मुगुको छायानाथ रारा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका तर्फबाट विष्णुकुमार भामले मनोनयन दर्ता गराएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भामले आज दिउँसो साढे २ बजे उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
त्यस्तै, कांग्रेसबाटै उपमेयर पदका लागि ऐश्वर्य शाही मल्लले पनि मनोनयन दर्ता गराएकी मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए। नेकपा एमालेका तर्फबाट मेयरमा डम्बरबहादुर रावलले र उपमेयरमा टोमा लामाको पनि उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ।
यसैगरी उपमेयरमै राप्रपाबाट बेलमती सेजुवालले उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन्। उपमेयरमै स्वतन्त्रबाट खम्मेनी कामीले पनि उम्मेदवारी दर्ता गराएकी छिन्। नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका उम्मेदवारहरू मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय आउने क्रम जारी छ।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताका लागि समय तोकेको थियो। यद्यपि, जिल्लामा क्रियाशील सत्तागठबन्धन र प्रतिपक्ष नेकपा एमालेले पहिलो दिन जिल्लाका चारवटै स्थानीय तहको कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन्। पहिलो दिन जसपाबाट छायानाथ रारा नगरपालिकाको मेयरका लागि राजबहादुर भामले र छायानाथ रारा– १ का वडाध्यक्षका लागि गेहेन्द्रशमशेर र मल्लले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।