देशव्यापी सिट बाँडफाँड गरेर जाने प्रयास मनोनयनपूर्व सम्भव नभएपछि पाँचदलीय गठबन्धनमा रहेका दलहरूले उम्मेदवारी फिर्तासम्म तालमेलको कोसिस गर्ने भएको छ । निर्वाचन आयोगले १६ वैशाखमा उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनाएको छ ।
गठबन्धनमा रहेका दलहरूले केही जिल्लामा पूर्ण र केहीमा आंशिक तथा केहीमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दिएका छन् । तर, पनि उम्मेदवारी फिर्तासम्म तालमेलको प्रयास रहने नेताहरूले बताएका छन् ।
केन्द्रबाट ६ महानगर र ११ उपमहानगरका मेयर–उपमेयरको बा“डफा“ड भए पनि अन्य पालिकाको हकमा दलहरूको स्थानीय कमिटीले जिम्मा पाएका थिए । तर, मनोनयन सकिएको दिन सोमबार रातिसम्म गठबन्धनमा रहेका दलहरूका केन्द्रीय कार्यालयमै देशभर कति तालमेल भए भन्ने तथ्यांक आइसकेको छैन ।
माओवादी नेता देव गुरुङले धेरैजसो पालिकामा गठबन्धन गरेर जाने सहमति भएको हो । उम्मेदवारी फिर्ता लिने समयसम्म यसको स्पष्ट तथ्यांक आउला । अहिले नै संख्या र प्रतिशतमा भन्ने अवस्था छैन’, गुरुङले भने, ‘पालिकाको प्रमुख र उपप्रमुख कहाँ कसलाई दिने भन्नेमै उम्मेदवारी दर्ता गर्नुअघिसम्म प्रयास जारी रह्यो । तर, सहमति हुन नसकेका ठाउँमा उम्मेदवारी दर्ता भएका छन् । उम्मेवारी फिर्ता लिने समयसम्म यसमा सहमतिको प्रयास जारी रहनेछ ।’
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भने गठबन्धनको ठोस रूप नपाएको बताए । ‘मनोनयनसम्म पुग्दा खासमा गठबन्धनले स्वरूप नै पाउन नसकेजस्तो देखियो । साँच्चै गठबन्धनचाहिँ केन्द्रबाट निर्णय गरेर ६ महानगर र ११ उपमहानगरमा भएको देखियो । यसबाहेक अरू नगरपालिका र गाउँपालिकामा चाहिँ कहीँ पूर्ण, कहीँ आंशिक, कहीँ स्वतन्त्र भएर पनि लड्ने अवस्था छ । तर, यी कुरा पनि अधिकांश सहमतिमा नै भएका छन्’, उनले भने, ‘कसैले मेरो मात्रै पार्टी निर्वाचनमा लड्छ भन्दा पनि छुट दिइएको छ । एक–दुई वा तीन दल मिलेर पनि लड्न छुट भयो । आमरूपमा गठबन्धन भूगोल र विशेषताअनुसार हुन पुग्यो । त्यसकारण, यसलाई संख्यात्मक र प्रतिशतका आधारमा अहिले नै कति भयो भन्ने अवस्था छैन ।’
कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलका अनुसार देशभरको गठबन्धनबारे अन्तिम तथ्यांक आएको छैन । ‘कांग्रेसमा अहिले उम्मेदवारीको निर्णय ६ वटा महानगरपालिकाबाहेक शतप्रतिशत प्रदेश कमिटीले गरेको हो । प्रदेश कमिटीबाट रेकर्ड केन्द्रमा आइसकेको छैन । मनोनयनको अन्तिम दिन पनि मध्यरातसम्म मनोनयन दर्ता भएको अवस्था छ । त्यसपछि मात्र कति संख्यामा के–कति गठबन्धन भए भन्ने तथ्यांक उयलब्ध हुनेछ’, उनले भने ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आंशिक र पूर्ण गरी लुम्बिनी ५० प्रतिशत तालमेल भएको बताए । ‘लुम्बिनीमा आंशिक र पूर्ण रूपमा गरी ५० प्रतिशतसम्म तालमेल भएको छ । कपिलवस्तु, रुकुम र रोल्पाबाहेकका जिल्लामा तालमेल भएको छ । तालमेल गर्ने क्रममा कतिपय पालिकाको प्रमुख र उपप्रमुख तथा वडामा पनि भएका छन्’, उनले भने, ‘कतिपय स्थानमा वडाहरूमा तालमेल भएको छ । गठबन्धन भएका स्थानमा पहिलो नम्बरमा कांग्रेस र माओवादी केन्द्र दोस्रो नम्बरमा कांग्रेस र एकीकृत समाजवादीसँग तालमेल भएको छ । यसबाहेक राष्ट्रिय जनमोर्र्चा र जसपासँग तालमेल भएको छ ।’
माओवादी नेता कृष्णबहादुर महराले ६० प्रतिशत ठाउँमा तालमेल सफल भएको दावी गरेका छन् । सोमबार नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताए । ‘सोमबार बिहानसम्म गठबन्धनको प्रक्रियामा ६० प्रतिशतजति गठबन्धन सफल भएको छ । केही मिलेका छैनन्, पार्टीभित्र पनि मिलेको छैन, प्रक्रिया जारी छ । मनोनयन फिर्ता समयावधिसम्म सहमतिको कोसिस हुन्छ ।’
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले तालमेलको सम्पूर्ण तथ्यांक आइनसकेको बताए । ‘गण्डकीका सबै जिल्लामा र मोटामोटी सबै स्थानमा गठबन्धन भएको छ । सबै दललाई मिलाएर गठबन्धन गर्ने क्रममा कांग्रेसको परम्पराअनुसार अन्तिमसम्म सहिष्णुता राखेर अन्तिम रूप दिन सकेका छौँ’, उनले भने, ‘गठबन्धनको परम्परा हाम्रा लागि पनि नयाँ हो । मनोनयन फिर्ता लिने १६ वैशाखसम्म प्रयास रहन्छ । संगठनात्मक अवस्था र मतभारलाई आधार बनाएर मिलाएका छौँ ।’
सिट बाँडफाँडमा गठबन्धनमै विश्वासको संकट देखिएको छ । एकीकृत समाजवादीका उपमहासचिव खतिवडाले गठबन्धनलाई लिएर समीक्षा गर्ने वेला आएको भन्दै असन्तुष्टि जनाए । ‘माओवादी र कांग्रेस मिलेर धेरै ठाउँमा एकीकृत समाजवादीलाई बाइपास गरेको देखियो । यसले एकीकृत समाजवादीले अरू पार्टीलाई धेरैचोटि गरेको विश्वासलाई पुनः समीक्षा गर्नुपर्ने बनाएको छ’, उनले भने, ‘तर, हामीले सामूहिक रूपमा बसेर निर्णय गर्ने प्रक्रियालाई स्थापित गरेका छौँ ।’