अगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहकाे निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयर एमालेबाट र उपमेयर लोकतान्त्रिक समाजवादी नेपालबाट लड्ने गरी तालमेल भएको छ
प्रमुख विपक्षी दल एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच वीरगन्ज महानगरपालिकामा चुनावी तालमेल हुने भएको छ । अगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहकाे निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयर एमालेबाट र उपमेयर लोकतान्त्रिक समाजवादी नेपालबाट लड्ने गरी तालमेल भएको हो ।
बिहीबार वीरगन्जको होटेल भिस्वामा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै अगामी स्थानीय तहको निर्वाचनमा एमाले र लोसपाका उम्मेदवारलाई निर्वाचित गराउन तालमेल भएको जनाइएको छ ।
वडा तहमा आपसी समझदारीअनुसार उम्मेदवार बनाइने
यस्तै, वडा तहमा आपसी समझदारीअनुसार उम्मेदवार बनाएर निर्वाचित गराउने पनि निर्णय भएको छ । एमालेको तर्फबाट मेयर पदमा विजय सराबगीको नाम सिफारिस गरिएको छ भने लोसपाका तर्फबाट कसलाई उपमेयरको उम्मेदवार बनाउने भन्ने अझै टुंगो लागेको छैन ।
लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरिएको जानकारी दिए ।
दुवै दलबीच भएको सहमतिमा नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारू र लोकतान्त्रिक समाजवादी पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् । नेकपा एमालेका सचिव रघुवीर महासेठले स्थानीय तहको निर्वाचनमा एमाले र लोसपाबीच भएको चुनावी तालमेललाई सकारात्मक रूपमा लिएको बताए ।
