औद्योगिक राष्ट्रले असफल बनाएको ‘कोप ३१’

आइतबार, १३ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • तीन दशकदेखि बर्सेनि हुने ‘कोप’ शिखर सम्मेलन पहिलोपटक कुनै सम्झौता नभई सकियो, यो एक असाधारण कूटनीतिक असफलता हो

टर्कीको अन्टाल्यामा आयोजित कोप–३१ कुनै बृहत् सम्झौताविना नै समाप्त भयो । सम्मेलनमा सहभागी लगभग २०० देशले अन्तिमसम्म जलवायु सम्झौतामा सहमति कायम गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् । सम्झौताको प्रस्तावित पाठले विश्वव्यापी तापक्रम वृद्धिको प्रमुख कारण जीवाश्म इन्धन हो भनेर समेत भन्न सकेको थिएन ।

युरोपेली संघ, धेरै प्रशान्त महासागरीय टापु राज्यहरू र अन्य सरकारले जीवाश्म इन्धनको नाम उल्लेख नहुने कुराको विरोध गरे । उता तेल उत्पादक देशले कडा भाषाको प्रतिरोध गरे । तीन दशकदेखि बर्सेनि हुने ‘कोप’ शिखर सम्मेलन पहिलोपटक कुनै सम्झौता नभई सकियो । यो एक असाधारण कूटनीतिक असफलता हो । 

अहिले देखिएको असफलताले सम्मेलनको एक स्थायी चरित्रमाथि प्रकाश हाल्छ । जलवायु छलफल सरकारलाई वार्ताको टेबुलमा टिकाइराख्न निकै प्रभावकारी साबित भएका छन् । यो प्रणाली वास्तवमै कुनै पनि सम्झौता नहोस् भन्ने उद्देश्यले बनाइएको होइन । बरु, यसलाई यस्ता शक्तिशाली स्वार्थलाई समेट्ने गरी तयार पारिएको हो, जसले निर्णायक सम्झौता हुनबाट रोक्न सक्छन् ।

अन्टाल्यामा के भयो, त्यसलाई मनन गर्नुहोस् । अन्तिम मस्यौदामा जीवाश्म इन्धनको उल्लेखसम्म पनि नगरेको भन्दै युरोपेली संघले आपत्ति जनायो । तर, यो कुनै सामान्य लेखन त्रुटि वा असावधानी थिएन । वार्ता अघि बढ्दै जाँदा तेल, ग्यास र कोइलाको प्रयोग घटाउने वा तिनबाट टाढिने विषयमा पहिले राखिएका प्रावधानलाई कमजोर पारिएको थियो । 

सन् २०२३ मा दुबईमा सम्पन्न ‘कोप–२८’ मा ऊर्जा प्रणालीमा जीवाश्म इन्धनको प्रयोगबाट बिस्तारै बाहिर निस्कनेसम्बन्धी जुन सहमति बनेको थियो, त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा यो शिखर सम्मेलन कुनै निष्कर्षमा पुग्न सकेन । जुन कुरा कारबाही वा कदम चाल्नका लागि सुरुवाती बिन्दु बन्नुपर्ने थियो, त्यही बिन्दु कूटनीतिक प्रयास असफल हुने कारण बन्न पुग्यो ।

यो विरोधाभास वार्ता प्रक्रियामा निहित छ । पेरिस सम्झौताअन्तर्गत कुनै देशलाई जीवाश्म–इन्धन उत्पादन विस्तार गर्न रोक्न बाध्य पार्ने कुनै कार्यान्वयन संयन्त्रविना सरकारहरूले आफ्नै उत्सर्जन प्रतिबद्धता निर्धारण गर्छन् । ‘कोप’ सम्मेलनका निर्णयहरू पनि सहमतिमा निर्भर हुन्छन् । यसको परिणाम एउटा यस्तो अन्तर्राष्ट्रिय मञ्च हो, जसमा सबैभन्दा अनिच्छुक सहभागीले पनि अरू सबैले के भन्न पाउने भन्ने कुरालाई सीमित गर्न सक्छन् ।

यसको अर्थ सबै राष्ट्रहरू समान रूपमा जिम्मेवार छन् भन्ने होइन । साथै, यसको अर्थ हरेक कोप (जलवायु सम्मेलन) पूर्ण रूपमा निष्फल रह्यो भन्ने पनि होइन । पेरिस सम्झौताको खाकाले साझा लक्ष्य तय गर्न मद्दत गर्यो । जलवायु शिखर सम्मेलनले लगानी तथा सहकार्यलाई प्रोत्साहन गरेका छन् । अन्टाल्या सम्मेलनमा पनि ‘न्यायोचित संक्रमण’लगायत केही विषयमा सीमित निर्णय लिइएका थिए । तर, यी उपलब्धिले जीवाश्म इन्धनको उत्खनन क्रमशः बन्द गर्ने एउटा विश्वसनीय कार्यतालिकाको स्थान लिन सक्दैनन् । यहाँ यी दुई कुराबिचको भिन्नता महत्वपूर्ण छ, कूटनीतिक गतिविधि र संरचनात्मक परिवर्तन एउटै कुरा होइनन् ।

वास्तवमा, जीवाश्म इन्धनमा आधारित ऊर्जाको प्रभाव सम्मेलन कक्षभन्दा धेरै परसम्म फैलिएको छ । ऊर्जा उत्पादन गर्ने राष्ट्रहरू आफ्ना राजस्व र भू–राजनीतिक प्रभावको रक्षा गर्न चाहन्छन् । ऊर्जा उपभोग गर्ने राष्ट्रहरू पनि अहिलेकै सस्तो ऊर्जा र पहिले नै स्थापित पूर्वाधारमा निर्भर हुन मन पराउँछन् । जलवायु परिवर्तनसम्बन्धी उच्च महत्वाकांक्षाका कुरा गर्ने सरकारसमेत आफ्ना उद्योग र मतदातालाई तत्काल पर्न सक्ने आर्थिक भारबाट जोगाउन प्रेरित हुन्छन् । तसर्थ, विश्वव्यापी ऊर्जा रूपान्तरण केवल प्राविधिक समस्या मात्र होइन, यो त कसले आफ्ना नाफा र शक्ति त्याग्ने भन्ने विषयको संघर्ष हो । यसले प्राविधिक प्रतिज्ञाको आकर्षणलाई व्याख्या गर्न मद्दत गर्छ ।

असफल अन्टाल्या मस्यौदाले १.५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई सम्बोधन गर्न कार्बन–निकासी प्रविधिलाई प्रवर्द्धन गर्यो । राजनीतिक लाभ तत्काल हुन्छ, प्रतिज्ञा गरिएको वायुमण्डलीय लाभ अनिश्चित रहन्छ । त्यही संरचनात्मक असमानताले जलवायु वित्तलाई आकार दिन्छ । ऐतिहासिक तापक्रम वृद्धिमा सबैभन्दा कम योगदान पुर्याउने देशले खडेरी, बाढी, विस्थापन र अनुकूलनबाट बढ्दो लागतको सामना गर्छन् ।

तैपनि, प्रस्तावित १२० अर्ब डलरको अनुकूलन लक्ष्य संशोधित पाठबाट गायब भयो र वित्तीय प्रतिबद्धतामा विवादले वार्तालाई असफल बनाउन मद्दत गर्यो । यही कारणले गर्दा जलवायु वित्तलाई स्वेच्छिक परोपकारका रूपमा लिन मिल्दैन । यो असमान विश्व अर्थतन्त्रका कारण सिर्जित हानिप्रतिको जिम्मेवारीसँग सम्बन्धित छ । प्रभावित राष्ट्रका लागि अनुदान, आर्थिक सहयोग र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको अधिकार, यी कुनै यस्ता अतिरिक्त विषय होइनन्, जसलाई उत्सर्जन कटौतीका लक्ष्य तय भइसकेपछि छलफल गरियोस् । बरु, यी त त्यस्तो रूपान्तरणका पूर्वसर्त हुन्, जसलाई अपनाउँदा गरिब राष्ट्रले शिक्षा, स्वास्थ्य सेवा र आधारभूत विकासका क्षेत्रमा कुनै सम्झौता वा त्याग गर्न नपरोस् ।

अन्टाल्या सम्मेलनबाट जलवायु न्यायको सरल रक्षकको रूपमा इयूलाई अगाडि आउन अनुमति दिनुमा पनि खतरा छ । जीवाश्म इन्धनका विषयमा मौन रहेको सम्झौतालाई स्वीकार गर्न यस (युरोपेली संघ) ले गरेको अस्वीकार उचित थियो । तर, धनी देशले वित्तीय दायित्व र घरेलु परिवर्तनको प्रतिरोध गर्दै विदेशमा महत्वाकांक्षी भाषाको माग गर्न सक्दैनन्, जसले त्यस भाषलाई ठोस आधार प्रदान गर्न सक्थे । यसको विपरीत केही विकासशील देश जीवाश्म इन्धन आयमा निर्भर छन् वा किफायती ऊर्जा चाहिन्छ । न्यायोचित चरणबद्ध अन्त्य (फेज आउट) गर्दा उनीहरूको परिस्थितिलाई धनी र ऐतिहासिक रूपमा उच्च उत्सर्जन गर्ने अर्थव्यवस्थाको परिस्थितिभन्दा फरक रूपमा हेर्नुपर्छ ।

जलवायुसम्बन्धी एउटा फरक किसिमको राजनीति कस्तो होला ? यसको सुरुवात जीवाश्म इन्धनको नयाँ विस्तार अन्त्य गर्ने र यसको उत्पादन क्रमशः घटाउने कार्यान्वयनयोग्य योजनाबाट हुनेछ, जसमा धनी राष्ट्रले सबैभन्दा पहिले र तीव्र गतिमा कदम चाल्नेछन् । यसले जलवायु परिवर्तन अनुकूलन तथा ‘नोक्सानी र क्षति’का लागि ऋण निम्त्याउने कर्जाको सट्टा मुख्यतया अनुदानमा आधारित भरपर्दो आर्थिक सहयोग उपलब्ध गराउनेछ । साथै, यसले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्रलाई उनीहरूको भविष्य निर्धारण गर्ने निर्णय प्रक्रियामा अझ बढी प्रभाव पार्ने अवसर प्रदान गर्नेछ ।

यसका लागि बहुपक्षीयतालाई त्याग्नुपर्दैन । तर, यसको अस्तित्वलाई नै सफलता ठान्ने भ्रमबाट भने मुक्त हुनुपर्छ । जब सहमतिका नियमले बारम्बार संकटका लागि सबैभन्दा जिम्मेवार हितको रक्षा गर्छन्, सरकारले पूरक सम्झौता र घरेलु नियमनलाई पनि पछ्याउनुपर्छ । अन्यथा, सबैको सहभागिताको वाचा सबै कुरामा ढिलाइ गर्ने माध्यम बन्न पुग्छ ।

कोप ३१ को असफलता एउटा चेतावनी हो, जलवायु कूटनीतिले अचानक काम गर्न छाडेकाले होइन, बरु यसका सीमालाई अब लुकाउन असम्भव भएको हुनाले यस्तो भएको हो । विश्वमा तापक्रम वृद्धिको कारण के हो भन्नेबारे जानकारीको अभाव छैन । यसमा यस्तो राजनीतिक प्रणालीको अभाव छ, जुन यस समस्यालाई निम्त्याएर लाभ लिनेहरूसँग भिड्न तयार होस् । जबसम्म यो अवस्था बदलिँदैन, तबसम्म हरेक शिखर सम्मेलनको मूल्यांकन त्यसबाट निस्कने सम्झौताका आधारमा गरिनेछ ।

  • अलजजिराबाट
  • (कपुर टोरन्टोको योर्क विश्वविद्यालयको वातावरणीय तथा सहरी परिवर्तन संकायका प्राध्यापक हुन् ।)

सुझावित समाचार