गुल्मीका स्वास्थ्य संस्थामा प्राविधिक दक्षता बढ्दै

कोभिड महामारीपछि डेढ करोडको लगानीमा अक्सिजन प्लान्ट स्थापना

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण

कोरोना महामारी बढ्दै जाँदा अक्सिजनको अभावमा ज्यान जान थालेपछि अघिल्लो वर्षको वैशाख अन्तिमतिर पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लान्ट अभियान’ सुरु गर्यो । सहयोगी हात थपिँदै गए । केही समयपछि संघीय सरकारले समेत बजेट विनियोजन गरिदियो । यसरी सबैको सहयोगमा सुरु भएको अक्सिजन प्लान्टले अहिले दैनिक २४ घन्टामा ९६ सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको छ ।

प्लान्ट निर्माणको अभियान सुरु गरेको पत्रकार महासंघले ५० लाख रुपैयाँ संकलन गरी गुल्मी अस्पताललाई प्रदान गरेको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा सरकारबाट एक करोड विनियोजन भएको थियो । डेढ करोड जम्मा भएपछि ठेक्का सम्झौतामार्फत फेयर ट्रेड काठमाडौंले प्लान्ट निर्माण अघि बढाएको थियो । गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याका अनुसार निर्धारित समयै सम्पन्न भएको सो प्लान्टबाट अहिले २४ घन्टामा ९६ सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ । प्लान्ट राख्न गुल्मी उद्योग वाणिज्य संघले करिव १८ लाखको लागतमा भवन निर्माण गरिदिएको छ । 

सो प्लान्टको गत १६ चैतमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका थिए । कोभिडका गम्भीर संक्रमितको संख्या उल्लेख्य तर अक्सिजनको चरम अभाव भएको वेला पत्रकार महासंघले अभियान सञ्चालन गरेको थियो । महासंघका अध्यक्ष टोपलाल अर्यालले सरकारी अस्पतालहरूमा अक्सिजनको चरम अभाव देखेपछि सामाजिक उत्तरदायित्व ठानेर थालिएको कामले अहिले धेरै विपन्न बिरामीलाई लाभ पुगिरहेको बताए । 

५० प्रतिशत सस्तोमा अक्सिजन बिक्री
गुल्मी अस्पतालसँगै जिल्लाका स्वास्थ्य संस्था र घरमै आवश्यक पर्ने बिरामीहरूले अहिले सहज रूपमा अक्सिजन पाएका छन् । विशेष गरी निमोनिया तथा दमका बिरामीलाई घरमै अक्सिजन पुर्याउन थालिएको छ । अस्पतालले ठूलो सिलिन्डर १२ सय, मझौला एक हजार र सानो सिलिन्डरमा पाँच सय रुपैयाँमा अक्सिजन भर्ने गरेको छ । दैनिक दश सिलिन्डर अक्सिजन गुल्मी अस्पतालमै खपत हुने गरेको छ । गुल्मी अस्पतालको निर्माणाधीन अत्याधुनिक भवन र पालिकास्तरमा बन्न लागेका १५ शैयाका अस्पतालका लागि प्लान्टको उपयोग बढी हुने गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले बताए । ‘गुल्मीका स्वास्थ्य क्षेत्रमा केही आशा बढेका छन् । कोभिडको महामारीले जनधनको ठूलो क्षति पुर्याए पनि विपत्कै वेला स्थापना गरिएको प्लान्टले धेरै सहज बनाएको छ,’ उनले भने ।

गुल्मी अस्पतालमा चार करोडको संरचना बन्दै
कोभिड– १९ ले जिल्लाभित्र र बाहिर गरेर दुई सय ८७ गुल्मेलीको ज्यान लियो । करिव सात हजार संक्रमित भए । आर्थिक क्षति र सामाजिक रूपमा परेको प्रभावकोे मूल्य छैन । तर, कोभिडले अवसर पनि सिर्जना गरेको छ । महामारीपछि गुल्मी अस्पतालसहित स्थानीय तहमा करिव १० करोड रुपैयाँका स्वास्थ्य संरचना निर्माण भएका छन् । गुल्मी अस्पतालमा करिब डेढ करोडको अक्सिजन प्लान्ट निर्माण गरिएको छ । डेढ करोडकै लागतमा आइसियू कक्ष निर्माण भइरहेको छ । ६४ लाखको लागतमा एचडियू सञ्चालनमा छ । जिल्लाका सबै स्थानीय तहको समन्वय र सहयोगमा करिब डेढ करोडको लागतमा कोभिड–१९ परीक्षण प्रयोगशाला निर्माण भएको छ । इस्मा गाउँपालिकाले ३५ लाख लगानीमा एक्सरे मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको छ । 

See More On

सुझावित समाचार