सधैँ सकसमा उपभोक्ता

आइतबार, १३ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • बजारलाई जीवन्त बनाउने उपभोक्ता सधैँ सकस र तनावमा रहनुले राज्य र व्यवसायी दुवैमाथि गम्भीर प्रश्न उठेको छ

बजारको प्रत्येक गतिविधिसित जोडिएका उपभोक्ता नै बजारको सबैभन्दा कमजोर पक्ष बन्नु विडम्बनापूर्ण अवस्था हो । राज्यको प्राथमिकतामा पर्न नसकेको र व्यावसायिक क्षेत्रको नाफामुखी प्रवृत्तिबाट उपेक्षित उपभोक्ताको अधिकार, सुरक्षा र सम्मान आज गम्भीर प्रश्नका रूपमा खडा भएका छन् ।

उपभोक्ता बजारमा सधैँ उपस्थित हुन्छन् । बिहान उठेदेखि राति सुत्दासम्म मानिस कुनै न कुनै वस्तु वा सेवा उपभोग गरिरहेको हुन्छ । खानेपानी, खाद्यान्न, तरकारी, फलफूल, औषधि, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्, इन्टरनेटदेखि दैनिक जीवनका सामान्य आवश्यकतासम्मका उपभोक्ता बजारसँग प्रत्यक्ष जोडिएका हुन्छन् । बजारको अस्तित्व उपभोक्ताकै कारण सम्भव भएको हो । उत्पादन, वितरण, बिक्री र सेवाको सम्पूर्ण आर्थिक चक्र उपभोक्ताको आवश्यकतामा आधारित छ । तर, विडम्बना के छ भने बजारलाई जीवन्त बनाउने यही उपभोक्ता सधैँ सकसमा छ, सधैँ तनावमा छ र सधैँ कुनै न कुनै संकटको सामना गरिरहेको छ । बजारमा उपभोक्ताको उपस्थिति अनिवार्य छ, तर बजारको निर्णय प्रक्रियामा उसको आवाज कमजोर छ । अधिकार कागजमा सुरक्षित छन्, व्यवहारमा भने उपभोक्ता निरन्तर उपेक्षित छ ।

आजको बजारलाई हेर्दा उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्न मात्रै होइन, आफ्नो अधिकार सुरक्षित गर्नसमेत संघर्ष गर्नुपर्ने अवस्था छ । दैनिक उपभोग्य वस्तुको मूल्य कहिले बढ्छ, किन बढ्छ र त्यसको वास्तविक आधार के हो भन्ने उपभोक्ताले सहजै थाहा पाउन सक्दैनन् । एउटै वस्तुको मूल्य पसलपिच्छे फरक हुन्छ । उत्पादक, आयातकर्ता, थोक विक्रेता र खुद्रा व्यवसायीबिचको मूल्य निर्धारण प्रक्रिया पारदर्शी छैन । बजारमा वस्तुको उपलब्धता, गुणस्तर, मूल्य र आपूर्तिबिच सन्तुलन कायम हुन नसक्दा यसको प्रत्यक्ष मार सर्वसाधारणले खेपिरहेका छन् । आम्दानीको तुलनामा खर्च बढिरहेको छ । दैनिक आवश्यकता पूरा गर्नसमेत उपभोक्ताले आफ्नो बजेटसँग सम्झौता गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा उपभोक्ताको जीवन सहजभन्दा बढी तनावपूर्ण बन्दै गएको छ ।

बजारमा मूल्यवृद्धि सामान्य आर्थिक प्रक्रियाका रूपमा मात्र सीमित छैन । कतिपय अवस्थामा कृत्रिम अभाव, अस्वाभाविक मूल्य निर्धारण, अस्वस्थ प्रतिस्पर्धा, आपूर्ति शृंखलामा देखिने अवरोध र बिचौलियाको प्रभावले मूल्यलाई अनावश्यक रूपमा माथि पुर्याउने गरेको पाइन्छ । कुनै वस्तुको उत्पादन मूल्य, आयात लागत, ढुवानी खर्च र व्यावसायिक मुनाफाको वास्तविक हिसाब उपभोक्तासम्म पारदर्शी रूपमा पुग्न सकेको छैन । मूल्य बढ्दा व्यवसायीले लागत वृद्धि भएको तर्क गर्छन्, तर लागत घट्दा उपभोक्ताले त्यसको लाभ पाउँदैनन् । मूल्य बढ्ने प्रक्रिया छिटो हुन्छ, घट्ने प्रक्रिया सुस्त हुन्छ । यसले बजारमा मूल्य निर्धारणको असन्तुलन र उपभोक्ताको कमजोर अवस्थालाई उजागर गर्छ ।

उपभोक्ताको समस्या मूल्यमा मात्र सीमित छैन । गुणस्तरहीन वस्तु, मिसावटयुक्त खाद्य पदार्थ, म्याद गुज्रिएका सामग्री, लेबल नभएका वस्तु, गलत तौल तथा नाप, नक्कली उत्पादन र बिलबिजक नदिने प्रवृत्तिले उपभोक्ताको सुरक्षा र विश्वासमाथि प्रहार गरिरहेका छन् । उपभोक्ताले आफ्नो स्वास्थ्य र सुरक्षाका लागि आवश्यक पर्ने आधारभूत जानकारीसमेत सहज रूपमा प्राप्त गर्न सकिरहेको छैन । वस्तुको उत्पादन मिति, उपभोग्य मिति, मूल्य, उत्पादकको विवरण र गुणस्तरसम्बन्धी सूचना स्पष्ट नहुँदा उपभोक्ता जोखिममा पर्छ । चाडपर्वका समयमा उपभोक्ताको समस्या झन् जटिल बन्ने गरेको छ । दसैँ, तिहार, छठलगायत पर्वमा बजारमा माग बढ्नु स्वाभाविक हो । तर, माग बढेकै आधारमा मूल्य अस्वाभाविक रूपमा बढाउने, गुणस्तरमा सम्झौता गर्ने, तौलमा उपभोक्तालाई झुक्याउने र बिल नदिने प्रवृत्ति स्वीकार्य हुन सक्दैन ।

यस्तो अवस्थामा राज्यको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । नेपालको संविधानले उपभोक्ताको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । उपभोक्ता संरक्षणसम्बन्धी कानुनले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने, वस्तुको मूल्य र गुणस्तरबारे जानकारी पाउने, हानिकारक वस्तुबाट सुरक्षित रहने तथा क्षतिपूर्ति प्राप्त गर्ने अधिकारको व्यवस्था गरेको छ । तर, कानुनी व्यवस्था र बजारको वास्तविक अवस्थाबिच ठुलो अन्तर देखिन्छ । उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने नियामक निकाय पर्याप्त सक्रिय, प्रभावकारी र उत्तरदायी बन्न सकेका छैनन् । अनुगमन हुन्छ, कैफियत भेटिन्छ, कारबाहीको घोषणा गरिन्छ, तर बजारको प्रवृत्ति अपेक्षित रूपमा सुधार हुन सकेको छैन ।

राज्यको बजार नियमन प्रायः प्रतिक्रियात्मक देखिन्छ । सञ्चारमाध्यममा समाचार आएपछि उपभोक्ताबाट गुनासो बढेपछि वा चाडपर्व नजिकिएपछि अनुगमन गर्ने प्रवृत्ति अझै विद्यमान छ । बजारमा दैनिक भइरहेका गतिविधि पहिचान गर्ने, मूल्यको नियमित विश्लेषण गर्ने, आपूर्ति शृंखलाको अवस्था बुझ्ने र सम्भावित समस्या आउनुअघि नै समाधान गर्ने प्रणाली बलियो हुन सकेको छैन । अनुगमनको उद्देश्य जरिवाना असुल गर्नु मात्र होइन, बजारलाई अनुशासित बनाउनु र उपभोक्तालाई सुरक्षित राख्नु पनि हो । तर, अनुगमनमा भेटिएका कैफियतको दीर्घकालीन समाधान नखोज्दा एउटै प्रकृतिका समस्या पटकपटक दोहोरिने गरेका छन् ।

अर्कातर्फ, व्यावसायिक क्षेत्रको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ । व्यवसाय भनेको नाफा कमाउने आर्थिक गतिविधि हो, तर नाफा कमाउने नाममा उपभोक्ताको अधिकारलाई कमजोर बनाउने छुट कसैलाई छैन । व्यवसायी र उपभोक्ताबिचको सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ । उचित मूल्य, गुणस्तरीय वस्तु, सही तौल, स्पष्ट लेबल, अनिवार्य बिलबिजक र उपभोक्ताप्रतिको जिम्मेवारी व्यवसायका आधारभूत मान्यता हुन् । तर, कतिपय व्यवसायमा उपभोक्तालाई सेवा प्राप्त गर्ने अधिकार भएको नागरिकभन्दा नाफा कमाउने माध्यमका रूपमा हेर्ने प्रवृत्ति देखिन्छ । उपभोक्ताले वस्तुको मूल्य सोध्दा स्पष्ट जानकारी नपाउनु, गुनासो गर्दा सुनुवाइ नहुनु, खरिद गरेको वस्तुमा समस्या देखिँदा जिम्मेवारी लिन आनाकानी गर्नु र उपभोक्तालाई नै दोषी देखाउने व्यवहारले व्यावसायिक नैतिकतामाथि प्रश्न उठाउँछ ।

व्यावसायिक क्षेत्रले बुझ्नुपर्ने कुरा के हो भने उपभोक्ता कुनै एकपटक वस्तु खरिद गर्ने व्यक्ति मात्र होइन । ऊ बजारको स्थायी आधार, उत्पादनको अन्तिम गन्तव्य र आर्थिक गतिविधिको मुख्य साझेदार हो । उपभोक्ताको क्रयशक्ति कमजोर भयो भने बजारको माग घट्छ । उपभोक्ताको विश्वास कमजोर भयो भने व्यवसायको भविष्य पनि कमजोर हुन्छ । त्यसैले, उपभोक्तामैत्री व्यवसाय कुनै परोपकारी काम होइन, दीर्घकालीन व्यावसायिक सफलताको आधार हो । व्यवसायीले उपभोक्तालाई सम्मान गर्ने, पारदर्शी मूल्य प्रणाली अपनाउने र गुणस्तरमा कुनै सम्झौता नगर्ने संस्कार विकास गर्न आवश्यक छ ।

अहिले अर्को चुनौती आपूर्ति शृंखलाको अव्यवस्था पनि हो । उत्पादनदेखि उपभोक्ताको भान्सासम्म वस्तु आइपुग्ने प्रक्रियामा विभिन्न तह र पक्ष संलग्न हुन्छन् । तर, यस प्रक्रियामा समन्वय, पारदर्शिता र जवाफदेहिताको अभाव हुँदा उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था सिर्जना हुन्छ । कृषि उत्पादनको उचित मूल्य किसानले नपाउने तर उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने विरोधाभास हाम्रो बजारमा देखिन्छ । आयातमा निर्भर वस्तुको आपूर्ति व्यवस्थापन प्रभावकारी नहुँदा बजारमा अभाव र मूल्यवृद्धिको जोखिम बढ्छ । भण्डारण, ढुवानी, वितरण र बिक्री प्रणालीलाई व्यवस्थित नगरी बजारलाई उपभोक्तामैत्री बनाउन सकिँदैन ।

उपभोक्ताको समस्या समाधान गर्ने विषयमा संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय पनि कमजोर देखिन्छ । उपभोक्ता अधिकार संरक्षणको जिम्मेवारी विभिन्न निकायमा बाँडिएको छ, तर जिम्मेवारी बाँडिँदैमा उत्तरदायित्व भुल्न मिल्दैन । बजार अनुगमन, खाद्य गुणस्तर परीक्षण, नापतौल नियन्त्रण, मूल्य विश्लेषण, आपूर्ति व्यवस्थापन र उपभोक्ता गुनासो सम्बोधन गर्ने निकायबिच प्रभावकारी समन्वय आवश्यक छ । प्रयोगशालाको क्षमता विस्तार, नियमित नमुना संकलन, छिटो परीक्षण र परीक्षणको नतिजा सार्वजनिक गर्ने प्रणाली विकास गर्नुपर्छ । प्रविधिको प्रयोगबाट बजार मूल्य, वस्तुको उपलब्धता र गुणस्तरसम्बन्धी सूचना आमउपभोक्तासम्म पुर्याउनु राज्यको दायित्व हो ।

यसका साथै उपभोक्ता अधिकार संरक्षणका लागि उपभोक्ता स्वयं पनि सचेत र संगठित हुन आवश्यक छ । वस्तु खरिद गर्दा बिल लिने, मूल्य र म्याद जाँच गर्ने, तौलमा ध्यान दिने, गुणस्तरसम्बन्धी विवरण पढ्ने र ठगी भएमा सम्बन्धित निकायमा उजुरी गर्ने बानी विकास गर्नुपर्छ । तर, उपभोक्ता सचेत हुनुपर्छ भन्दैमा राज्य र व्यवसायी आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन । उपभोक्तालाई अधिकारबारे जानकारी दिने, उजुरी प्रक्रिया सरल बनाउने, गुनासोको शीघ्र सुनुवाइ गर्ने र क्षतिपूर्ति प्राप्त गर्ने वातावरण बनाउनु राज्यको जिम्मेवारी हो ।

अबको आवश्यकता परम्परागत अनुगमनभन्दा माथि उठेर प्रभावकारी र संस्थागत बजार नियमन प्रणाली विकास गर्नु हो । बजारको नियमित अनुगमन, मूल्य पारदर्शिता, आपूर्ति शृंखलाको व्यवस्थापन, गुणस्तर परीक्षण, दोषीमाथि निष्पक्ष कारबाही र उपभोक्ताको क्षतिपूर्तिलाई प्राथमिकतामा राख्नुपर्छ । उपभोक्ता अधिकार संरक्षण गर्ने निकायलाई पर्याप्त जनशक्ति, स्रोतसाधन, प्राविधिक क्षमता र संस्थागत स्वायत्तता उपलब्ध गराउनुपर्छ । उपभोक्ताको गुनासो सुन्ने र समाधान गर्ने संयन्त्रलाई स्थानीय तहसम्म प्रभावकारी बनाउनुपर्छ । बजारमा देखिएका समस्या दोहोरिन नदिन अनुगमनको नतिजा सार्वजनिक गर्ने र कारबाहीको प्रगति नियमित रूपमा समीक्षा गर्ने प्रणाली आवश्यक छ ।

उपभोक्तालाई बजारको कमजोर पक्षका रूपमा होइन, बजार व्यवस्थाको केन्द्रका रूपमा स्थापित गर्नुपर्छ । आर्थिक विकासको मूल्यांकन केवल उत्पादन, व्यापार, राजस्व र नाफाका आधारमा होइन, आमनागरिकले उचित मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न सके कि सकेनन् भन्ने आधारमा हुनुपर्छ । विकासको लाभ उपभोक्तासम्म पुग्न सकेन भने आर्थिक समृद्धिको दाबी अधुरो रहन्छ ।

आजको मूल प्रश्न यही हो– बजारमा सधैँ उपस्थित हुने उपभोक्ता किन सधैँ सकसमा छ ? किन ऊ मूल्यवृद्धिको तनावमा छ ? किन गुणस्तर र सुरक्षाको चिन्तामा छ ? किन आफ्नो अधिकार प्राप्त गर्न पनि विभिन्न निकाय धाउनुपर्ने अवस्थामा छ ? किन राज्यको नियमन र व्यावसायिक जिम्मेवारीको केन्द्रमा उपभोक्ता पर्न सकेको छैन ? यी प्रश्नको उत्तर केवल उपभोक्ताको क्रयशक्ति वा बजारको माग र आपूर्तिमा खोजेर पुग्दैन । यसको जरो राज्यको कमजोर नियमन, व्यावसायिक क्षेत्रको अपर्याप्त जवाफदेहिता, बजारमा पारदर्शिताको अभाव र उपभोक्ता अधिकारप्रतिको कमजोर प्रतिबद्धतामा छ ।

उपभोक्ता सधैँ बजारमा उपस्थित हुन्छ, तर उसको उपस्थिति केवल खरिदकर्ताका रूपमा सीमित हुनुहुँदैन । ऊ अधिकारसम्पन्न नागरिक हो, बजारको आधार हो र आर्थिक व्यवस्थाको मुख्य सरोकारवाला हो । उसको आवाज सुन्ने, उसको आवश्यकता बुझ्ने र उसको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी राज्य तथा व्यावसायिक क्षेत्र दुवैको हो ।

बजार कति ठुलो भयो, व्यापार कति बढ्यो र व्यवसायीले कति नाफा कमाए भन्नेभन्दा पनि बजारबाट उपभोक्ताले कति न्याय पाए भन्ने प्रश्न महत्वपूर्ण हो । राज्यले उपभोक्तालाई प्राथमिकतामा राख्नुपर्छ र व्यवसायीले नाफासँगै नैतिकतालाई पनि आफ्नो व्यावसायिक संस्कार बनाउनुपर्छ । बजारमा उपभोक्ताको उपस्थिति सधैँ रहन्छ, तर उसको जीवन सधैँ सकस, तनाव र संकटमा रहनुहुँदैन । उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने, सुरक्षित रहने र सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण निर्माण हुनु नै स्वच्छ, पारदर्शी र न्यायपूर्ण बजारको वास्तविक पहिचान हो । उपभोक्ता खुसी भए मात्र बजार स्वस्थ हुन्छ, बजार स्वस्थ भए मात्र अर्थतन्त्र दिगो हुन्छ र राज्यको समृद्धिको सपना सार्थक हुन्छ ।

(तिमल्सिना उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुन्)

सुझावित समाचार