको मात्र होइन, आजको उग्रदक्षिणपन्थ वा फासिज्म चिन्तनको एउटा अंश मात्रै हो । समग्र मानव समाजकै गम्भीर रोग पनि हो ।

जुन व्यक्ति जुन समाज र संस्कार र संस्कृतिमा जन्मिन्छ, हुर्किन्छ, उसले पहिलो प्रश्न र बहस आफ्नै समाजमा व्याप्त अन्याय, अत्याचार, अन्धविश्वास र कुरीतिविरुद्ध गर्नुपर्छ । मानसिक वा सामाजिक दासताको प्रतिकार त्यहीँबाट हुनुपर्छ । आफ्नै धर्म वा सम्प्रदायभित्रका रूढी र सत्ताको आलोचना गर्दा उत्पीडन, बहिष्कार वा हिंसा भोगेका ऐतिहासिक र समकालीन दृष्टान्तहरू विश्वभरि नै छन् ।

बलिउडका प्रख्यात अभिनेता नसिरुद्दिन शाहले हालै सलमान रुस्दीको संस्मरण ‘नाइफः थाट्स आप्टर एन एटेम्प्टेड मर्डर’मा आधारित नाटक ‘२७ सेकेन्ड्स’ मञ्चन गर्दै छन् । रुस्दीको ‘द स्याटानिक भर्सेस’ (१९८९) प्रकाशन भएपछि कट्टरपन्थी धार्मिक वृत्त रुस्दीप्रति आक्रामक बन्यो । उनी दशकौँसम्म भूमिगत हुन बाध्य भए । सन् २०२२ अगस्ट १२ मा न्युयोर्कको चौटौक्वा इन्स्टिच्युसनमा रुस्दीमाथि भएको आक्रमणमा उनले एउटा आँखा गुमाउनुपर्यो ।

मुस्लिम पृष्ठभूमिका कलाकार शाह र जावेद अख्तर जस्ता व्यक्तित्वहरूले धार्मिक कट्टरता र फतवाविरुद्ध कलात्मक विद्रोह गर्नु सामान्य कुरा थिएन । उनीहरू एक्लामात्रै पनि हैनन्, संसारभरी धेरै छन् । इस्लामभित्रै अयान हिर्स अली (सोमालियाली–डच लेखिका) लाई निरन्तर मृत्युको धम्की र कडा सुरक्षामा जीवन बिताउनुपरेको छ; तसलिमा नसरिन (बंगलादेशी) फतवा र देश निकालामा परेकी छिन्; फराज फोदा (मिस्र) को १९९२ मा हत्या भयो; नसर हामिद अबू जैद (मिस्र) लाई धर्मत्यागी घोषित गरी देशनिकाला गरियो; मलाला युसुफजाईमाथि तालिबानको गोली प्रहार भयो ।

त्यस्तै इसाईतर्फ त अझ बीभत्सता छ । कारुणिक भनिने चर्च कति असहिष्णु छ भने मार्टिन लुथरलाई पोपद्वारा बहिष्कृत गरियो; ग्यालिलियो ग्यालिलीलाई सूर्यकेन्द्रित सिद्धान्तका कारण चर्चद्वारा नजरबन्द गरियो; जिओर्डानो ब्रुनोलाई वैज्ञानिक विचारका कारण जिउँदै जलाइयो; बाइबललाई अंग्रेजीमा अनुवाद गरेकै कारण विलियम टिन्डललाई पनि जिउँदै जलाइयो । बारुच स्पिनोजा रूढीवादको आलोचना गर्दा यहुदी समाजबाट बहिष्कृत गरिए ।

हिन्दू सुधारकहरूको हबिगत पनि उस्तै छ । राजा राममोहन रायले सतीप्रथा, बालविवाह र मूर्तिपूजाको विरोध गर्दा कट्टरपन्थी ब्राह्मणहरूबाट आक्रमण गरिए । दयानन्द सरस्वतीले पुराण र अवतारवादको आलोचना गर्दा रूढीवादीहरूबाट विष प्रयोग गरी हत्या भयो । ज्योतिराव फुले र सावित्रीबाई फुलेलाई जाति व्यवस्था र ब्राह्मणवादी वर्णाश्रमको आलोचना गर्दा सामाजिक बहिष्कार भयो । पेरियार ई.भी. रामास्वामीलाई जातिगत शोषणको खुला विरोध गर्दा वैचारिक आक्रमण मात्रै होइन, उनका सालिकमा तोडफोड पनि गरियो । भारतीय संविधान निर्माता डा. भीमराव अम्बेडकरले जातीय उत्पीडनविरुद्ध विद्रोह गर्दा अन्धधार्मिकहरूको दुर्व्यवहार बेहोर्नुपर्यो । ईश्वरचन्द्र विद्यासागरले विधवा विवाहको समर्थन गर्दा तीव्र विरोध खेपे । आधुनिक समयमा नरेन्द्र दाभोलकर, गोविन्द पानसारे, गौरी लंकेश र एम.एम. कलबुर्गी जस्ता विवेकवादी चिन्तकहरूको कट्टरपन्थीहरूले हत्या गरेका उदाहरण ताजै छन् ।

पहिला धार्मिक प्रवचक रहिसकेका स्वामी बलेंदुले अक्टोबर २०१६ मा आफ्नै वृन्दावन आश्रममा लोकायतवादी सम्मेलन आयोजना गर्दा धर्मान्धहरूको आक्रमण झेल्दा रोक्नुपरेको थियो । उनले धर्म ‘व्यवसाय’ बनेर मानिसको डरमाथि खेल्छ, धर्म ‘विष’ हो भनेर तर्कपूर्ण दृष्टिकोणका कारण चर्को विरोध सहनुपर्यो ।

आफैँले बनाएका मन्दिरमा प्रवेश गर्न खोज्दा मारिनुपरेका दलितहरूका बीभत्स घटना हुन् वा ‘अधम जाति मन्दमति हीना’ भन्दै मान्छेलाई जातका आधारमा विभाजन गर्ने धार्मिक, सामाजिक संरचना सबै अन्धआस्थाकै उपज हुन् । संसारकै यी ऐतिहासिक उदाहरणहरूले के पुष्टि गर्छन् भने अन्धविश्वास र विभेदको पक्षमा उभिने शक्ति सधैँ धर्मका नाममा परम्परा र व्याख्यामाथि एकाधिकार जमाउने गिरोहसँग हुन्छ । ‘ट्रेडमार्किया’ कम्युनिस्टहरूको पाखण्डपूर्ण धार्मिक क्रियाकलाप होस् या धार्मिक उग्रवादी होस् दुवै एकै सिक्काका फरक पाटा मात्रै हुन् । तब सोच्न विवश भइन्छ— न ती कम्युनिस्ट वा अनुयायी हुन्, न धार्मिक । ती त केवल सांस्कृतिक फटाहा र भावनाका सिकारी मात्र हुन् ।

चेतनयुक्त र तर्कयुक्त बहसबाट पछि हटेर ‘हाम्रा जति सबै ठिक’ भन्न थालेपछि हामी अपराधका मतियार बनेर तटस्थताको सुखभोग गरिरहेका हुन्छौँ । जुनसुकै परिचय भए पनि ‘सेल्फ सेन्सरसिप’ गर्ने व्यक्ति वा समाजले अन्ततः अन्धविश्वासकै सेवा गरिरहेको हुन्छ । त्यसमाथि धर्म, चुनावी राजनीति र अन्धविश्वासको ककटेल त झनै घातक बन्ने गर्दोरहेछ ।

मानव इतिहासको अन्तिम सन्देश भनेको– के मानव चेतना अन्धआस्था, भिड र शक्तिको अगाडि कहिल्यै आत्मसमर्पण गर्नेछ ? कदापि गर्नेछैन । यही नै मेरो अन्धविश्वासविरुद्धको निरन्तर आत्मसंघर्षको यात्रा हो । 

सुझावित समाचार