कांग्रेस र एमालेबाट प्रमुख, उपप्रमुख पदमा दलित शून्य

बुधबार, १४ बैशाख, २०७९
डिजिटल संस्करण

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलबाट प्रमुख पदका उम्मेदवार पुरुष नै रहेका छन् । उपप्रमुखमा अधिकांश महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस कञ्चनपुरले जिल्लाका नाैवटै पालिकामा प्रमुख पुरुष र उपप्रमुख महिला मात्रै अघि सारेको छ ।

तर, कांग्रेसले बेलडाँडी प्रमुखमा आदिवासी थारू समुदायबाट  हरिशचन्द्र राना, पुनर्वासमा उपप्रमुख भुलिया राना, कृष्णपुरमा उपप्रमुख द्रोपती राना  र लालझाडीमा आदिवासी जनजाति थारू समुदायबाट प्रमुखमा श्रीकृष्ण राना र उपप्रमुखमा राधा रानालाई अघि सारेको छ । कांग्रेसले दलित समुदायबाट प्रमुख–उपप्रमुख दुवैमा उम्मेदवार बनाएको छैन । 

नेकपा एमालेले सात पालिका प्रमुखमा पुरुष र दुई पालिकामा महिलालाई प्रमुख पदमा अघि सारेको छ । एमालेले बेदकोट र बेलौरीमा दुवै पालिका प्रमुखमा महिला उम्मेदवार अघि सारेको छ ।  बेलौरी प्रमुखमा कमला बोहरा, बेदकोट प्रमुखमा सुशीला सिंह र उपप्रमुखमा पार्वती जोशीलाई अघि सारेको छ । एमालेले आदिवासी जनजातिबाट दोधारा–चाँदनी प्रमुखमा किशोर लिम्बूलाई अघि सारेको छ । लालझाडी प्रमुख, उपप्रमुख दुवै पदमा आदिवासी जनजाति थारू समुदायबाट निर्मला राना र सपना चौधरीलाई अघि सारेको छ । बेलडाँडी र बेलौरी उपप्रमुखमा आदिवासी थारू समुदायबाट फूलकुमारी राना, जोगुराम चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेले कुनै पनि दलित समुदायबाट उम्मेदवार बनाएको छैन । 

नेकपा माओवादी केन्द्रले आदिवासी जनजाति थारू, दलित, महिला समुदायबाट प्रमुखको उम्मेदबार बनाएको छ । माओवादीले दुई पालिकामा प्रमुख पुरुष बनाएको छ ।  दोधारा–चाँदनीमा दलित समुदायबाट निरुदेवी कामीलाई प्रमुख पदमा अघि सारेको छ । दोधारा–चाँदनीमा उपप्रमुख भरत भट्ट र भीमदत्त नगरमा कृष्णदत्त जोशी (बोक्सर)लाई उपप्रमुख बनाइएको छ । कृष्णपुर र बेलौरीमा आदिवासी जनजाति समुदायबाट प्रमुख पदमा अघि सारेको छ । कृष्णपुरमा जोगराज चौधरी र बेलौरीमा पोतिलाल चौधरीलाई अघि सारेको छ । 

नेकपा एकीकृत समाजवादीले बेलौरी नगरपालिकामा उपप्रमुखका लागि आदिवासी जनजाति समुदायबाट नन्दकुमार रानालाई अघि सारेको छ भने शुक्लाफाँटामा उपप्रमुखमा  माधव पन्तलाई अघि सारेको छ । कृष्णपुरमा दलित समुदायबाट मञ्जु नेपालीलाई अघि सारेको छ । राप्रपाले प्रमुख पदमा महिला र दलितलाई अघि सारेको छैन । उपप्रमुखमा आदिवासी थारू समुदायबाट बेलडाँडीमा वसन्ती चौधरी, बेलौरीमा लालमती राना (बडायक), पुनर्वासमा तीर्थमाया सुनुवार, दोधारामा इसु सुनारलाई अघि सारेको छ । 

राष्ट्रिय जनमोर्चाले प्रमुख पदमा महिला र थारू समुदायबाट अघि सारेको छ । बेदकोट प्रमुखमा नन्दाकुमारी भट्ट र बेलौरीमा रंग चौधरीलाई अघि सारेको छ । बेलौरीकै उपप्रमुखमा थारू समुदायबाट लक्ष्मी चौधरीलाई अघि सारेको छ । दलित समुदायबाट दोधारा–चाँदनीमा मेयरका लागि भीम कुमाल र भीमदत्त नगरको मेयरका लागि गुलाब आउजीले उम्मेदवारी दिएका छन् ।  कञ्चनपुरका दलित समुदायका अगुवा गणेश नेपालीले ठूला तथा साना दलहरूले दलित समुदायलाई भोटबैंक बनाएका कारण महत्वपूर्ण पदमा दलित समुदाय प्राथमिकतामा नपर्ने  गरेको बताए । 

सम्पादकको रोजाइ

सुझावित समाचार