सरकारले मदिराबाट हुने क्षति तथा मृत्युको रोकथाम र न्यूनीकरण गर्न ‘सेफर इनिसिएटिभ नेपाल’ अभियान सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहकार्यमा सेफर अभियान सुरु गरेको हो । यससँगै अब नेपालको मदिरा नियन्त्रणमा प्राथमिकताअनुरूपका कम लागत तथा प्रभावकारी रणनीति र कार्यक्रमको कार्यान्वयनमा तीव्रता दिइने स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले मदिरा प्रयोगका कारण विश्वभरि बर्सेनि करिब ३० लाख मानिसको मृत्यु हुने गरेको बताए । नेपालमा १५ देखि ५९ वर्षसमूहका करिब २४ प्रतिशतले मदिरा प्रयोग गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा विश्व स्वास्थ्य संगठनले संयुक्त राष्ट्रसंघको महासभामा सन् २०१८ मा सेफर अभियान सुरु गरेको हो । यसको उद्देश्य भनेको कम लगानीका प्रभावकारी कार्यक्रम कार्यान्वयनलाई सुदृढ बनाउँदै मदिराको हानिकारक प्रयोगलाई कम गर्ने विश्व्यापी रणनीति, विश्व स्वास्थ्य संगठनको नसर्ने रोगसम्बन्धी विश्वव्यापी कार्ययोजना २०१३–२०२० र दिगो विकास लक्ष्यअनुरूप मदिराको हानिकारक प्रयोगलाई कम गर्ने प्रयासमा सदस्य राष्ट्रहरूलाई सहयोग गर्नु हो ।
मदिरा नियन्त्रणमा नेपाल सरकार र सेफर इनिसिएटिभले संयुक्त नेतृत्वमा काम गर्नेछन् । यो मिसनले विशेष गरी मदिराको मूल्य निर्धारण र कर नीति, इजाजतपत्र, वितरण र मदिराको बिक्री, मदिरामा व्यापारिक प्रचार नियमन, मदिरा र सवारी नीति, प्रारम्भिक पहिचानका लागि स्वास्थ्य सेवा र मदिराबाट हुने स्वास्थ्य समस्याको उपचार पहललगायतका कार्यक्रममा सहकार्य गर्नेछ ।
स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. सुनीलराज शर्माले सेफर कार्यक्रमले मदिराको उपलब्धताविरुद्धको प्रतिबन्धलाई बलियो बनाउने बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले मदिरा नियन्त्रण तथा रोकथामका लागि सेफर इनिसिएटिभ नेपाल सुरु हुनु सुखद पक्ष भएको बताए । उनले अब मदिराको विज्ञापन छाप्नेलाई सरकारी विज्ञापन प्रतिबन्ध लगाउन आवश्यक भएकोसमेत बताए ।