बिजनेस भिसामा बसेर अनलाइन जुवा खेल्ने २२ चिनियाँ नागरिक पक्राउ

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

नेपालमा बिजनेस भिसामा बसेर अनलाइन जुवालगायत शंकास्पद गतिविधिमा संलग्न २२ चिनियाँ नागरिकलाई पक्राउ गरी अध्यागमन विभाग र प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्रबार बेलुका ठमेल, नयाँबजार, बानेश्वरलगायतका क्षेत्रमा छापा मारी अध्यागमन र प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाबाट ३३ वटा ल्यापटप र पाँच सयभन्दा धेरै मोबाइल बरामद भएको छ । अनलाइन जुवा खेलाउन ती डिभाइस प्रयोग भएको आशंका गरिएको छ । पक्राउ परेका २२ मध्ये २१ जना बिजनेस भिसामा लामो समयदेखि बस्दै आएका थिए । एकजना पहिला बिजनेस भिसामा बसेर पछि पर्यटक भिसामा थिए । 

एक वर्षअघि नै उनको भिसाको म्याद सकिएको अनुसन्धानमा खुलेको छ । अध्यागमन विभागले उनीहरू अवैध गतिविधिमा संलग्न भएको भन्ने सूचना प्राप्त गरी प्रहरीको सहयोगमा छापा मारेर पक्राउ गरेको हो । तर, दुई दिन थुनामा राखी सोमबार उनीहरूलाई मुद्दा नचलाई तारेखमा छाडिएको छ । उनीहरूबाट बरामद डिभाइसको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मेवारी दिइएको छ । ‘बरामद डिभाइसको फरेन्सिक ल्याबमा परीक्षण गर्छाैं,’ अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी वसन्त कुँवरले भने, ‘त्यसपछि के मुद्दामा अनुसन्धान गर्ने भन्ने तय हुन्छ ।’ 

पक्राउ परेकाहरूले नेपालमा वैदेशिक लगानी ल्याइसकेका थिएनन् । उनीहरूले लगानी ल्याउने प्रतिबद्धता जनाएर बिजनेस भिसा लिएका थिए । तर, नेपालमा व्यवसाय गर्नेभन्दा लामो समय बसेर अनलाइन जुवालगायतका धन्दा चलाउने मात्र उद्देश्य देखिएको अध्यागमन विभाग स्रोत बताउँछ ।

लगानी नल्याए पनि पटक–पटक उनीहरूको बिजनेस भिसा थपिएको थियो । पर्यटक भिसामा एक वर्षमा पाँच महिनाभन्दा धेरै बस्न नपाइने भए पनि यसरी बिजनेस भिसाको दुरुपयोग भएको हो । विभागबाट नियमन नहुँदा बिजनेस भिसामा बसेर उनीहरूले गैरकानुननी काम गर्दै आएका हुन् ।

सुझावित समाचार